• २४ चैत २०८२, मङ्गलबार

वृक्षारोपण अनुगमनपछि बर्दिबास मेडिकल कलेज निर्माणको बाटो खुल्ने संकेत

blog

अजय शाह
गौशाला (महोत्तरी), चैत २४ गते ।
मधेश प्रदेशकै महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको बर्दिबास मेडिकल कलेज निर्माण प्रक्रिया पुनः अघि बढ्ने संकेत देखिएको छ।

सोमबार सम्बन्धित सरोकारवालाद्वारा वृक्षारोपण गरिएको क्षेत्रको स्थलगत अनुगमन सम्पन्न भएसँगै आवश्यक सम्झौता प्रक्रिया अगाडि बढाउने तयारी गरिएको हो।

मेडिकल कलेज निर्माणका लागि प्रस्तावित क्षेत्रमा रहेका एक हजार ९६७ रुख कटानको सट्टा सर्वोच्च अदालतले १० गुणा अर्थात् १९ हजार ६७० बिरुवा रोप्न आदेश दिएको थियो। सोही आदेशअनुसार मडाहा र सोनी खोलामा २३ हजारभन्दा बढी बिरुवा रोपिएको छ।

रोपिएका बिरुवाको अवस्था मूल्याङ्कन गर्न वन तथा भू–संरक्षण विभागको टोलीले हालै स्थलगत अनुगमन गरेको आयोजना प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो।

वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक उदव घिमिरेका अनुसार अनुगमन सम्पन्न भएसँगै माइस्थानस्थित निर्माणस्थलको जग्गा प्राप्तिका लागि आयोजना र सम्बन्धित निकायबिच सम्झौता प्रक्रिया अघि बढ्नेछ।

सङ्घीय वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि खिलानाथ दाहालसहितको टोलीले रोपिएका बिरुवा सन्तोषजनक रूपमा हुर्किएको भन्दै सकारात्मक प्रतिक्रिया दिएको छ।

“अदालतको आदेश कार्यान्वयनको चरणमा पुगेको छ, अब मेडिकल कलेज निर्माणको बाँकी प्रक्रिया अघि बढ्नेछ,” उपमहानिर्देशक घिमिरेले बताउनुभयो।

यसअघि सङ्घीय सरकारले ‘सुशासन मार्गचित्र–२०८२’ लागू गर्ने तयारी गरेसँगै आयोजना खारेज हुनसक्ने आशङ्कामा स्थानीयस्तरमा विरोधसमेत भएको थियो। केही दिनअघि बर्दिबासमा स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै विरोध जनाएका थिए।

अनुगमनपछि अब कानुनी जटिलता समाधान हुने र आयोजना अघि बढ्ने अपेक्षा गरिएको स्थानीयवासी चूडामणि पोखरेलले बताउनुभयो।

बर्दिबास–४ स्थित भप्सी खोला र अठब्बे खोल्सीबिचको माइस्थानस्थित सामुदायिक वन तथा नदी उकास क्षेत्रअन्तर्गत ५४.५८४ हेक्टर क्षेत्रफलमा निर्माण हुने प्रस्तावित मेडिकल कलेजमा एक हजार शय्याको अस्पताल, मेडिकल कलेज भवन, प्राध्यापक तथा कर्मचारी आवास, विद्यार्थी होस्टेल र अन्य संरचना निर्माण गरिने योजना छ।

पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा २०७३ सालमा बर्दिबासमा १ हजार शय्याको सरकारी मेडिकल कलेज स्थापना गर्ने निर्णय भएको थियो। त्यतिबेला सरकारले बर्दिबाससँगै बुटवल र सुर्खेतमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको थियो।

बर्दिबास मेडिकल कलेज निर्माणका लागि २०७६ वैशाख १८ गते बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालय स्थापना भई जग्गा प्राप्तिको काम अघि बढाइएको थियो।

वन क्षेत्रभित्र आयोजना पर्ने भन्दै २०७८ फागुनमा दायर मुद्दाका कारण दुई वर्षदेखि रोकिएको परियोजना सर्वोच्च अदालतको २०८० जेठ २९ गतेको फैसलापछि पुनः अघि बढ्ने मार्ग खुलेको हो।

मेडिकल कलेज बर्दिबासमै बन्ने बाटो खुलेकोमा स्थानीयवासी उत्साहित भएका छन्। यो आयोजना बर्दिबासको मात्र नभई मधेश प्रदेशकै राष्ट्रिय महत्वको परियोजना भएकाले देखिएका सानातिना अड्चन समाधान गर्दै अघि बढ्नुपर्ने स्थानीय बुद्धिजीवीको भनाइ छ।

नेपाल सरकारका उपसचिवबाट अवकाश प्राप्त स्थानीय रामकुमार कार्कीले भन्नुभयो, “प्रायः विकास निर्माणका काममा केही गतिरोध आउँछन्, तर अब शिक्षाको ज्योति छर्ने यो प्रस्तावले गति लिने विश्वास जागेको छ।”

उहाँले थप्नुभयो, “केन्द्र, प्रदेश र स्थानीय तहका राजनीतिक नेतृत्वले दूरदर्शी सोचका साथ यो प्रस्ताव अघि बढाउन संयुक्त पहलकदमी लिनुपर्छ।”

एक हजार शय्याको आधुनिक प्रविधियुक्त अस्पतालसहित कलेजको पूर्वाधार निर्माणमा रु. २८ अर्ब ५४ करोड लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले देखाएको छ। हालसम्म यस आयोजनामा ६ करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ।

जग्गा प्राप्तिको विषय अझै टुङ्गो नलाग्दा थप काम अघि बढ्न सकेको छैन। यो विषयले गति लिनासाथ पूर्वाधार निर्माणको प्रक्रिया अघि बढ्ने आयोजना कार्यालयले जनाएको छ।