• २४ चैत २०८२, मङ्गलबार

सरकारी अस्पतालमा बिरामीको चाप

blog

नवलपुर समाचारदाता

नवलपुर, चैत २४ गते । नवलपुरको कावासोती–१६, डन्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालले विगत तीन आर्थिक वर्षमा दुई लाख ७१ हजार ३७४ जनाको उपचार गरेको छ । त्यसमध्ये गत आवमा २४३ वटा मुख्य शल्यक्रिया र ४३ वटा मध्यम शल्यक्रिया गरेको अस्पतालको वार्षिक प्रतिवेदनमा उल्लेख छ । चालु आवको छ महिनामा मात्र ३७३ वटा मुख्य शल्यक्रिया र ८२ वटा मध्यम शल्यक्रिया भएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रमेशप्रसाद आचार्य भन्नुहुन्छ, “यो तथ्याङ्कले देखाउँछ अस्पतालप्रति बिरामीको चाप र विश्वास दुवै बढेको छ ।” नवलपुर जिल्ला चितवन र बुटवल जस्ता ठुला सहरबिचमा अवस्थित छ । जहाँ ठुलठुला अस्पताल छन् 

तर पनि मध्यविन्दु अस्पतालमा बिरामीको चाप घटेको छैन । बरु हरेक वर्ष बढिरहेको छ । जिल्लाको धेरै भाग पूर्वपश्चिम राजमार्गले छोएको र बाटो विस्तार भएपछि अत्यधिक रूपमा हुने दुर्घटनाका घाइते उपचारका लागि आउने मुख्य गन्तव्य यही अस्पताल हो । २०६५ सालमा स्थापना भएको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल स्तरोन्नति हुँदै जिल्ला अस्पतालबाट एक सय शय्याको प्रादेशिक अस्पताल बनेको छ । 

टिनले छाएको टहरोका रूपमा रहेको अस्पताल केन्द्र र प्रदेश सरकारको आर्थिक सहयोगमा चारतले अत्याधुनिक भवन बनेर त्यहीबाट सेवा सुरु भएको पनि एक वर्ष बितिसकेको छ । प्रादेशिक संरचनामा गएको अस्पतालको एक वर्षअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो । अस्पतालकै पहलमा गण्डकी प्रदेश सरकारले २०८१ जेठ २७ गते मन्त्रीपरिषद्को निर्णयबाट १०.५९३ हेक्टर जग्गा भोगाधिकारका लागि सङ्घीय सरकारसमक्ष सिफारिस गरेको थियो ।