प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), असार १४ गते । रौतहटको गौर नगरपालिकाका किसानलाई स्प्रे ट्याङ्की वितरण गरिएको छ । उदार स्वयंसेवक आबद्ध सामाजिक संस्था नेपाल काठमाडौँको सहकार्यमा गौर नगरपालिकाले स्प्रे ट्याङ्की वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले जानकारी दिनुभयो ।
शुक्रवार नगरपालिकामा आयोजित एक कार्यक्रममा नगर प्रमुख शम्भु साहले नगरभित्रका १७० जना किसानलाई स्प्रे ट्याङ्की वितरण गर्नुभएको हो । कृषि कार्यमा सहयोग गर्ने उद्देश्यले स्प्रे ट्याङ्की वितरण गरिएको नगर प्रमुख साहले बताउनुभयो ।
यसले आधुनिक कृषि प्रविधिमा पहुँच गर्दै कृषिमा आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास नगरपालिकाको रहेको नगर प्रमुख साहले जानकारी दिनुभयो । प्रत्येक वडा कार्यालयबाट छनाेट भएर आएका किसानलाई स्प्रे ट्याङ्की वितरण गरिएको कृषि शाखा प्रमुख सरोजलाल दासले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका अगुवा ६ जना किसान अबधेशराय यादव, परीक्षण राय यादव, नन्दलाल साह, खुरसिद आलम, भरत साह र अनिल पाण्डेलाई नगर प्रमुख साहले सम्मान समेत गर्नुभएको गौर नगरपालिका कार्यालयले जनाएको छ ।
यसले किसानलाई आफ्नो उत्पादन बढाउन तथा आफ्नो उत्पादन बजारीकरण गर्न प्रेरणा मिल्ने कृषि शाखा प्रमुख दाशले बताउनुभयो । स्प्रे ट्याङ्की पाए पछि गौर–३ का चिरकुट गिरीले नगरपालिकाको यो सानो सहयोगले कृषि कार्यमा सहयोग पुग्ने बताउनुभयो ।