विजयकुमार साह
ढल्केबर, असार १४ गते । “मधेशको मिठास, चित्रपुरको आँप” भन्ने नारासहित धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा शनिबारबाट दुई दिने “चित्रपुर आँप मेला महोत्सव–२०८२” सुरु भएको छ ।
स्थानीयस्तरमा उत्पादित आँपको प्रवर्धन र क्षेत्रीय पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा आइतबारसम्म सञ्चालन हुने महोत्सवमा ४० भन्दा बढी जातका आँपहरू तथा आँपबाट बनेका विभिन्न परिकार, जुस, अचार आदिको प्रदर्शनी गरिएको छ ।
मेला समितिका संयोजक प्रदीप महतोले स्थानीय आँपको प्रवद्र्धन र पर्यटन विकासका लागि आँप मेलाको आयोजना गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी चित्रपुरलाई आँप पर्यटन क्षेत्रको रूपमा विकास गर्न जोड दिएका छौँ । हाल यहाँ करिब तीन सय बिघाभन्दा बढी क्षेत्रफलमा आँपको बगैँचा फैलिएका छन् ।
जसले कृषि पर्यटनको ठुलो सम्भावना बोकेको छ ।” नेपालमा एकै स्थानमा यति धेरै क्षेत्रफलमा आँपका रुख भएको क्षेत्र चित्रपुर नै पहिलो भएको दाबी संयोजक महतोले गर्नुभयो । हो ।
महोत्सवमा विद्यालयका विद्यार्थीका लागि विभिन्न जातका आँप चिनाउने, आँपसँग सम्बन्धित ज्ञानमूलक कार्यक्रम, कृषि विज्ञहरूसँग अन्तक्र्रिया तथा सांस्कृतिक प्रस्तुती पनि समावेश गरिएको छ ।
बटेश्वर गाउँपालिका पूर्वपश्चिम लोकमार्गसँग जोडिएको हुँदा सहज पहुँचले यहाँ आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुर्याउने आयोजकको विश्वास छ ।
आयोजकले यो मेलालाई आगामी वर्षमा अझ विस्तार गरी प्रदेशस्तरको महोत्सव बनाउने योजना पनि जनाएको छ ।