• १९ वैशाख २०८१, बुधबार

मौसमी फ्लुलाई हेलचेक्राइँ नगर्न चिकित्सकको सुझाव

blog

साङ्केतिक तस्बिर ।

काठमाडौं, पुस ५ गते । जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछन् । जाडोमा श्वासप्रश्वाससम्बन्धी र भाइरल जन्य समस्याले निकै दुःख दिने सरुवारोग विशेषज्ञ बताउँछन् । 

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार जाडोमा बढी देखिने मुख्य स्वास्थ्य समस्या कोल्ड डाइरिया, रुघा, खोकी, घाँटी दुख्ने, टन्सिल हुने, निमोनिया हुन् । जाडो मौसममा देखिने प्रमुख समस्यामध्ये एक हो मौसमी फ्लु हो । डा. पुनका अनुसार मौसमी फ्लु इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरस जाडो मौससमा बढी सक्रिय हुने हुँदा मौसमी फ्लुका बिरामी जाडो मौसममा बढी देखिने डा.पुन बताउनहुन्छ । फ्लु सबै उमेर समूहलाई लाग्ने भए पनि दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बढी जोखिममा पर्ने डा.पुनको भनाइ छ । फ्लु ‘ए’, ‘बी’, ‘सी’, ‘डी’  गरी चार प्रकारका हुन्छन् । नेपालमा जाँच गर्दा हङ्कङ फ्लु, स्वाइन फ्लु, बर्ड फ्लु  बढी मात्रमा पुष्टि हुने गरेको डा. पुनको भनाइ छ ।  

ज्वरो आउनु खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु, सिँगान बग्नु, मांसपेशी दुख्नु, थकान महसुस हुने, पखाला लाग्नु फ्लुका प्रमुख लक्षण हुन् । भाइरस भएका हात मुख वा नाक छुँदा पनि फ्लु एक व्यक्तिबाट अर्को व्यक्तिबाट सर्ने चिकित्सको भनाइ छ । 

फ्लुका बिरामी बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नाक वा मुखमा परेमा भाइरस सर्न सक्ने डा. पुन बताउनुहुुन्छ । उहाँ भन्नुहुन्छ, “खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नाक वा मुखमा परेका छिटा श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा गई गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ ।” 

फ्लुलाई सामान्य रुघाखोकी त हो नि भनेर धेरैले हेलचेक्राइँ गर्ने गर्दछन् । फ्लु बिग्रिएर कडा खालका निमोनिया देखिएर मानिसको मृत्यु हुने भएकाले हेलचेक्राइँ नगर्न डा. पुनको सुझाव छ । उहाँ भन्नुहुन्छ,“फ्लु एक हप्तादेखि १० दिनमा आफैं निको हन्छ । १० दिनसम्म निको भएन भने ब्याक्टेरियल इन्फेक्सन भई निमोनिया भएर बिरामीको मृत्यु समेत हुने हुँदा सचेत रहनुपर्छ ।” मौसमी फ्लुबाट बच्न सरसफाइमा ध्यान दिनु आवश्यक रहेको डा.पुन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हातले आँखा, नाक वा मुख नछुने । छुनै परेमा बेलाबेलामा साबुनपानीले हात सफा गरेर मात्र छुने । यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ ।” 

फ्लु भएका अधिकांश व्यक्तिलाई औषधि आवश्यक नपर्ने हुँदा जथाभावी औषधि किनेर नखान चिकित्सकको सुझाव छ । उहाँ भन्नुहुन्छ, “बिरामी पर्नासाथ जथाभावी औषधि किनेर नखाने, यदि धेरै नै गाह्रो भएमा चिकित्सकको परामर्शमा औषधिको प्रयोग गर्नुपर्छ ।” 

बिरामीले भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, शारीरिक रूपमा सक्रिय हुने । सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, निस्कनै परेमा मास्क लगाउन चिकित्सकको सुझाव छ ।

तातो पानी झोलिलो पोसिलो खानेकुरा खान चिकित्सकको सुझाव छ । हात धुने, मास्क लगाउने, खोक्दा मुख छोपेर खोक्ने गर्दा यसबाट बच्न सकिन्छ । जाडो मौसमा देखिने फ्लुबाट बच्न यसविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ । 

चिकित्सक अनुसार दीर्घरोगी र वृद्धवृद्धामा इन्फ्लुएन्जा सङ्क्रमणको जोखिम बढी हुने भएकाले इन्फ्लुएन्जा सङ्क्रमणविरुद्धको खोप लगाउन पनि सकिन्छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।