काभ्रेपलाञ्चोक, वैशाख ३० गते । बनेपा, काभ्रेका नेवार समुदायले २५ सय वर्षअगाडिदेखि मनाउने चण्डेश्वरी जात्राले नगर उल्लासमय बनेको छ । वैशाख शुक्ल पूर्णिमाको दिन भव्य रूपमा चण्डेश्वरी जात्रा मनाउने गर्दछ । हरेक वर्ष चण्डीपूर्णिमादेखि तीन दिनसम्म जात्रा मनाउने गरिन्छ । जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ ।
दोस्रो दिन बिहानसम्ममा सोही स्थानमा रहेको देवीसहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको बकुटोलतर्फ ल्याउने स्थानीय तथा भजन गुरु श्रीकृष्ण अवालेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खटलाई प्राचीन लायकु दरबारसम्म पु¥याइन्छ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः बकुटोलमै ल्याउने तथा मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिन्छ ।
अवालेका अनुसार धिमे, नायखिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आआफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ । उहाँले जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवतालाई १२ वटा बोका बलि दिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने र बाँकी बोकाको मासु ‘कलङ्दान’ गर्ने प्रचलन रहेको जानकारी दिनुभयो ।
कलङ्दान जात्रामा मासुलाई प्रसादस्वरूप भिडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो । स्थानीय प्रेमलाल मानन्धरले कलङदानका क्रममा भिडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिने किंवदन्ती रहेको बताउनुभयो ।
यस प्राचीन जात्रामा भाग लिन दोलखा, ललितपुर, भक्तपुर, काठमाडौँ, रामेछापलगायतका ठाउँबाट समेत श्रद्धालु आउने गर्छन् । रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकालिने चलन छ । बनेपाको तीनधारामा बनाइएको पाङ्ग्र्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाले बोकेर चण्डेश्वरी पु¥याउने गर्दछ ।
बनेपालगायतका आसपासका नेवार समुदायको आराध्यदेवकै रूपमा चण्डेश्वरीलाई लिइन्छ । चण्डासुरको बधपछि चण्डेश्वरीलाई देवलोकमा बाजागाजासहितले स्वागत गरिएको र यसै खुसियालीमा सत्ययुगबाटै यस जात्रा गरिआएको बताइन्छ । चण्डासुरको मृत्युको खुसियाली नै यस जात्राको रौनक हो । चण्डेश्वरी जात्राका अलावा काभ्रे जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, श्रीखण्डपुरमा श्वेत भैरवको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ ।
किंवदन्ती अनुसार २५ सय वर्षअगाडि आराध्यदेवी चण्डेवरी माईको जात्रा धार्मिक कथन अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएको थियो । भगवतीका रूपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसियालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ ।