• १६ भदौ २०८१, आइतबार

युवा पुस्तामा रङ्गमञ्चको क्रेज

blog

काठमाडौँ, पुस ४ गते । केही वर्षअघिसम्म पनि रङ्गमञ्चमा दर्शकको भिड कमै मात्रामा देखिन्थ्यो । चलचित्र हलतिरै दर्शक धेरै हुन्थे तर अहिले समय परिवर्तन भएको छ । नेपाली रङ्गकर्ममा उत्साह छाउन थालेको छ । नाटक हेर्ने संस्कृतिको विकास भएको छ । वरिष्ठ नाट्यकर्मी तथा सर्वनाम नाट्य समूहका अध्यक्ष अशेष मल्ल युवा पुस्ताका रङ्गकर्मीको सक्रियताले नै नाटक जुर्मुराएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रङ्गमञ्चमा युवाको आगमनसँगै उत्साह थपिएको छ, आशाको दियो बलेको छ । नाटक हेर्न आउने दर्शक पनि युवा पुस्ता नै छन् । यसले रङ्गमञ्चमा खुसी पक्कै ल्याएको छ ।”

नाट्यकर्मी अनुप बराल नाटक हेर्न आउने दर्शकमा पनि विविधता आउन थालेको बताउनुहुन्छ । नयाँ नयाँ दर्शकको उपस्थिति देखिन थालेको छ । स्कुल तथा कलेज पढ्ने विद्यार्थी आउन थालेका छन् । यसले रङ्गमञ्चलाई अझ माथि उठाउने काम गरेको छ । 

त्यस्तै नाट्यकर्मी विमल सुवेदी भन्नुहुन्छ, “दर्शकले रङ्गकर्मी र नाटकलाई विश्वास गर्नु नै धेरै ठुलो कुरा भएको बताउनुहुन्छ,” उहाँ भन्नुहुन्छ, “अहिले चलचित्र हलमा खासै दर्शक देखिँदैनन् । चलचित्र हेर्ने दर्शक पनि नाटकको स्वाद चाख्नतिर आएको देखिन्छ ।” 

थिएटरमा दर्शकको उपस्थितिले नेपाली समाज बौद्धिक बन्दै गएको सङ्केत भएको दाबी उहाँको छ । सुवेदी भन्नुहुन्छ, “अहिले रङ्गमञ्चको लिट्रेसी पनि बढेको छ । यो नेपाली रङ्गमञ्चका लागि सकारात्मक हो । अहिले रङ्गकर्मीको अवसर र दायित्व दुवै बढेको छ ।”

अहिले विदेशीका अनुवादित नाटकबाट नेपाली परिवेशमा रङ्गकर्मी आकर्षित हुन थालेका छन् । रङ्गमञ्चमा युवा पुस्ताको दरिलो उपस्थितिसँगै नेपाली परिवेशका नाटक आइरहेका छन्, नाटककै रूपमा अहिले भाषा, संस्कृति र पहिचानका पक्षहरू बुलन्द रूपमा उठान भइरहेका छन् । नाट्यकर्मी केदार श्रेष्ठका अनुसार भूकम्प र कोरोना महामारीपछि नेपाली रङ्गमञ्चको वातावरण केही खस्किएको थियो तर अहिले राम्रो वातावरण बन्दै गइरहेको छ । उहाँ भन्नुहुन्छ, “अहिले धेरै नाटकघरमा दर्शकको भिड लाग्ने गर्छ । यो नाटकप्रति युवा पुस्ताको क्रेज बढेको सङ्केत हो ।” नाटकलाई प्रत्यक्षरूपमा हेर्नुको अर्कै मज्जा छ । प्रत्यक्ष हेर्नु नै रङ्गमञ्च नाटकको स्वादै बेग्लै हुन्छ । त्यसको चरित्र पनि हो । काठमाडौँमा अहिले गुरुकुल, मण्डला, शिल्पी, कौसी, शेलीलगायतका नाटकघर चर्चामा छन् । यी सबै थिएटरमा नियमित नाटक मञ्चन भइरहेको हुन्छ । अहिले नाटकमा युवा पुस्ता मात्र नभएर सबै वर्गका दर्शकको आकर्षण बढेको छ । प्रायः नाटकमा दर्शको पनि राम्रो उपस्थिति देखिन्छ ।