• २४ जेठ २०८२, शनिबार

‘गुणस्तरका आधारमा टोलीलाई बलियो बनाउँछु’

blog

काठमाडौँ, जेठ २४ गते ।  नेपाली राष्ट्रिय महिला फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले नेपाली महिला टोलीलाई अङ्कले भन्दा गुणस्तरका आधारमा बलियो बनाउने बताउनुभएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले आफ्नो अनुभवका आधारमा आगामी खेलमा नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने उहाँले बताउनुभयो । धेरै चुनौती रहेका छन्, प्याट्रिकले भन्नुभयो, “त्यसलाई कसरी समाधान गर्ने भन्ने बाटोमा लाग्ने छु । नेपालमा फुटबलका लागि आएको हो, यसको सुधार गरेर जान्छु ।”

नेपालमा रहँदा उत्कृष्ट प्रशिक्षकको भूमिका निर्वाह गर्ने बताउँदै प्याट्रिकले एएफसी महिला एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने गरी प्रशिक्षणमा केन्द्रित हुने उल्लेख गर्नुभयो । उहाँले  फुटबलमा असम्भव केही नरहेको र राम्रो तयारी गर्न सके नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो । “म नेपालमा जित्न र जिताउन नै आएको हो, त्यसैले खेलाडी सहभागिताको कुरामा जोड दिन्छु,” उहाँले भन्नुभयो । प्याट्रिक यसअघि नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्स फुटबल क्लबको प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्न नेपाल आउनुभएको थियो । उहाँ युइएफए प्रो लाइसेन्स प्रशिक्षक पनि हुनुहुन्छ । उहाँले प्रमुख प्रशिक्षकको भूमिकामा राष्ट्रिय टोली समाल्न लागेको यो पहिलो पटक हो तर यसअघि उहाँसँग विभिन्न क्लब तथा अल्जेरिया र हङ्गेरीको फुटबल टोलीको सहायक प्रशिक्षकको अनुभव छ । उहाँले चीनको यु–२३ महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसक्नुभएको छ ।

एन्फा प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षकमा प्याट्रिकसँग एक वर्षको सम्झौता गरेको जानकारी दिँदै सिफारिस समितिका आधारमा प्याट्रिकलाई नियुक्त गरेको जानकारी दिनुभयो । उहाँले प्याट्रिकको प्रशिक्षकत्वमा महिला टोली थप बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्याट्रिक उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२६ छनोट अन्तर्गत लाओसविरुद्धको खेलमार्फत प्रशिक्षकको भूमिकामा देखिनुहुने छ । जुन २९ मा हुने खेलमा नेपालले श्रीलङ्का र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्ने छ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ ।  

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।