• २५ जेठ २०८२, आइतबार

यःमरी पुन्ही पर्वको रौनक

यःमरी माग्न जाने चलन लोप हुँदै

blog

काठमाडौँ, पुस १० गते ।  

वा पासा वा वा सकलें वा

छेँखापतिं यःमरी फ्वं वनेवा...

त्यःछिं त्यः बक छिं त्यः

लातापाता कुलिंचा जुस्सें त्यः ...’ 

नेवार समुदायमा यःमरी पुन्हीका दिन यस्तै गीत गाउँदै यःमरी माग्न जाने प्रचलन रहेको छ । 

‘यःमरी च्वामु, उकी दुने हामो, ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरीकुति’... भन्दै यःमरी माग्न जाने बेला युवकयुवती एकअर्कालाई जिस्क्याउने समेत गर्छन् । सामूहिक रूपमा जम्मा हुँदै यःमरी माग्न जाने प्रचलन विस्तारै हराउँदै गएको छ । विशेष अवसर र समयमा मात्रै बनाइने यःमरी अहिले बाह्रै महिना पाइन्छ । नेवार समुदायको परिचय बनेको यःमरी व्यावसायिक हुँदै गएकाले पनि यःमरी माग्न जाने चलन विस्तारै कम हुँदै गएको संस्कृतविद्हरूको भनाइ छ । 

उपत्यकालगायत देशैभरि छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले मङ्गलबार यःमरी पुन्ही धुमधामसँग मनाउने चलन छ । 

कृषि कार्यसँग धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । यःमरी पुन्ही अर्थात् पूर्णिमाबाट औपचारिक रूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । नयाँ धानको चामलको पिठोलाई माछाको जस्तो स्वरूप बनाएर त्यसभित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट यःमरी तयार पारिन्छ । संस्कृतिविद् चुन्दा वज्राचार्य भन्नुहुन्छ, “पहिले घर घरमा यःमरी माग्न जाने चलन थियो । यसरी माग्न जाँदा सद्भाव, माया र एकताको प्रतीक मानिन्थ्यो तर अहिले यो लोप भइसकेको छ ।” 

यःमरी पर्वलाई भाइचारा बढाउने र अर्कासँग रोटी साटासाट गर्ने पर्व पनि भनिन्छ । नेपाल भाषामा यःमरीको अर्थ ‘यः’ भनेको मनपर्दो र ‘मरी’ भनेको रोटी भन्ने बुझिन्छ । तसर्थ यसलाई मनपर्दो रोटी भनेर बुझ्ने गरिन्छ । यःमरीलाई पञ्च तत्वका रूपमा पनि लिने गरिन्छ । धर्तीका रूपमा चामलको पिठो, अग्निका रूपमा चाकु, जलका रूपमा पानी, आकाशका रूपमा खाली ठाउँ र वायुका रूपमा तिललाई लिइन्छ ।

संस्कृतिविद् वज्राचार्यका अनुसार पहिला रोटीका नाममा सुक्खा रोटी मात्रै बन्थ्यो, अहिले जस्तो विभिन्न प्रकारका रोटी थिएनन् । पछि आफैँसँग भएका खाद्यान्नको उपयोग गरी नेवारहरूले यःमरीको विकास गरेका हुन् । त्यसबेला तिलको धुलो, चाकुको झोललाई मिसाएर चामलको पिठोमा राखेर आधुनिक रोटीको विकास भएको उहाँको कथन छ । यसरी नयाँ प्रकारको रोटी बनाउँदा सबैलाई मिठो लागेको र सबैलाई मनपर्ने भएको यसको नाम यगु मरी हुँदै हाल ‘यःमरी’ रहन गएको वज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कृषि प्रधान देश भएकाले त्यसबेला हामी कसैप्रति निर्भर थिएनौँ । यःमरी त्यही आत्मनिर्भताको आविष्कार हो । 

संस्कृतविद् ओम धौभडेलले भन्नुभयो, “यःमरी बनाउनु भनेको लक्ष्मी भित्र्याउनु हो । खेती गरेर आएको चामलको पहिलो पिठोबाट यःमरी बनाउनु भनेको लक्ष्मीको आगमन गराउनु हो ।”  

नेवार समुदायमा यःमरीको विशेष महत्व रहेको छ । जन्म दिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक भएको बताउनुहुन्छ । भक्तपुरको धनेश्वरमा यःमरी चढाएर यो पर्व मनाइने भएको छ । महाकाली नाचका मूल नाइके तुलसीनारायण दण्डेख्याका अनुसार यो दिन गरिबलाई यमरी दान दिँदा जति दिएको त्यसको आगामी वर्ष दोब्बर प्राप्त हुन्छ भन्ने कथन अनुसार यःमरी वितरण गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको हो ।  

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।