• ४ जेठ २०८१, शुक्रबार

फरक संरचनामा पिएम महिला टी–२०

blog

काठमाडौँ, पुस ५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार प्रधानमन्त्री कप महिला टी–२० (पिएम कप) राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

क्यानले पत्रकार सम्मेलन गरी सहभागी सातै प्रदेश र यस प्रतियोगिताको सर्वाधिक सफल टिम एपिएफ पनि तयारी अवस्थामा रहेको जनायो । पिएम कप बिहीबार सुरु हुँदै छ । आगामी पुस १७ गते सकिने प्रतियोगिता त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने छ ।

क्यानका सचिव पारस खड्काले पहिलो पटक राउन्ड रोविनको आधारमा प्रतियोगिता हुन लागेको जानकारी दिनुभयो । राउन्ड रोविनको आधारमा हुने खेलमा सबै टोलीले एक अर्कासँग खेल्नुपर्ने हुन्छ । शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्ने छन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्ने छन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्ने छ । यसअघि दुई समूहमा विभाजन गर्दै सेमिफाइनल हुने गर्दथ्यो ।

सचिव खड्काले महिला क्रिकेटलाई पनि माथि उठाउन यस प्रकारको घरेलु प्रतियोगिता अति आवश्यक छ, भन्नुभयो । “क्यान अब नेपाली महिला क्रिकेटमा पनि नयाँ सोच विचारका साथ अघि बढ्ने छ । यो सुरुवात मात्र हो अब यसको विकासका लागि हरेक प्रयास गरिने छ । क्यानले खेलाडीलाई एक्सपोजर दिन यस पटकदेखि राउन्ड रोविनको आधारमा गर्न लागेको हो,” सचिव खड्काले भन्नुभयो ।

प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा एपिएफको सहभागिता रहेको छ । प्रतियोगितामा रुविना क्षेत्रीले कोशी, सीता रानामगरले एपिएफ, ऋतु कनौजियाले सुदूरपश्चिम, किरण कुँवरले कर्णाली, कविता गौतमले मधेश, अश्मिना कर्माचार्यले बागमती, सरस्वती घर्तीमगरले लुम्बिनी र कुमुम गोदारले गण्डकी प्रदेशको नेतृत्व गर्नुहुने छ । यी सबै कप्तानले पहिलो पटक राउन्ड रोविन लिगको आधारमा प्रतियोगिता गर्न लागेकोमा क्यानलाई धन्यवाद दिए ।

उद्घाटन दिन त्रिवि मैदानमा पहिलो खेलमा बागमती र मधेश तथा दोस्रो खेलमा गण्डकी र लुम्बिनीबिच प्रतिस्पर्धा हुने छ । मूलपानीमा हुने पहिलो खेलमा एपिएफले सुदूरपश्चिम तथा दोस्रो खेलमा कर्णालीले कोशीको सामना गर्ने छ ।