• १४ असार २०८२, शनिबार

गोसाइँकुण्डमा डुबुल्की

blog

ससाना बालबच्चाले बेच्न ल्याएका एक/एक वटा लौरी किनेर त्यही टेक्दै यात्रा सुरु गर्‍यौँ । यता लौरी बेचेका तिनै केटाकेटी खुरुरु दौडेर अलि अगाडि पुग्थे र यात्राबाट फर्केका पदयात्रीसँग लौरी माग्थे र पुनः नयाँ यात्रीलाई बेच्थे ।

टोखा रोड हुँदै शिवपुरीडाँडामा निस्कँदा सूर्योदयपछिको आकाश छ्याङ्ङ खुलेको थियो । वरिपरिका डाँडा तथा आकाशमा देखिने ससाना बादलका भुल्का हेर्दा लाग्थ्यो, प्रकृतिले हरियो र निलो क्यानभासमा सेतो रङ पोतेको छ र हामीलाई मनलाग्दो आकृति कल्पने छुट दिएको छ । नुवाकोटको बट्टार बजारको फाँट झरेपछिको दृश्य साँच्चै लोभलाग्दो थियो । ताइचिन धान पाक्ने बेलाको हरियो फाँटबाट मिठो सुगन्ध बोकेर हावा आफ्नै रफ्तारमा कुदिरहेको थियो; हाम्रो मोटरसाइकलसित प्रतिस्पर्धा गर्दै । त्रिशूली बजारको समथर फाँट, धानचामर खेल्दै गरेका मकैबारी, हरिया वनजङ्गल हुँदै हाम्रो मोटरसाइकल बेतोडले हुइँकियो रसुवातर्फ । बेत्रावती कटेर रसुवा जिल्लामा टेक्दै गर्दा मनमनै भनेँ आफैँलाई, “जिन्दगीको बहिखातामा अर्को नयाँ जिल्ला थपियो रसुवा ।” 

रसुवा सुरु भएपछि उकालोको नागबेली बाटो हुँदै ११ बजे सदरमुकाम धुन्चे पुग्यौँ । धुन्चेमा खाना खाइवरी आवश्यक तयारी गरेर हिँड्न सुरु गर्दा मध्याह्नको १२ बजेको थियो । ससाना बालबच्चाले बेच्न ल्याएका एक÷एक वटा लौरी किनेर त्यही टेक्दै यात्रा सुरु गर्‍यौँ । यता लौरी बेचेका तिनै केटाकेटी खुरुरु दौडेर अलि अगाडि पुग्थे र यात्राबाट फर्केका पदयात्रीसँग लौरी माग्थे र पुनः नयाँ यात्रीलाई बेच्थे । केटाकेटीको यो खेल हेर्दा रमाइलो मात्रै होइन, पर्यावरणमैत्री पनि लागेर फर्कंदा हामीले पनि लौरी यिनैलाई छाडेर जाने निधो गर्‍यौँ । यात्रा सुरु गरेको १५/२० मिनेटमा नै आउने रहेछ– ‘मिनी गोसाइँकुण्ड’ । त्रिशूली नदीको किनारमा अवस्थित यस स्थलमा हिँडेर माथि पुग्न नसक्ने तथा समय नहुने दर्शन गरेर फर्कंदा रहेछन् । त्रिशूली नदीको कञ्चन जलप्रवाह र छङछङ ध्वनिलाई पछाडि छाडेर अब बाटो उकालियो अर्थात् भनौँ, हामी उकालियौँ । तीर्थयात्राबाट फर्केका हरेक यात्रुलाई भाइहरू सोध्थे, “अब कति छ गोसाइँकुण्ड पुग्न ?” उनीहरूका मुख्र्याइँपूर्ण कुरा सुनेर कोही अचम्मित हुन्थे, कोही ‘आइसक्यो बाबु अब, ऊ त्यहीँ हो’ भन्दै जिस्किएरै जवाफ दिन्थे । कोही उकालो सुरु नहुँदै हरेस खाइसकेछौ, बाबु कसरी पुग्छौ ? भनेर चिन्ता व्यक्त गर्थे । 

तल खोलाबाट आइरहेको छङछङ ध्वनि, चराचुरुङ्गीको कलरव गुञ्जन र जङ्गलको शीतल छहारीले उकालोको यात्रा रोमाञ्चक भइरहेको थियो । बाटोको दायाँबायाँ बाक्लै देखिन्थे गुराँसका बोट । आफ्नी प्रिय मायालुलाई नभेटी नजाने वाचा गरे झैँ बोटका टुप्पामा दुई/चार वटा राता गुराँस मुस्कुराइरहेका थिए । म कल्पनामा डुब्थेँ, एक महिनाअघि कसरी गुराँसमय भएर रङ्गीन बनेको थियो होला यहाँको जङ्गल । हाम्रै स्वागतमा बाटो कुरेर बसेका गुराँसका अगाडि उभिएर केही फोटो खिचेपछि पुनः उकालियौँ । गोसाइँकुण्ड स्नानको विशेष समय प्रारम्भ भएकाले पनि होला तीर्थालु भक्तजनको बाक्लै आवतजावत थियो । बाटोमा भेटिएका हरेक मान्छेसित केही न केही कुरा गर्दै हिँड्थ्यौँ हामी । यसो गर्दा एकातिर बाटो काट्न सजिलो हुन्थ्यो, अर्कातिर केही समयपहिलेका अपरिचित नजिकका साथी बन्न पुग्थे । जम्मा चार जनाको सानो र छरितो समूह भएकाले हामीले न कसैलाई कुर्नुपर्ने हुन्थ्यो न कसैलाई भेट्टाउनुपर्ने हतारो नै । ठुलो समूहमा हिँडेका कोही साथी भेट्न नसकेको गुनासो गर्थे, कोही साथी पछाडि छुटेर अघि बढ्न नपाएको दुःखेसो पोख्थे । 

खेन्दी, देउराली, डिम्सा हुँदै चन्दनबारी पुग्दा साँझको ५ बजेको थियो तर घाम चर्कै लागिरहेको थियो । यहाँ बस्नका लागि केही होटेल रहेछन् । उकालो हिँडेर थकित भएका धेरै यात्रु यहीँ विश्राम गरेर भोलिपल्ट बाटो लाग्ने रहेछन् । हामी चन्दनबारीलाई पछाडि छाडेर हिँड्यौँ चोलाङपाटीसम्म पुग्ने आशामा । त्यहाँदेखि चोलाङपाटीसम्मको बाटो केही तेर्सो र तर्पाएँ रहेछ । दिनभरि उकालो हिँडेकाले गोडा अघि बढ्न मानिरहेको थिएन । गोडाले कहिले लौरीलाई भर दिन्थ्यो त कहिले लौरीले गोडालाई । दिनभरि बाटोमा भेटिए जतिसँग बोल्दै हिँडेका हामी अब त एकअर्कासँग पनि बोल्न छाड्यौँ । जङ्गलैजङ्गल चुपचाप चार प्राणी हिँडिरह्यौँ, हिँडिरह्यौँ । चोलाङपाटीनजिकै चुपचाप उभिएका अग्ला रुखलाई एकछिन उभिएर हेर्‍यौँ हामीले । शरीरभरि बाक्ला भुत्ला ओढेर उभिएका रुखका शरीरमा ठुलठुला गाँठागुँठी थिए, जसलाई हेरेर हामी कुनै हिन्दी फिल्मको कहानी सम्झँदै मुस्कुरायौँ । ३,५८४ मिटरको उचाइमा अवस्थित चोलाङपाटी पुग्दा झमक्कै साँझ पर्‍यो । यहाँ दुई÷तीन वटा मात्रै होटेल रहेछन् । खाना खाइवरी सबै सुत्ने तरखरमा लाग्दै गर्दा म एकछिन भए पनि खुला आकाश नियाल्न होटेलबाट बाहिर निस्केँ । मौसम निकै चिसो थियो, खुला, निलो र मौन आकाशमा खुर्पे चन्द्रमा एक्लै मुस्कुराइरहेको थियो । यो मौन साँझमा आकाशको चन्द्रमासँग मौन संवाद गर्नुको अनुपम आनन्द उठाएर म लागेँ आफ्नै बिस्तारातर्फ । 

बिहान ४ नबज्दै उकालो लाग्ने मान्छेको कल्याङमल्याङ सुरु भएपछि हामी पनि तयार भयौँ । उज्यालो नहुँदै बाटाभरि मान्छेको आवतजावत सुरु भइसकेको थियो । त्यही समूहमा मिसिएर हामी पनि उकालो लाग्यौँ । एकातिर ठाडो उकालो अर्कातिर अक्सिजनको कमीले गर्दा यहाँदेखि माथिको बाटो कठिन हुनेवाला थियो । लेक लाग्ने सम्भावना भएकाले पनि त्यत्तिकै सचेत भएर हिँड्नुपर्ने हुन्थ्यो । त्यहाँदेखि माथि हिँड्न नसक्नेका लागि घोडाको पनि व्यवस्था रहेछ । उकालो चढ्न नसक्ने यात्रीलाई निकै सुविधा हुने रहेछ त्यसले । उज्यालो भइसकेको थिएन तर अगाडि हेर्दा सेतो हिमाल टलक्क टल्किरहेको थियो । अहो ! हिमाललाई उज्यालो छर्न त सूर्योदय कुर्नु नपर्ने रहेछ । मैले कवि भूपिलाई सम्झिएँ, “जहाँ हिमालले रातमा पनि आँगनमा घाम पाल्दछ ।” जब बिस्तारै अँध्यारोलाई चिरेर बिहानीले आफ्नो अस्तित्व फैलायो वरिपरिको दृश्यले मलाई मन्त्रमुग्ध बनायो । तल खोँचमा डम्म ढाकेर बसेको बादलको दल थियो । हामी बादलको सहरभन्दा माथि थियौँ । वनैभरि सेता गुराँस फुलेर ओइलाएका दृश्य देख्न सकिन्थ्यो । बोटमा केही बाँकी रहेका र धेरै जस्तो ओइलाएर झरेका र झर्न बाँकी रहेका गुराँसका फूल देखेर मलाई ती बोटलाई सोध्न मन लाग्यो, “के तिमीलाई आफैँमा सौन्दर्य भरेर झरिजाने फूलको अवस्था देख्दा दुःख लाग्दैन ?” बोल्न सक्ने भए के जवाफ दिँदो हो बोटले ? मैले बुझ्न सक्ने भए ती बोटका संवेदना ! कतै त दुख्दो हो त्यो बोट अनि रुँदा हुन् हाँगाबिँगा आफैँबाट चुँडिएर झर्दै गरेका फूल सम्झिएर र प्रतीक्षा गर्दा हुन् अर्को वसन्तको । आँखाअगाडि देखिने डाँडा कतै हरियालीले ढाकिएका थिए त कतै नाङ्गा पत्थरिला पहरा थिए । हामी हरियाली डाँडालाई पछाडि पारेर नाङ्गा पहरातिर उकालिँदै थियौँ । लौरीबिना उकालोकै बिचमा दुई/तीन वटा होटेल रहेछन् । तलबाट आउने यात्रुलाई उचाइमा आफूलाई समायोजन गर्न मात्र नभएर प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्न यो ठाउँ बढी उपयुक्त रहेछ । यस ठाउँको नाम लौरीबिना जे जसरी रहन गए पनि अथवा यसको प्रचलित अर्थ जे भए पनि लौरीको सहाराबिना चढ्नै नसकिने उकालो भएकाले यस ठाउँको नाम लौरीबिना रहेको हुनुपर्ने अर्थ मैले लगाएँ । सूर्योदयको प्रथम किरण हिमालमा पर्दा सुनौलो रङले पोतिएको हिमाल हेरेर जोकोही पनि सम्मोहित हुन्थ्यो । धेरै यात्री थकान र शारीरिक कष्ट बिर्सिएर तस्बिर खिच्नमा मग्न थिए । हामी पनि त्यसैमा मिसियौँ । जब जब हामी उकालिँदै गयौँ, वृक्ष होचिँदै गए । बाटैभरि ससाना पोथ्रा वनस्पति भेटिन्थे । हेर्दा गुराँसकै प्रजाति जस्ता देखिने ससाना बोटमा फूल फुलेर भुइँभरि सेताम्मे देखिएको दृश्य वर्णनातीत थियो । भुइँभरि छरिएर धर्तीलाई फूलैफूलको तन्ना ओच्छाइए यस्तै सौन्दर्यले मोहित भएर सायद शारदा शर्माले लेखेकी हुन् ‘भुइँफूलको देश’ । 

दुरी छोटो नै भए पनि तीन घण्टाको यात्रापछि माथि डाँडामा रहेको ४,१५० मिटरको उचाइमा अवस्थित बौद्ध स्तूपमा पुग्यौँ । हामी माथि पुगेका हौँ या आकाश तल झरेको हो, नजिकै देखिएको खुला र सफा आकाश हेरेर म रोमाञ्चित भएँ । बौद्ध स्तूपदेखि कुण्डसम्मको तेर्सो र सामान्य उकालो बाटो सजिलै पार गर्न सकिने रहेछ । कुण्ड स्नान गरेर फर्कनेका आँखामा सफलताको चमक देखिन्थ्यो । बाटामा भेटिएका मानिसका हुलबाट ‘हरहर महादेव’ को एउटै ध्वनि गुञ्जन्थ्यो । हामी पनि त्यसैमा आवाज मिलाउँथ्यौँ, हरहर महादेव ! वरिपरिका कडा चट्टान र भिरालो पहराबिचबाट गोसाइँकुण्ड नपुग्दै आउने रहेछ भैरवकुण्ड । गोसाइँकुण्ड दर्शन गरेर फर्कंदा भैरवकुण्ड हेर्नु हुँदैन भन्ने जनविश्वास रहेछ । भैरवकुण्ड पार गर्नासाथ आँखैअगाडि ठोक्किन आइपुग्यो, समुद्री सतहदेखि ४,३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थस्थल, हाम्रो यात्राको गन्तव्य गोसाइँकुण्ड । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित यो कुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिन्छ । समुद्र मन्थनका क्रममा निस्किएको कालकुट विष सेवनपछि विषको असरले छटपटिएका महादेवले आफ्नो त्रिशूलले त्यहाँको पहाडमा खोपेर कुण्ड बनाएको र त्यसको पानीले शीतल पारेको किंवदन्ती प्रचलित छ । यहाँ गङ्गा दशहरा र जनैपूर्णिमामा विशेष मेला लाग्ने र टाढा टाढाबाट श्रद्धालु भक्तजन स्नानका लागि त्यहाँ आउने रहेछन् । २०६४ सालमा रामसार सूचीमा सूचीकृत यस कुण्ड धार्मिक तीर्थयात्रीका लागि पवित्रधाम तथा प्रकृति पुजारीका लागि अनुपम सौन्दर्यको अजस्र भण्डार रहेछ । वरिपरिका अग्ला चुचुरामा हिउँका धर्सा देखिन्थे । हिउँदमा वरिपरि हिउँले ढाकिएको दृश्य कति सुन्दर हुँदो हो यो कल्पनाले मात्रै पनि मलाई अर्को याममा फेरि आउने लोभ पलाउँथ्यो । जब कुण्ड स्नानका लागि तलाउमा खुट्टा डुबायौँ, एकछिन त चिसोले बेहोसै भइएला जस्तो भयो । कुण्डभित्र पसेर बिस्तारै शरीर र टाउको डुबाएँ मैले अनौठो शान्तिको अनुभूति गरेँ । हामी श्रीमान्श्रीमती एकअर्काको हात समातेर पुनः डुबुल्की मार्‍यौँ । जब जलबाट बाहिर निस्कियौँ, त्यति लामो यात्राको थकान र गोडाको दुःखाइ गायब भई शरीर र मन त चङ्गा भयो । तनमनमा अनौठो स्फूर्ति भरिएर आयो । स्नानपछि कुण्डनजिकै रहेको त्रिशूलधारामा दर्शनका लागि गयौँ । हावाको गतिसँगै तालमा परेको लहरको दृश्यले मन लोभ्याउँथ्यो र पटक पटक त्यही तरङ्गमा हराउथेँ । श्रद्धालु भक्तजन कुण्डभित्र महादेवको स्वरूप देखियो भन्दै तलाउतिर सङ्केत गर्थे । कसैले आफूले स्पष्टसँग देखेको जिकिर पनि गर्थे । हामीले जति हेर्दा पनि त्यस्तो दृश्य देखेनौँ । मलाई लाग्यो, कुण्डभित्र महादेवको दृश्य पनि बादलमा आकृति बनाएको जस्तो रहेछ, मनले जे कल्पेर हेर्‍यायो त्यस्तै आकृति देखिने । 

स्नान र मन्दिरको दर्शनपछि कुण्डको किनारमै अवस्थित होटेलमा खाना खाएर फर्कने तयारी गर्‍यौँ । लामो दुरी र कठिन यात्रा तय गरेर आइपुगेको गन्तव्य पवित्र गोसाइँकुण्डलाई फेरि एक पटक विस्फारित नेत्रले हेरेर ओरालो लाग्यौँ । बिहान उकालो लाग्दा तल खोँचमा सेतो कम्बल बनेर डमक्क ढाकिएको बादल अहिले कुनै दौड प्रतियोगिताको धावक झैँ तीव्र गतिले उकालोतर्फ चढ्दै थियो । टाकुरामा बादलको दौडादौडीको रमाइलो खेल देखेपछि लाग्यो, धन्न यो बादलले नछोप्दैको सुन्दर परिदृश्यको साक्षी बन्ने अवसर पायौँ हामीले । हिमाल, पहाड, ताल, वनजङ्गल, गुराँसका फूल तथा भुइँफूलका विम्बलाई अमिट छाप बनाएर आँखामा सजाउन पायौँ र हृदयको क्यानभासमा चित्रित गर्न पनि ।