• २१ असार २०८१, शुक्रबार

दयाहाङले तताएको चलचित्र बजार

blog

काठमाडौँ, पुस ८ गते । नेपाली चलचित्रमा एक समय नायक राजेश हमालको निकै चर्चा हुने गथ्र्याे तर पछिल्ला दिनमा हमालको खासै चर्चा छैन । कहिले भुवन केशी त कहिले शिव श्रेष्ठले पनि नेपाली सिने जगत्मा उत्तिकै चर्चा कमाएकै हुन् । केही वर्षयता नयाँ नायकहरूको नेपाली चलचित्र क्षेत्रमा प्रवेश त भएको छ तर खासै चर्चामा नआई सेलाउनेको सङ्ख्या अधिक छ । अचेल चलचित्रमा बढी अनुबन्धित हुने नायकमा दयाहाङ राई देखिएका छन् । 

निर्देशकलाई अहिले चलचित्रको कथा खासै नयाँ नभए पनि फरक पर्दैन तर नायकमा दयाहाङ भने अनिवार्य हुनु पर्छ । पछिल्लो समय दयाहाङको क्रेज निकै बढीरहेको छ । दयाहाङको हातमा भएका चलचित्रको सूची देख्दा यस्तो लाग्छ कि नेपाली चलचित्रमा अब दयाहाङको मात्र राज चल्ने हो ? दयाहाङ अभिनित चलचित्रहरू सबैले राम्रो व्यापार नगरे पनि केही चलचित्रले भने बजारमा अपत्यारिलो व्यापार गरेको पनि छ । निर्देशक निश्चल बस्नेत उहाँको अभिनय क्षमताले गर्दा नै एकपछि अर्को चलचित्रमा काम पाइरहेको बताउनुहुन्छ । अन्य निर्देशकले उहाँलाई आफ्नो चलचित्रमा किन लिनुहुन्छ त्यो मलाई थाहा भएन, तर मैले उहाँलाई उहाँको अभिनय कौशलता र आफूले चाहेको भूमिकामा सुहाउने भएर नै लिने गरेको छु । फेरि धेरै निर्देशक/निर्माताको आशा उहाँलाई चलचित्रमा अभिनय गराइसकेपछि अवश्य चलचित्र राम्रो चल्छ भन्ने पनि हुन सक्ने बस्नेतले बताउनुभयो । 

दयाहाङको बारेमा कलाकार तथा निर्माता दीपकराज गिरीको भनाइ भने केही भिन्न छ । उहाँ भन्नुहुन्छ, “चलचित्रमा दयाहाङको विकल्प को त ? भन्नेभन्दा पनि दयाहाङ जस्तै अन्य कलाकारहरू पनि आउनु जरुरी छ ।” नेपाली चलचित्र क्षेत्र एउटै कलाकारमा मात्र भर पर्नुभन्दा अरू कलाकार पनि आउनुभयो भने त्यो अवश्य राम्रो हुने छ, गिरीले भन्नुभयो । 

अहिले नेपाली चलचित्रको ट्रेन्ड नायक राजेश हमालको बेलाको जस्तो भइरहेको पनि गिरीले बताउनुभयो । कुनै जमानामा चलचित्रमा राजेश हमालको मात्र अनुहार बिक्थ्यो भने अहिले यत्रतत्र दयाहाङ मात्र देखिन्छन् । एकै नायकको काँधमा चलचित्र क्षेत्र दौडिने चलन पुरानै भएको उहाँले बताउनुभयो । 

उहाँले थप्नुभयो, “यसमा विकल्प हुँदैन भन्ने होइन प्रकृतिसँग विकल्प टन्नै छ । फेरि नेपाली चलचित्र क्षेत्रमा हाम्रो कथाले कसलाई नायक माग्यो भनेर चलचित्र बन्ने क्षेत्र पनि भइसकेको छैन । यो सबै भनेको बजारबाट निर्देशित नै हो । निर्देशक दीपेन्द्र के खनालको भनाइमा दयाहाङको विकल्प भनेको दयाहाङ नै हो । उहाँ भन्नुहन्छ, “दयाहाङको यो वर्ष र अघिल्लो वर्षको बक्स अफिसको व्यापार हेर्ने हो भने उहाँ अभिनित चलचित्रले बक्स अफिसमा सफल व्यापार गरेको आकडा देखिन्छ । यही कारणले निर्माताहरूले दयाहाङलाई मात्र आफ्नो चलचित्रमा लिएको हुन सक्ने खनाल बताउनुहुन्छ । दयाहाङलाई आफ्नो चलचित्रमा अभिनय गरायो भने लगानी सुरक्षित रहने आधार पनि हुने खनालको ठम्याइ छ । 

राईको निरफूल, ‘दुई नम्बरी’ ‘कबड्डी ४’ ‘जारी’, नाङ्गो गाउँ, दिमाग खराब नेपालसँगै डायस्पोराका बजारमा राम्रो व्यापार गरेका चलचित्र हुन् । त्यस्तै ‘राजागन्ज’, हात्तीछाप’, ‘गाउँ आएको बाटो’, ‘वरिष्ठ बलराम’, ‘अन्जिला’, ‘घर ज्वाइँ’, ‘डिग्री माइला’ ‘मनसरा’, ‘रङ्गेली’ प्रदर्शनको सूचीमा रहेका चलचित्रहरू हुन् । त्यस्तै हेमराज बिसीको निर्देशन रहने चलचित्र जसको नाम सार्वजनिक भइनसकेको चलचित्रमा पनि राई आबद्ध हुने पक्कापक्की छ । यसले यो पनि सङ्केत गर्छ कि राईका सुटिङ सकिएको, भइरहेका र  हुने तरखरमा रहेको सूचीले नेपाली चलचित्र क्षेत्र दयाहाङमय हुँदैन भन्न सकिँदैन ।

 गाउँबाट लाहुर जान्छु भनेर हिँडेका राई राजधानीमा कवि बन्ने धुनमा हुनुहुन्थ्यो तर उहाँले जब अभिनयमा पाइला टेक्नुभयो नेपाली चलचित्रको धार नै परिवर्तन गरिदिनुभयो । कलाकार हुन राम्रो ज्यान नै चाहिन्छ पुरानो सोचलाई पछार्दै नेपाली चलचित्रमा यसरी स्थापित हुनुभयो कि अहिले अन्य कलाकार उहाँको अघि फिक्का देखिन थालेका छन् । चलचित्र ‘मेरो एउटा साथी छ’ मा सानो भूमिकाबाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएका राईसँग अहिले हातमा नगन्य चलचित्रहरू छन् । त्यसैले पनि अब उहाँको विकल्पमा को हुन सक्छ भन्ने प्रश्नको जवाफ अझ पनि कसैले दिन सक्ने अवस्था देखिँदैन ।