• २३ भदौ २०८१, आइतबार

फिल्म सम्पादकको धैर्यता

blog

जलवायु परिवर्तनले विश्वव्यापी असर पारिरहेको छ । यो विषय ठुलो चुनौतीका रूपमा आएको छ । साना राष्ट्र मात्र होइन ठुला राष्ट्रका लागि पनि टाउको दुखाइको विषय बनेको छ । यस पटक शक्ति राष्ट्रहरूको सम्मेलन जी–२० मा समेत यो विषयले प्रवेश पाएको थियो । यस विषयमा फिल्म पनि बन्ने गरेका छन् । 

जापानको एउटा सानो ग्रामीण क्षेत्रको जङ्गल छेउमा एकल अभिभावक ताकुमी आफ्नी छोरी हानासँग बस्छन् । तिनीहरू गाउँलेका लागि काठ काट्ने र इनारको पानी ओसारपसार गर्ने काम गर्छन् । हिमाल र तालहरूको यो खोच स्वच्छ र शान्त छ । जहाँ जङ्गली जनावर स्वतन्त्र रूपमा घुम्छन् । यो गाउँ आफ्नो प्राकृतिक स्रोत जोगाउन लडिरहेको छ । 

गाउँमा चाउचाउ रेस्टुराँ र क्याम्पिङ साइट विकासले समुदाय वरपरको वातावरणलाई सदाका लागि परिवर्तन गर्ने छ । समुदायको स्वास्थ्य र सरसफाइमा गम्भीर परिणाम ल्याउने छ भन्ने कुराले सिङ्गो गाउँ चिन्तित छ । लगानीकर्ता सहरका पर्यटकका लागि रेस्टुराँ र क्याम्पिङ साइट निर्माण गर्ने योजनामा छन् । ‘थोरै प्रदूषणले पानीलाई असर गर्दैन’ भन्ने भाष्य निर्माण गर्न कुनै कसर बाँकी राख्दैनन् । सूक्ष्म, सिनेमेटिक र गहिरो भावनामा बगेको जापानी निर्देशक तथा स्क्रिन राइटर रायुएसकी हामागुचीको फिल्म ‘इभिल डज नट एक्सिस्ट’ मुख्य पात्र ताकुमी, उनकी छोरी र समुदायको कथामा बगेको छ । 

निर्देशक एक इकोथ्रिलरको फिल्म जसले प्रकृति र व्यावसायिक सोचबिचको द्वन्द्वको उजागर गर्न सफल भएका छन् । कथाको वजन पटकथाले कसरी उत्कृष्ट बनाउन सक्छ र फिल्म सम्पादनले पटकथाको पेस कसरी रिदमिक बनाउन सक्छ भन्ने देखाएको छ । सर्टस् इन्टरकटिङले कसरी फरक दृश्यहरू न्यारेट गर्न सकिन्छ भन्ने देखाएको छ । २०२२ मा उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मका लागि ओस्कर अवार्ड जितेका निर्देशकको यस फिल्म सामाजिक सरोकारको मूल्य र अस्तित्वको मुद्दाहरूमा गहिरो गरी बगेको छ । यसले बिएफआई लन्डन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । 

कार्यक्रममा विश्वका ९२ देशबाट फिल्म प्रोफेसनल उपस्थित थिए । २५२ फिल्म इन्ट्री भएकोमा १४ फिचर फिल्मसहित २९ सर्ट फिल्म, डकुमेन्ट्री र सिरिज वल्र्ड प्रिमयर गरिएका थिए । अन्तिम दिन लन्डनका फिल्म निर्देशक याज अल साटर, स्क्रिन राइटर कमिला स्टोपियरलगायत हामी रोयल फेस्टिभल हल छिर्नै गर्दा चर्चित बेलायती एक्टर डेनियल कालुया अभिनित फिल्म ‘द किचन’ को रेड कार्पेट चलिरहेको थियो । 

आधुनिक लन्डनको विकाससँगै पप अप भइरहेको लक्जरी पेन्टहाउसमध्ये एकमा गाउँका बासिन्दालाई सर्न आह्वान हुन्छ । त्यहाँका बासिन्दा आवासीय क्षेत्रको सामाजिक मूल्यलाई नष्ट गर्न खोज्नेविरुद्ध लड्छन् । यसमा भान्सा बचाउने लडाइँ चलिरहेको छ । द किचन भनेको परिवारको अर्थ हो । यो फिल्ममा किब्वय टाभरेस् र डेनियल कालुयाको संयुक्त निर्देशन छ । यसको पनि वल्र्ड प्रिमियर गरिएको थियो । रेड कार्पेट चलिरहँदा पहिलो चोटि एउटा नयाँ दृश्य देखियो । अलि पर आठ दस जना प्लेकार्ड बोकेर उभिएका थिए । ‘द इकोनमी अफ द कन्ट्री इज अल्सो सपोटेड बाइ द फिल्म इन्डस्ट्री’ अर्कोमा ‘फिल्म वर्कर्स बिकेम होमलेस । सेभ द वर्कर्स’ यस्तै लेखेका प्लेकार्ड थिए । कोरोना महामारीपछि विश्वव्यापी देखिएको आर्थिक मन्दीको असर लन्डनमा पनि परेको छ । यहाँको फिल्म उद्योगलाई पनि असर गरेको छ भन्ने बुझिन्थ्यो ।

बेलायती निर्देशक महलिया बेलाको फिल्म ‘द इन्ड उइ स्टार्ट फ्रम’ उपन्यासमा आधारित थियो । एक जवान आमाको भूमिकामा उत्कृष्ट अभिनय भएको पारिवारिक भावनात्मक फिल्म थियो । जहाँ अप्ठेरा क्षणविरुद्ध बाँच्नका लागि गरेका सङ्घर्ष मार्मिक रूपमा देखाइएको छ । बाढीले बेलायत डुबाउँदै गर्दा एक गर्भवती महिलाले भोगेको पीडा, बाढीमै बच्चाको जन्म भएपछि सुरक्षित रहन गरेको सङ्घर्ष देखाइएको छ । यसको पिक्चराइजेसन राम्रो छ । यस फिल्मका प्राय सबै सदस्य महिला हुन् तर एडिटर भने पुरुष छन् । छलफलमा सबै महिलाको उपस्थिति थियो । उनीहरू बोल्दा ‘बिग फिमेल फोर्स बिहाइन द फिल्म’ भन्ने लाइन धेरै प्रयोग गरिरहेका थिए । 

स्विडेनका मिका गुस्टाफसनको फिल्म ‘प्याराडाइसेट ब्रिनर’ धेरै राम्रो लागेको थियो । निर्देशक र अलेक्जेन्डर ओहरस्ट्रान्डको स्क्रिन राइटिङ रहेको फिल्मको न्यारेटिभ धेरै भावनामा छुने छ । यसले पहिलो फिचर विधामा अवार्ड पाउन सफल भयो । बालबालिकाको स्वतन्त्रता र अधिकार, अभिभावकबिना पनि स्वतन्त्र बाँच्न पाउनुलाई मान्ने या अभिभावक नभएकाले सरकार वा समाजले पालनपोषण तथा शिक्षा दिनेलाई मान्ने भन्ने विरोधाभासलाई धेरै भावात्मक तरिकाले प्रस्तुत गरिएको छ । 

एक श्रमिक वर्गका, तीन दिदीबहिनी लौरा, मीरा र स्टेफीलाई आमाले छोडेर हराउँछिन् । कुनै अभिभावक नभएको कारण, जीवन लापरवाह र अराजक हुन्छ । जब सामाजले बैठक बोलाउँछन्, लौराले आफ्नी आमाको नक्कल गर्न कसैलाई खोज्नुपर्ने हुन्छ, नत्र बहिनीहरूलाई बालगृहमा लगिने छ । उनी यो धम्कीलाई गोप्य राख्छिन्, ताकि आफ्ना साना बहिनीले चिन्ता नगरुन् । यसमा उनी असफल हुन्छिन् र तीन बहिनीहरूलाई पूर्ण स्वतन्त्रतामा होइन बालगृहमा हुर्किने कठोर निर्णय हुन्छ । मान्छेको भावनालाई यो हदसम्म भिज्योल न्यारेट गर्न सकिन्छ भन्ने कुरा यो फिल्म हेर्दा महसुस गर्न सकिन्छ । 

यस फिल्मको भावनात्मक प्रस्तुति हेरेर मै हुँ भन्ने कठोर मान्छेलाई पनि सोच्न बाध्य पार्छ । मान्छेको भावनाको यति सूक्ष्म तहमा पुगेर सोच्न सकिन्छ र ? भावनाको यो तहको सूक्ष्म अनुभूतिलाई यसरी देखाउन सकिन्छ र ? भन्ने तहको प्रस्तुति छ यसमा । यो फिल्म हेरेपछि मलाई लाग्यो, फिल्म सम्पादकका लागि धैर्यता एक प्रमुख विशेषता हो । धैर्य भनेको पर्खने क्षमता होइन । तथ्यलाई गहिरिएर बुझ्ने र त्यसको माध्यमबाट अघि बढ्ने तरिका हो । 

फिल्म मेकरले देखेको सपना, उसको बुझाइ र भावना यति गहन हुन्छ, त्यसलाई तेस्रो व्यक्ति अर्थात् दुनियाँलाई अनुभूतिका साथ निचोडात्मक बुझाइमा लैजान सक्नु चानचुने कुरा होइन । फिल्म धैर्यता र सूक्ष्म बुझाइपछिको प्रस्फुटन हो । स्क्रिन राइटर, निर्देशक, कलाकार, सम्पादक, सिनेमेटोग्राफर लगायत सम्पूर्ण टिमको इमानदार अभिव्यक्ति हो फिल्म । फिल्म इज अबाउट इनोसेन्ट एक्सप्रेसन ।

१५ दिन चल्ने फेस्टिभलमा दिन बित्दै जाँदा पङ्क्तिकारका धेरै हाइ हेल्लो गर्ने अनुहार बनिसकेका थिए । हरेक गतिविधिमा अभ्यस्त हुँदै थिएँ । नेटवर्किङ प्रोग्राम भनेर सधैँ जमघटको कार्यक्रम आयोजना हुन्थ्यो र त्यसमा प्राय फिल्म मेकरहरूसँग गफ गर्ने मौका मिल्थ्यो । युरोपियन र अमेरिकन डेलिगेट्स हामीभन्दा अलि फरवाड थिए । फ्रान्सेली निर्देशक लिना सौलेम, फिल्म निर्माता अनि अभिनेत्री रहेछिन् । उनको अरबी डकुमेन्ट्री ‘बाइबाई टिबेरियास’ ले उत्कृष्ट डकुमेन्ट्री अवार्ड पायो । डकुमेन्ट्रीले हियाम अब्बास भन्ने मुख्य पात्रलाई पछ्याउँछ । जसले आफ्नो आमा, हजुरआमा र बहिनीहरूलाई छोडेर अभिनेत्री बन्ने सपना पूरा गर्न आफ्नो गाउँ छोड्छिन् । आफ्नी आमाको खोजी गर्न अब्बास आफ्नी छोरी सौलेमसँग आफ्नो गाउँबाट निस्किन्छन् । यो प्यालेस्टाइन, बेल्जियम, फ्रान्स र कतारमा खिचिएको डकुमेन्ट्री हो ।

नाइजेरियामा, समलैङ्गिकतालाई १४ वर्षको जेल सजाय दिइन्छ भने केही राज्यमा ढुङ्गाले हानेर मृत्युदण्ड दिइन्छ । स्वतन्त्रतामा बाँच्न र प्रेम गर्न चाहनेहरूले देश छोडेर भाग्छन् । फिल्म निर्देशक सिमिसोलाओलुवा अकांडेले पाँच नाइजेरियनको जीवन सङ्घर्ष र अस्तित्व फिल्ममा राम्रो गरी चित्रण गरेका छन् । पछाडिबाट खिचिएका शरीर, परम्परागत मुखौटा लगाएका नर्तकहरू, छायामा देखाइएका पल्टहरू धेरै उत्कृष्ट छन् । तिनीहरू आफ्नो आप्रवासनमा जीवन बिताउन सक्षम भएकोमा खुसी छन् तर आफ्ना आमाबुबा र अन्य आफन्तदेखि धेरै टाढा हुनुको पीडा देखाउँछन् । यो नाइजेरियाको सबैभन्दा ठुलो जातीय समूहको पीडा हो भन्ने देखाउँछ । यसले सर्ट फिल्म समूह अन्तर्गत उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ ।

अनलाइन लिङ्क एक्सिस गर्दा फिल्म तीन– तीन स्लटमा थियो । किन होला भन्ने लागेको थियो, फेस्टिभलमा पुगेपछि थाहा भयो, त्यही स्लट अनुसार फिल्म स्क्रिनिङ गरिने रहेछ । सबै फिल्म अनलाइन एक्सिसमा हेर्न पठाउनुको कारण छलफलका लागि तयारी गरेर आउन भन्ने रहेछ । किनकि फिल्म त्यहाँ पनि सबै स्क्रिनिङ गरिएको थियो । फिल्म प्रोफेसनल र सर्वसाधारणका लागि स्क्रिनिङ छुट्टाछुट्टै हलमा हुन्थ्यो । सबै छलफल र प्रस्न उत्तर सत्र फिल्म प्रोफेसनलहरूको हलमा हुन्थ्यो । 

एक साँझ युके एसिया फिल्म इस्टिच्युटले साउथ एसिया फोरम कार्यक्रम आयोजना गरेको थियो । युके एसिया फिल्म इस्टिच्युटका सबै टिम नै सहभागी थिए । त्यहाँ भारत, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्सका फिल्म प्रोफेसनलहरू थिए । नेपालबाट पङ्क्तिकार मात्र उपस्थित थियो । उनीहरू नेपालबाट म एक्लो प्रतिनिधि देखेर छक्क परे । 

हुन पनि म नेपाली चलचित्र क्षेत्रबाट इन्डस्ट्री प्रतिनिधिको रूपमा छानिएर विश्वको ठुला फेस्टिभलमध्येको एक बिएफआई लन्डन फिल्म फेस्टिभलमा थिएँ । त्यहाँ पुगेर त्यो माहोलमा भिज्दै गर्दा मलाई लाग्यो हामी हाम्रो स्थानीय समाजको सोच भन्दा बाहिर निस्कनै सकेका रहेनछौँ । यहीँ अलमलिरहेका छौँ । यहीँका छिनाझम्टीमा अड्किरहेका छौँ । हामी कसैले राम्रो फिल्म बनाइदेला वा कसैको फिल्म फेस्टिभलमा जाला र म पनि जान पाउँला भनी कुरी बस्छौँ । आफूले पहलकदमी केही लिँदैनौँ । किनकि यस्ता प्यालेटफर्म भनेको सिक्ने र सिकाउने ठाउँ पनि हो । फरक यति हो, सहभागी भएर आफूले कति ग्रहण गर्न सकिन्छ, सिक्न सकिन्छ र त्यसलाई आफ्नो व्यावसायिक जीवनमा कत्तिको लागु गर्न सकिन्छ भन्ने मुख्य कुरा हो । निर्देशकले मात्र फिल्म बुझेर फिल्म राम्रो बन्दैन । अरूले पनि फिल्मको न्यारेसन र मेकिङ बुझ्नै पर्छ । चाहे त्यो कलाकार, सम्पादक, क्यामेराम्यान, स्क्रिन राइटर या सङ्गीत संयोजक किन नहुन । सबैले बुझे मात्र फिल्म राम्रो बन्छ ।  

Author

भरत रेग्मी