- देवकोटालाई महाकवि भन्ने पहिलो विदेशी भारतका महापण्डित राहुल सांकृत्यायन थिए ।
- जहाँ नेपाली भाषा र साहित्यले विश्व विस्तार पाइरहेको छ, त्यहीँ महाकवि देवकोटाको सम्मानमा पनि वृद्धि भइरहेको छ ।
- रौतहटसित देवकोटाको साहित्यिक र पारिवारिक दुवै किसिमको प्रत्यक्ष सम्बन्ध छ ।
नेपाली साहित्यका शिखर पुरुष हुन् लक्ष्मीप्रसाद देवकोटा । उनी आशुकवि थिए । जतिखेर पनि कवितामा कुराकानी गर्न सक्ने सामथ्र्य थियो । कवितामा युगको दर्शन गराउन सक्ने देवकोटालाई पहिले युगकवि पनि भनिएको थियो । २०१० सालको हाराहारीमा देवकोटालाई सम्बोधन गरेर लेखिने युगकवि सिद्धिचरण श्रेष्ठमा सारिएको थियो । यद्यपि २००४ सालमा बनारसबाट प्रकाशित हुने उदय पत्रिकामा ईश्वर बरालले पहिलो पटक देवकोटालाई महाकवि भनी सम्बोधन गरेका थिए । बिस्तारै युगकवि पातलिँदै गएर देवकोटालाई महाकवि सम्मान बढ्दै गएको पाइन्छ । वर्तमानमा देवकोटाका निम्ति महाकवि उपाधि नै स्थापित उपनाम हुन गएको छ । देवकोटालाई महाकवि भन्ने पहिलो विदेशी भारतका महापण्डित राहुल सांकृत्यायन थिए । तिनै भारतीय महापण्डित सांकृत्यायनले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठुलो मानव अवतारका रूपमा आफूले लिएको बताएका थिए भने भारतका जल्दाबल्दा तीन कवि प्रसाद, पन्त, निराला (जयशङ्र प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला) बराबर एक व्यक्तित्व बताएका थिए । विशिष्ट समालोचक ईश्वर बराल र विशिष्ट विदेशी साहित्यकार सांकृत्यायनले देवकोटालाई महाकवि भनेपछि विश्वले नै स्वीकार गरेको पाइन्छ ।
जहाँ नेपाली भाषा र साहित्यले विश्व विस्तार पाइरहेको छ, त्यहीँ महाकवि देवकोटाको सम्मानमा पनि वृद्धि भइरहेको छ । विश्वभरका नेपाली जाति र नेपाली भाषीका साथै नेपाली साहित्यमा रुचि लिनेहरूले देवकोटासित सामीप्य खोजिरहेका छन् । अनेक किसिमले साइनो गाँस्ने काम गरिरहेका छन् । देवकोटाको विषयमा खोज र अनुसन्धान पनि भइरहेका छन् । देवकोटाका बारेमा अन्वेषण तथा अनुसन्धान गर्नेहरूका लागि उनको सम्बन्ध रौतहटसित गहिरो छ । रौतहटसित देवकोटाको साहित्यिक र पारिवारिक दुवै किसिमको प्रत्यक्ष सम्बन्ध छ । दुवै सम्बन्धका कारण देवकोटा रौतहटसित निकट थिए । महाकवि देवकोटाको आगमन रौतहटमा निकै पटक भएको पाइन्छ । देवकोटाले रौतहटमा निकै समय व्यतीत गरेको पनि पाइन्छ । एक पटक रौतहट आएर देवकोटा महिनौँसम्म बसेको पनि पाइएको छ ।
विसं २०१० चैत १० मा रौतहट सदरमुकाम गौर बजारमा साहित्यिक–सांस्कृतिक समारोहको आयोजन गरिएको थियो । २००४ सालमा स्थापित शारदा पुस्तकालय (जसको नाम परिवर्तन भएर २०१४ सालमा कलाकुञ्ज पुस्तकालय भयो) ले आयोजना गरेको साहित्यिक–सांस्कृतिक कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त नेपाली तथा हिन्दी साहित्यकारको जमघट भएको थियो । उक्त कार्यक्रममा नेपाली साहित्यमा ख्यातिप्राप्त लक्ष्मीप्रसाद देवकोटा र श्यामप्रसाद शर्माको पनि सहभागिता रहेको थियो । देवकोटालाई श्यामप्रसाद शर्माले अमलेखगन्जबाट रौतहट सदरमुकाम गौर पु¥याएका थिए । शर्मा, रौतहटको महम्मदपुरमा भएको नेपालको पहिलो किसान सम्मेलनमा मकवानपुरको किसान प्रतिनिधिका रूपमा सहभागी भइसकेका थिए । त्यति बेला मनमोहन अधिकारीका भाइ जनकमोहन अधिकारी सम्भवतः गौर माल अड्डाका हाकिम थिए । कथाकार गुरुप्रसाद मैनाली पनि सम्भवतः गौरमै थिए । भारतीय कवि रामदेव द्विवेदी ‘अलमस्त’ को नेतृत्वमा भारतीय साहित्यकारको सहभागिता थियो । अन्तर्राष्ट्रिय वा दुई देशीय साहित्यिक–सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण देवकोटा नै थिए । कार्यक्रम सुरु हुनुअघि त्यहाँ भेला भएका केही युवकले देवकोटासित प्रश्न सोध्न चाहन्थे । ‘परोपकार’ पत्रिकामा छापिएको देवकोटाको कविताबारे युवाले जिज्ञासा राखेका थिए । कार्यक्रम सम्पन्न भएपछि देवकोटालाई बैरगनियाबाट रेलमार्ग हुँदै रक्सौल अनि वीरगन्ज पु¥याउने काम पनि साहित्यकार शर्माले गरेका थिए । त्यतिबेला पूर्व पश्चिम राजमार्ग बनिसकेको थिएन ।
देवकोटासित रौतहटको सम्धीको साइनो छ । देवकोटाका पाँच छोरीमध्ये जेठी छोरीको विवाह भैरवनाथ रेग्मीका जेठो छोरा कल्याणनाथ रेग्मीसित भएको थियो । भैरवनाथ रेग्मी गौरमा अड्डाका कर्मचारी थिए । रेग्मीको मुख्य बसाइँ रौतहटको महम्मदपुरमा हुन्थ्यो । भैरवनाथ रेग्मीका छ भाइ छोरा थिए कल्याणनाथ रेग्मी, नित्यनाथ रेग्मी, लोकनाथ रेग्मी, प्रमोदनाथ रेग्मी, रवीन्द्रनाथ रेग्मी र आनन्दनाथ रेग्मी । त्यति बेलासम्म सबै दाजुभाइ सगोलमै थिए । सम्धी र छोरीलाई भेट्न देवकोटा महम्मदपुर पुगिरहन्थे । कहिलेकाहीँ लामो समयसम्म महम्मदपुरमै बस्थे देवकोटा । २०११ सालतिर देवकोटा लगातार ५१ दिनसम्म महम्मदपुरमा बसेको आफन्तको भनाइ छ । सम्भवतः जाडो छल्न वा अन्य कारणले देवकोटाको बसाइँ लामो हुन गएको होला । महम्मदपुरमा देवकोटाकी कान्छी छोरी पनि केही समय बसेकी हुन् भन्ने दाबी रेग्मी परिवारको रहेको छ ।
महम्मदपुरमा रहेको घडेरी तथा अन्य जग्गाजमिन कालान्तरमा लोकनाथ रेग्मीको भागमा पर्न गएको थियो । लोकनाथलाई स्थानीयवासी मोहनबाबु भनेर अहिले पनि सम्झन्छन् । सबै जग्गाजमिन बिक्री भइसकेको भए पनि जहाँ देवकोटा लामो समय वा पटक पटक बसेका थिए, त्यो घडेरी अहिले पनि सुरक्षित छ । अहिले खाली छ र संरक्षण गर्ने सोचाइ रेग्मी परिवारको छ । सम्भवतः पुरानै स्वरूपको घर बनाउँदा देवकोटाको स्मृति झल्किने गरी संरक्षण गर्न पाए हुन्थ्यो भन्ने सोचाइमा रेग्मी परिवारभित्र देवकोटाको जीवनी र महम्मदपुरसित सम्बन्धित अनेकौँ स्मृति अहिले पनि सुरक्षित छ ।
नेपाली साहित्यकाशका सर्वाधिक चर्चित व्यक्तित्व देवकोटासितको बहुआयामिक साइनोलाई रौतहटले अझ विस्तार गर्दै लगेको छ । समग्रमा महम्मदपुर बसेर यहाँको गाउँटोल घुमेका र पर्यावरणसित मितेरी गाँसेका ‘महम्मदपुरका सम्धी’ महाकवि देवकोटाको रौतहटसित साहित्यिक, भौतिक, हार्दिक आत्मीय साइनो रहेको देखिन्छ । देवकोटाको रौतहट बसाइँ र उनले सिर्जेका रचनाबारे पनि अध्ययन अनुसन्धान हुुनु आवश्यक छ । देवकोटाको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन !