• १९ जेठ २०८२, सोमबार

गणतन्त्रपछि खेलकुद पूर्वाधारमा व्यापक विस्तार

blog

काठमाडौँ, जेठ १५ गते । राजतन्त्रको अन्त्यसँगै प्राप्त गणतन्त्रपछि नेपाली खेलकुद क्षेत्रमा उल्लेखनीय परिवर्तन भएका छन् । तल्लो तहबाटै खेलाडी उत्पादन मात्र भएको छैन,  नियमित रूपमा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता बढ्दो क्रममा छ । दक्ष प्रशिक्षक र प्रशिक्षणको व्यवस्थाका साथै भौतिक पूर्वाधारमा उल्लेखनीय लगानी बढ्दो छ । अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन मात्र होइन पदक नै हासिल गरेका छन् । अझ महिला खेलाडीको उपस्थिति लोभलाग्दो छ ।  

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ भन्नुहुन्छ, “गणतन्त्रपछि भौतिक पूर्वाधारका क्षेत्रमा तीव्र विकास भएका छन् । सङ्घीयताको सोच अनुसार हरेक प्रदेशमा खेलकुद विकासका काम भइरहेका छन् । यतिबेला सात प्रदेशमा रङ्गशाला निर्माणको काम भइरहेको छ ।” पोखरा, सुर्खेत, नेपालगन्ज, धनगढी, इटहरीमा रङ्गशाला निर्माणको काम सकिन लागेको छ ।  विनाशकारी महाभूकम्पले क्षति पुगेका संरचना बन्ने काम अन्तिम चरणमा पुगेको बताउँदै उहाँले दशरथ रङ्गशालाको पुनर्निर्माण, अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुल र राखेपको कभर्ड हलको निर्माण भइरहेको जानकारी दिनुभयो । सदस्यसचिव घिसिङले गणतन्त्रपछि नेपाली खेलकुद क्षेत्रले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको दाबी गर्नुभयो । नेपालले पारा ओलम्पिकमा पदक हासिल गरेर गौरवपूर्ण इतिहास रचेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “गणतन्त्रपहिले ओलम्पियन जन्मिए, गणतन्त्रपछि ओलम्पिक पदक विजेता जन्मिएका छन् ।”

छ दशकदेखि ओलम्पिकमा सहमागिता जनाउँदै आएको नेपालले पहिलो पटक पारा ओलम्पिकमा कांस्य पदक जित्यो  । पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धनले गत वर्ष पदक जितेर इतिहास रच्नुभयो । त्यति मात्र होइन खो खो विश्वकपमा नेपालको महिला र पुरुष दुवै टोली उपविजेता बने । क्रिकेटको टी–२० विश्वकपमा नेपालको सम्झनायोग्य प्रदर्शन रह्यो । सदस्यसचिव घिसिङ भन्नुहुन्छ, “खेलेर पनि बाँच्न सकिन्छ र खेलबाटै भविष्य बनाउन सकिन्छ भन्ने सोच अहिले खेलाडीलाई मात्र होइन परिवार र समाजमा पुगेको छ । यो सबै गणतन्त्रपछि नै सम्भव भएको हो ।” उहाँले सरकारले खेलाडीलाई प्रोत्साहनस्वरूप भत्ता पनि वितरण गर्दै आएको बताउनुभयो । 

ओलम्पियन सङ्गीना वैद्य पनि गणतन्त्रपछि नेपाली खेलकुदमा उल्लेखीय विकास भएको स्विकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “गणतन्त्रपछि खेलाडीले पाएको वातावरणले खेलमा भविष्य छ भन्ने कुरालाई पुष्टि गरेको छ । अहिले खेलाडीले खेलेरै आफ्नो जीविका चलाउनुका साथै भविष्य पनि बनाउन सक्ने भएका छन् ।” उहाँले गणतन्त्रपछि नेपाली खेलकुदमा महिलाको उपस्थिति सशक्त रूपमा माथि उठेर आएको बताउँदै यो सबभन्दा ठुलो उपलब्धि रहेको बताउनुभयो । उहाँले फुटबल, क्रिकेट, कपर्दी, तेक्वान्दो, कराँते, भलिबल जस्ता खेलमा नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रियस्तरको प्रदर्शन गरेको बताउँदै राज्यले बनाएको वातावरणकै कारण यो सम्भव भएको बताउनुभयो । निरन्तर रूपमा लिग खेल हुनुका साथै बाह्रै महिना प्रशिक्षण हुनुले नेपाली खेलकुदको भविष्य उज्यालोतर्फ गइरहेको पुष्टि हुने उहाँले बताउनुभयो । विगतमा विभेदका कुरा सुनिए पनि अहिले योग्य खेलाडीले यथोचित स्थान पाएको उहाँले बताउनुभयो । उहाँले गणतन्त्रपछि योग्य र क्षमतावान् खेलाडीलाई आउने ढोका खुलेको आफूले अनुभव गरेको बताउनुभयो । 

ओलम्पियन दीपक विष्टले गणतन्त्रपछि खेलको विकास भए पनि अझै सबै खेललाई समेट्नुपर्ने बताउनुहुन्छ । “गणतन्त्रपछि केही अन्तर्राष्ट्रिय पदक भित्रिनुलाई उपलब्धिमूलक मान्न सकिन्छ,” उहाँ थप्नुहुन्छ, “खेलाडीको स्तरमा थप वृद्धि गर्नु आवश्यक छ ।” उहाँले खेलकुदलाई शिक्षासँग जोडेर लग्नुपर्ने बताउँदै भन्नुभयो, “पाठ्यक्रममा समावेश गरी खेलाडी उत्पादन गर्न सकेमा खेल क्षेत्रको विकासमा विस्तार हुन्छ ।”   

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।