• २३ वैशाख २०८१, आइतबार

मौरीपालन व्यवसायमा जम्दै मानबहादुर

blog

रमेश विश्वकर्मा

गुल्मी, पुस १४ गते । गुल्मीको गुल्मी दरबार गाउँपालिका –१, बलिथुमका मानबहादुर फुङ्जेली मौरीपालन व्यवसायमा हुनुहुन्छ । उहाँ बिहान उठेदेखि साँझ अबेरसम्म मौरीको हेरचाहमा व्यस्त रहने गर्नुभएको छ ।  

मौरीले राम्रै आम्दानी हुन थालेपछि मौरीपालन व्यवसायमा उत्साह बढ्दैगएको उहाँले बताउनुभयो । दुई वर्ष अघिदेखि फुङ्जेलीले छचुरे कृषि फार्म दर्ता गरेर व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएको छ । अहिले सेरेना जातको ३० वटा मौरीका घार रहेको उहाँले बताउनुभयो । 

१३ वर्षदेखि व्यावसायिक रुपमा कृषि गर्दैआएको भन्दै उहाँले कागती सुन्तला बिक्री गरेर पनि राम्रो प्रतिफल लिएको बताउनुभयो । परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । 

मौरीपालन गर्ने कृषकलाई वर्षाको समयमा मैनपुतलीले समस्या पार्नेगरेको छ । वर्षाको समय र अत्यधिक चिसो हुने समयमा ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उहाँले मह उत्पादन र घार बृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताउनुभयो । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै एक हजार ५०० रुपियाँमा बिक्री हुनेगरेको फुङ्जेलीले बताउनुभयो । 

कृषकलाई मौरी र घारमा अनुदान दिनेगरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । दशभन्दा बढी घारमा मौरीपालन गर्ने कृषकलाई अनुदान दिनेगरेको भन्दै उहाँले जिल्लामा गत वर्षभन्दा मह उत्पादन बृद्धि भएको बताउनुभयो । जिल्लामा उत्पादन भएको मह बिक्रीका लागि बजारको कुनै पनि समस्या नभएको भन्दै प्रमुख भण्डारीले पहाडी क्षेत्रमा शेरेना जातको मह उत्पादन हुने बताउनुभयो । 

हालसम्म जिल्लाभर चार हजार ५०० कृषकले मौरी पाल्नुभएको छ । उहाँहरुले वार्षिक १०.५९ मेट्रिक टन मह उत्पादन गर्नुभएको छ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी जिल्लालाई महमा आत्मनिर्भर बनाउन थालिएको छ । जिल्लामा कृषकले उत्पादन गरेको मह घरबाटै बिक्री हुनेगरेको कृषकको भनाइ छ ।