• १४ असार २०८२, शनिबार

‘नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादका माध्यमबाट पूरा हुन्छ’

blog

एमालेका महासचिव शङ्कर पोखरेल

काठमाडौँ, असार १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज बृहत् पदयात्रा कार्यक्रम गरियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएको पदयात्रा थापाथली, माइतीघर, बबरमहल, बानेश्वर हुँदै तीनकुनेमा पुगेर समापन भएको थियो ।

यसअघि उक्त पदयात्रा शुभारम्भ गर्दै एमालेका महासचिव शङ्कर पोखरेलले स्व भण्डारीले अघि सार्नु भएको जनताको बहुदलीय जनवादले नेपाली समाजमा रुपान्तरणका लागि महत्त्वपूर्ण योगदान गरेको भनी प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, “जनताको बहुदलीय जनवाद नेपाली समाजलाई अघि बढाउने उद्देश्यका लागि मार्गनिर्देशन गर्ने विचार रहेको छ, त्यही माध्यमद्वारा ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्यका साथ आफूहरू एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा जुटेका छौँ ।” 

महासचिव पोखरेलले एमालेलाई निर्णायक शक्तिका रूपमा उभ्याउन मिसन ८४ यो अभियानका लागि महत्त्वपूर्ण कडी भएको जनाउँदै सोही माध्यमबाट मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जाने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टी नेतृत्वमा मुलुकलाई युगतर्फ लैजान प्रयत्न भइरहेको छ, नेपाल साधनस्रोतका हिसाबले कमजोर छ, नागरिक सम्पन्नताका हिसाबले कमजोर छ भन्ने भाष्यलाई चिरेर सम्पन्न छ भन्ने कुरा दैलेखमा रहेको ग्यास भण्डारणको अन्वेषणबाट प्रमाणित गरेका छौँ ।” नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादका माध्यमबाट पूरा गर्ने उहाँले विश्वास दिलाउनुभयो । रासस