• १४ असार २०८२, शनिबार

धारिलो हतियार प्रहार गरी हत्या

blog

अनिल पराजुली

हेटौँडा, असार १४ गते । पूर्वी मकवानपुरको बागमतीमा धारिलो हतियार प्रयोग गरी वाइवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान ५ बजेको समयमा बागमती गाउँपालिका–९, बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी बारा निजगढ नगरपालिका–३, सिङ्गोल बस्ने ३५ वर्षीय कुमार थापाले धारिलो हतियार (खुर्पा) प्रहार गरी एक जना व्यक्तिको हत्या गरेको प्रहरीको भनाइ छ । 

थापाले बेतिनी–९, का ५७ वर्षीय रामबहादुर वाइबालाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको आरोप छ । इलाका प्रहरी कार्यालय फापरबारीको प्रहरी टोलीले खुर्पा प्रहार गर्ने थापालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

घाइतेको घाँटीमा गहिरो चोट रहेको उहाँले बताउनुभयो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट पावल सिंह लामाको नेतृत्वमा ६ जनाको टोली खटिएको छ । 

बेतिनी स्वास्थ्य चौकीका चिकित्सकले चेकजाँच गरी वाइबालाई मृत घोषणा गरेका थिए । शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी निरीक्षक पावल सिंह लामाको टोलीले थप अनुसन्धान गरिरहेको छ ।