• १४ असार २०८२, शनिबार

हरेक नेपाली नागरिकले एउटा रुख रोपौं : प्रधानमन्त्री ओली

blog

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असार १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय वृक्षारोपणको अवसर पारेर हरेक नागरिकलाई एउटा रुख रोप्न आह्वान गर्नुभएको छ । प्रतिनिधि सभाको शनिबारको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । 

उहाँले आज राष्ट्रिय वृक्षारोपण दिन पारेर भविष्यको सुरक्षाका लागि हरेक नागरिकलाई एउटा बिरुवा रोप्न आग्रह गर्नुभयो । पृथ्वी, प्रकृति, भावीपुस्तालाई माया गर्न पनि एउटा बिरुवा रोप्नुपर्ने बताउनुभयो । मदन भण्डारी देशका लागि विचार दिनसक्ने र राजनीतिक दिशालाई मोडेर नयाँ दिशामा अघि बढाउनसक्ने नेता भएको उहाँले चर्चा गर्नुभयो ।  

उहाँले भन्नुभयो,  ‘म माननीयज्युहरू र माननीयज्युहरुमार्फत सिङ्गो देशलाई आग्रह गर्न चाहन्छु, सकेसम्म एउटा बिरुवा हरेकले राष्ट्रिय वृक्षारोपणका दिन सकेसम्म एउटा बिरुवा रोप्नुहोस् । पृथ्वी र प्रकृतिलाई माया गरौँ । भविष्यको पुस्तालाई माया गरौँ । भविष्य सुनिश्चित गरौँ । यो अभियान यसका लागि चलाउन आग्रह गर्दछु । मदन भण्डारी देशका लागि विचार दिनसक्ने र राजनीतिको दिशालाई मोडेर नयाँ दिशामा अघि बढाउनसक्ने नेता हो ।’

प्रधानमन्त्री ओलीले विपद्बाट भएका क्षतिको सम्बन्धमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउनु भयो । यस वर्षको एसइई परीक्षामा उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो । यस वर्ष नतिजा प्रतिशतमा वृद्धि भएकोमा खुसी व्यक्त गर्नुभयो ।