काठमाडौँ, असार २ गते । मानव जीवन फूल जस्तै रङ्गीन होस् र कुनै विघ्नबाधा नहोस् भने मगर समुदायले आइतबार देशभर भुमेपर्व मनाएका छन् । सांस्कृतिक जगेर्ना गर्ने उद्देश्यले काठमाडौँ उपत्यकाको टुँडिखेलमा तीन दिनसम्म पर्वको आयोजना भइरहेको छ । टुँडिखेलमा सुरु भएको भुमे महोत्सवमा मगर समुदायका महिला, पुरुष तथा बालबालिकाले मगर पोसाकमा सजिएर नाचगान गरेका थिए । उपत्यकाबाहिर असारको पहिलो सातासम्म यो पर्व मनाइन्छ ।
हिउँदे बाली भित्र्याएर बर्खे बाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन् र सबै बाली राम्रो होस् भन्ने कामनाका साथ मगर समुदायमा असार सङ्क्रान्तिदेखि साताभर भूमि पूजा गर्ने चलन रहेको छ । भुमेपर्वको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भुमेपर्व केवल सांस्कृतिक परम्परा नभई वैज्ञानिक आधार भएको पर्व भएको बताउनुभयो ।
भुमेपर्व संरक्षण नेपालद्वारा आइतबार आयोजित ‘भुमेपर्व–२०८२’ लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “भूमिलाई पूजा गर्ने चलन पुरातन मान्यता मात्र होइन, वैज्ञानिक विषय पनि हो । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिन थालेको छ । बाढीपहिरो बढेको छ । सिङ्गो जगत् सङ्कटमा छ । यस्तो अवस्थामा भूमि पूजाले प्रकृतिप्रतिको सम्मान र दिगोपनाको सन्देश दिन्छ ।”
आयोजक भुमेपर्व संरक्षण नेपालका उपाध्यक्ष हर्कबहादुर घर्तीले प्रकृति (भूमि) लाई सम्मान गर्न यो पर्व मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “भूमिको पूजा विशेषतः प्रकृतिले हामीलाई गाँस, बास, कपास दिएकोमा सम्मान स्वरूप गरिन्छ । यसमा पूजाआजा तथा नाचगान गरिन्छ ।” मगर समुदायको प्रमुख चाड भूमि (भुमे) पर्वमा कुल पितृको सम्मान गर्दै धर्तीलाई केन्द्रमा राखेर पूजा गरिने अन्तर्राष्ट्रिय मगर महासङ्घका अध्यक्ष नवीन रोकामगरले जानकारी दिनुभयो । उहाँले मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँ (भूमि) को पूजा गर्ने प्रचलनलाई आफ्नो मुख्य चाडका रूपमा मान्दै आएको बताउनुभयो । मगर भन्नुहुन्छ, “यो धर्तीलाई पूजा गर्ने भएकाले भुमेपर्व भनिएको हो । मगर भाषामा यसलाई ‘नाम्क’ भनिन्छ । ‘नाम’ को अर्थ ‘जमिन’ हो भने ‘क’ को अर्थ ‘पूजा’ हो ।”
भूमि पूजाको अवसरमा देवतालाई बलिदिने, देवस्थानमा गएर नाचगान गर्ने र थकाइ मार्ने परम्परा रहिआएको मगरको भनाइ छ । मगर समुदायले यो पर्वलाई नयाँ वर्षका रूपमा समेत मनाउने र आर्थिक वर्षका रूपमा लिने पनि मगरले बताउनुभयो । मगर समुदायको भावना, पहिचान र एकतासँग जोडिएको हुँदा यो मगर समुदायको मुख्य चाड भएको उहाँले जानकारी दिनुभयो । “पृथ्वीलाई साक्षात् भगवान् मान्ने मगर समुदायले प्राकृतिक प्रकोप नहोस् र मानवको कल्याण होस् भन्ने आशयले यो पूजा गर्छन्,” मगर थप्नुहुन्छ, “यो पर्व मगर जातिको जीवन र जगत्सँग जोडिएको हुन्छ ।” भुमेपर्व अठार मगरातका मगरलगायत सबै मगरको मुख्य चाड भएको उहाँले बताउनुभयो ।
मगर समुदायको भुमेपर्वमा विभिन्न पाँच प्रकारको बाजा बजाएर महिला, पुरुष, बालबालिका नाचेर यो पर्व मनाउने गरिन्छ । महासङ्घका अध्यक्ष मगरले टुँडिखेलमा एक सय स्टल राखिएको जानकारी दिनुभयो ।