• १२ साउन २०८१, शनिबार

चलचित्र ‘उग्राम’ सँग मिल्दोजुल्दो ‘सलार’

blog

काठमाडौँ, पुस ११ गते । केही समययता एक्सन चलचित्रले लगातार विश्वभरका बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । यो अवसरलाई सदुपयोग गर्न चलचित्रकर्मी पनि पछि परेका छैनन् र हलमा एकपछि अर्को एक्सन चलचित्र प्रदर्शन भइरहेका छन् । ‘बाहुबली’, ‘केजिएफ’ ‘आरआरआर’, ‘पठान’ ‘जवान’ र ‘टाइगर थ्री’ एक्सनमय चलचित्रमा कोसेढुङ्गा नै साबित भए । त्यसयता यो प्रवृत्ति यसरी जारी छ कि रोकिने कुनै सङ्केत नै देखिँदैन ।

चलचित्र ‘सलार’ को कथा खानसार नामक राज्यमा राजा मन्नार (जगपति बावु) छोरा बर्धराज मन्नार (पृथ्वीराज सुकुमारन) लाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छन् तर अर्कोतर्फ राजा मन्नारका मन्त्री र सल्लाहकारहरूले विद्रोहको योजना बनाइरहेका हुन्छन् । उनीहरूले बावु–छोराविरुद्ध षड्यन्त्र रचिरहेका हुन्छन् । मन्त्री र सल्लाहकारले रुस र सर्बियाका सेनासँग हात मिलाएर खानसारमाथि आक्रमण गर्छन् । बर्धराज खानसारबाट भाग्न सफल हुन्छन् र आफ्नो बाल्यकालको नजिकको साथी देवा (प्रभास) कहाँ पुगेर सबै इतिवृत्तान्त बताउँछन् । बर्धराजलाई खानसारको निर्विवाद उत्तराधिकारी बनाउन देवा आफ्नो टाउकोमा कफन लगाएर निस्कन्छन् । देव आफ्ना साथी बर्धराजलाई आफ्नो उत्तराधिकारी बनाउन सफल हुन्छन् । दुई साथीबिच मनमुटाव हुन्छ । यिनै कुराको सवाल र जवाफ चलचित्रभित्र लुकेका छन् । देवाले आफ्नो साथीको राज्य र आफ्नो मित्रता बचाउन के कस्ता तरिका अपनाउँछन् भन्ने नै चलचित्रको मुख्य विषय हो ।  

चलचित्रमा निर्देशक प्रशान्त नीलले प्रभासलाई उत्कृष्ट एक्सन नायकका रूपमा प्रस्तुत गरेका छन् । उनको अनुहारको भावले एक अद्भुत अभिनेता बनाउँछ ।  प्रभासको अभिनय र संवाद उत्कृष्ट छ । उनको विपरीत पृथ्वीराज सुकुमारन पनि कुनै कुरामा कम देखिँदैनन् । साउथका कलाकारको सबैभन्दा ठुलो विशेषता यो हो कि उनीहरूले आफ्नो अभिनयमा कहिले पनि अन्य कलाकारलाई हाबी हुन दिँदैनन् । एक्सन, प्रेमिल, भावनात्मक वा कमेडी नायक होस् उनीहरू आफ्नो चरित्रमा डुबेर अभिनय गर्छन् । नायिका श्रुति हासन सुन्दर देखिएकी छिन् भने उनले आफ्नो अभिनय क्षमता अझै निखार्दै लगेकी छिन् । चलचित्रका दृश्यहरू रक्तपात र एक्सनले भरिपूर्ण छन् । अन्य कलाकारले पनि चलचित्रलाई शतप्रतिशत साथ दिएका छन् ।

निर्देशक नीलले २०१४ मा ‘उग्राम’ नामक चलचित्र बनाएका थिए र सलारको कथा पनि सोही चलचित्रसँग मिल्दोजुल्दो छ । नीलको मनमा जुन कथा थियो, त्यसलाई उनले पर्दामा राम्रोसँग प्रस्तुत गरेका छन् । यति ठुला कलाकारसँग काम गर्नु आफैँमा ठुलो चुनौती हो तर उनले सबै कलाकारबाट उत्कृष्ट काम मात्र गरेनन् । महाकाव्य जस्तो देखिने चलचित्रको निर्देशनमा पनि उत्कृष्टता देखाएका छन् । राम्रो छायाङ्कन स्थल छनोट गरिएको र पात्रको गेटअप र लुक्स आकर्षक छ । चलचित्रको एक्सन अन्तिमसम्म कायम राखिएको छ । यो हेरिसकेपछि दर्शकले यसको अर्को भागको उत्सुकतापूर्वक प्रतीक्षा गर्ने छन् । चलचित्रको हरेक दृश्य रोमाञ्चक छ । चलचित्र हेरिसकेपछि दर्शकलाई टिकटको पैसा फजुलमा खर्च भयो भन्ने कतै लाग्दैन ।