• २७ कात्तिक २०८२, बिहिबार

चुनावी हिंसाले गाँजेको साख

blog

  • चुनाव जित्नु मात्र ठुलो कुरा होइन, जनताको मन जित्न सक्नु ठुलो कुरा हो ।
  • क्यामरुन सन् १९६०–६१ मा फ्रान्स र बेलायतबाट स्वतन्त्र भएको हो । 
  • सन् १९७८ मा युगान्डासित सीमा विवाद भयो । युगान्डाले तान्जानियाको केही भूभाग कब्जा गर्‍यो ।
  • एकदलीय व्यवस्था सफल नभएपछि सन् १९९२ मा तान्जानियामा संविधान संशोधन गरी बहुदलीय व्यवस्था स्थापना गरियो ।

क्यामरुन मध्य अफ्रिकाको गरिब मुलुक हो । भ्रष्टाचार र कुशासनले नै यो मुलुकलाई गरिब बनाएको छ । साक्षरता दर केही राम्रो भए पनि राष्ट्रका अरू सबै परिसूचक कमजोर यो मुलुक कुशासनको दुष्चक्रमा फसेको छ । ९२ वर्षका वृद्ध राष्ट्रपति पल बिया पुनः आठौँ कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनुभएको छ । उहाँले विगत ४३ वर्षदेखि एकलौटी सत्ता चलाउँदै आउनुभएको छ । बिया अब थप सात वर्षसम्म देशको प्रमुख रहनुहुने छ । त्यति बेला उहाँ ९९ सय वर्षको हुनुहुने छ । उहाँ यति लामो शासन चलाउँदा पनि थाक्नुभएको छैन । सत्ता हस्तान्तरण र पुस्तान्तरणबारे केही सोच्नु भएको छैन । राजनीतिबाट विश्राम लिने उहाँको चाहना छैन । आफूले देश र जनताका लागि राम्रो काम गरेको दाबी गर्ने उहाँप्रति वितृष्णा भने बढ्दै छ । चुनाव जित्नु मात्र ठुलो कुरा होइन, जनताको मन जित्न सक्नु ठुलो कुरा हो । चुनाव जिते पनि उहाँले जनताको मन जित्न सक्नुभएन । जसले गर्दा यस पटक चुनावी हिंसा भयो । निर्वाचनका सन्दर्भमा उहाँविरुद्ध चर्का नाराबाजी भयो । जनताको असन्तृष्टि सडकमा पोखियो । उहाँले राज्यसत्ताको दुरुपयोग गरी विरोधको आवाजलाई दबाउनुभयो । एकलौटी चुनाव जितेको घोषणा गराउनुभयो । चुनावमा भएको हिंसात्मक प्रदर्शनमा ४८ जना मारिए भने सयौँ घाइते भए । एक हजारभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । 

आफ्नो शपथग्रहण सम्बोधनमा विश्वकै सबैभन्दा वृद्ध राष्ट्रपति बियाले विरोध प्रदर्शनका क्रममा मारिएका पीडितलाई श्रद्धाञ्जलि अर्पण गर्दै अशान्तिका लागि गैरजिम्मेवार राजनीतिज्ञलाई दोष दिनुभयो । उहाँले भन्नुभयो, “म तपाईंहरूलाई के आश्वासन दिन सक्छु भने सुव्यवस्था कायम हुने छ ।” उहाँले देशलाई सङ्कटमा धकेल्नु व्यर्थ हुने दाबी गर्नुभयो । गत महिना भएको राष्ट्रपति निर्वाचनका क्रममा उठेका धाँधलीका आरोप अस्वीकार गर्दै राष्ट्रपति बियाले निर्वाचन प्रक्रियालाई सन्तोषजनक र निष्पक्ष भएको जिकिर गर्नुभयो । 

क्यामरुनमा निर्वाचनको समयमा ठुलो विरोध प्रदर्शन भएको थियो । प्रदर्शनमा सरकारी दमन हुँदा ४८ जनाको ज्यान जानुका साथै एक हजार दुई सयभन्दा बढी व्यक्ति पक्राउ परे । अक्टोबर १२ मा सम्पन्न निर्वाचनमा बियाले ५३.७ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी इसा चिरोमा बकरीले ३५.२ प्रतिशत मत ल्याउनुभयो । बकरीले आफू नै चुनावको वास्तविक विजेता भएको अडान लिँदै आउनुभएको छ । उहाँले निर्वाचन अधिकारीलाई धाँधलीको आरोप लगाउनुभएको छ । यो आरोपलाई सरकारले अस्वीकार गर्दै आएको छ । बकरीले पहिले बियाका सहयोगीका रूपमा काम गर्नुभयो । उहाँ बियाको सरकारमा मन्त्रीसमेत बन्नुभयो । यद्यपि यस पटक विपक्षीका रूपमा उभिएका बकरीले अप्रत्याशित रूपमा युवालाई आन्दोलित र परिवर्तनका लागि उत्साहित पार्नुभयो तर बियाकासामु केही लागेन । 

क्यामरुन सन् १९६०–६१ मा फ्रान्स र बेलायतबाट स्वतन्त्र भएको हो । विभाजित यो राष्ट्र अहमाडुयु अहिद्जाको नेतृत्वमा स्वतन्त्र भएसँगै उहाँले करिब २२ वर्ष शासन चलाउनुभयो । उहाँको शासनकालमा बिया प्रधानमन्त्री बन्नुभयो । अन्त्यमा अहिद्जालाई सत्ताच्युत गरी सन् १९८२ देखि बियाले सत्ता हातमा लिनुभयो । बियाको पार्टी पिपुल्स डेमोक्रेटिक मुभमेन्ट (आरडिपिसी) ले लगातार संसदीय निर्वाचन जित्दै आएको छ । सत्ताको बागडोर आफ्नो हातमा आएपछि बियाले संविधान संशोधन गरी सत्तालाई निरन्तरता दिनुभएको छ । उहाँले जसरी पनि चुनाव जित्दै आउनुभएको छ । राज्यशक्तिको चरम दुरुपयोग गरेका बियाकै कारण आज यो मुलुक हरेक हिसाबले पछि परेको छ । 

भौगोलिक र सांस्कृतिक विविधता भएको तीन करोड जनसङ्ख्या रहेको क्यामरुनको क्षेत्रफल ४,७५,४४२ वर्ग किमी छ । राजधानी याओअन्डे रहेको यो मुलुकको औसत आयु पुरुषको ५९ वर्ष र महिलाको ६३ वर्ष मात्र छ । गरिबी र बेरोजगारी समस्या बढ्दो छ । छिमेकी नाइजेरियामा तहल्का मच्चाइरहेको इस्लामिक विद्रोही समूह बोको हरामको हिंसात्मक गतिविधिबाट प्रताडित क्यामरुनमा शान्ति, सुव्यवस्था र एकता कायम गराउने चुनौती थपिएको छ । जनतामा फैलिएको असन्तोष र चुनावी हिंसाले नेतृत्वप्रति बढेको वितृष्णालाई न्यूनीकरण गर्न नसक्ने हो भने वृद्ध राष्ट्रपतिका लागि यो कार्यकाल प्रत्युत्पादक बन्ने खतरा देखिएको छ । 

तान्जानियामा पनि चुनावी हिंसा 

पूर्वी अफ्रिकी मुलुक तान्जानियामा पनि गत साता भएको चुनावी हिंसामा सात सय जनाभन्दा बढीको ज्यान गएको छ । राष्ट्रपतिको निर्वाचनपछि एकाएक हिंसा भड्किएको हो । निर्वाचनपछि हिंसा भड्किँदा तीन दिनको अवधिमा सो घटना भयो । प्रदर्शनमा ठुलो सङ्ख्यामा युवा सहभागी देखिए । निर्वाचन निष्पक्ष हुन नसकेको भन्दै उनीहरूले प्रदर्शन गरे । विपक्षीमध्ये एक जना नेता जेलमा छन् भने अर्का पार्टीका नेतालाई प्राविधिक कारण देखाएर निर्वाचनमा सहभागी हुन बन्देज लगाइएको थियो । राष्ट्रपति समिया सुलुहु हसनका मुख्य राजनीतिक प्रतिद्वन्द्वीलाई जेल हालिएको वा उम्मेदवारीबाट वञ्चित गरिएको भन्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । विपक्षीलाई भाग लिन नै नदिएर हसनले चुनाव जित्नुभयो । यसले उहाँको छवि राम्रो बनाएन । राष्ट्रपतिले धाँधली गरेर चुनाव जितेको विपक्षी आरोपलाई खण्डन गर्ने भरपर्दो आधार देखिएको छैन । विपक्षी दल चाडेमालाई चुनाव कोडमा हस्ताक्षर नगरेको भन्दै उम्मेदवारलाई अयोग्य ठहराइएको थियो ।

सङ्घर्षशील हसन मुलुकको पहिलो महिला राष्ट्रपति बनेपछि मुलुकले नयाँ गति लिने अपेक्षा गरिएको थियो । उहाँले मुलुकको पहिलो राष्ट्रपति बन्ने सौभाग्य पाउनुभयो । त्यहाँका तत्कालीन राष्ट्रपति जोन मगुफुलीको निधन भएपछि उपराष्ट्रपति हसन राष्ट्रपति बन्नु भएको थियो । हसनले राष्ट्रपति पदको शपथ लिदा इमानदार भएर तान्जानियाको संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तान्जानियाको संविधान अनुसार उहाँले मगुफुलीको दोस्रो चरणको बाँकी अवधि सन् २०२५ सम्म काम गर्नुभयो । तान्जनियाको संविधान अनुसार राष्ट्रपतिको कार्यकाल पाँचबर्से छ ।

पूर्वराष्ट्रपति मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित हुनुभयो । सन् २०२० मा दोस्रो कार्यकालका लागि पनि उहाँ नै निर्वाचित हुनुभयो । हसन पनि सन् २०१५ मा उपराष्ट्रपति बन्नुभयो । मगुफुलीको विश्वासपात्रका रूपमा काम गरेकाले सन् २०२० पनि दोस्रो कार्यकालका लागि उहाँ उपराष्ट्रपति बन्नुभयो । मगुफुलीको असमायिक निधनले उहाँमाथि राष्ट्रपतिको जिम्मेवारी आयो । उहाँले सबै राजनीतिक दलहरूलाई मिलाएर राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित र उन्नतिका लागि काम गर्नुपर्ने थियो । मुलुकको समग्र विकासका लागि लगानीको वातावरण बनाउन आवश्यक थियो । यो चार वर्षको अवधिमा अपेक्षित काम भएनन् । उहाँको लोकप्रियता बढेन । तैपनि यस पटक उहाँले विपक्षीबिनाको चुनाव जित्नुभयो । यसले उहाँको गरिमा बढाएन । चुनावी हिंसा र असन्तोष रोकिएन । धाँधली गरेर चुनाव जित्नुपर्ने अवस्था आउनु राम्रो होइन । हसनको पृष्ठभूमि नराम्रो थिएन । 

जन्जिबारस्थित सामान्य मुस्लिम समुदायमा सन् १९६० जनबरी २७ मा हसनको जन्म भएको थियो । उहाँका बाबु शिक्षक हुनुहुन्थ्यो भने आमा गृहिणी । हसन सानैदेखि लगनशील र मेहनती हुनुहुथ्यो । त्यही कडा मेहनेत, कडा परिश्रम साथै इमानदारीपूर्वक काम गरेकै कारण मुलुकको सर्वोच्च पदमा पुग्न उहाँ सफल हुनुभयो । जन्जिबारमा प्रारम्भिक र स्नातक तहको शिक्षा त्यसपछि स्वदेश तथा विदेशबाट उच्चशिक्षा हासिल गर्नुभएकी हसनले सहायकस्तरको कर्मचारीबाट सार्वजनिक जीवन सुरु गर्नुभयो । काम र पढाइ सँगसँगै अगाडि बढाउनुभएकी उहाँ प्रान्तीय सरकारको मन्त्री, सांसद हुँदै केन्द्रीय सरकारमा पुग्नुभयो । उहाँ विभिन्न मन्त्रालयको जिम्मेवारी समाल्दै उपराष्ट्रपति बन्नुभयो । राष्ट्रपति मगुफुलीको असमायिक निधनले उहाँको काँधमा राष्ट्रपतिको जिम्मेवारी आयो । 

९,४५,०८७ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो मुलुकको जनसङ्ख्या साढे पाँच करोडभन्दा बढी छ । धेरै जनसङ्ख्यामा गरिबी छ । यहाँको मुख्य भाषा अङ्ग्रेजी र स्वाहिली हो । मुख्य धर्म इसाई र मुस्लिम रहेको तान्जानियामा पुरुषको औसत आयु ६३ वर्ष र महिलाको ६७ वर्ष छ । गरिबी र बेरोजगारी प्रमुख समस्या हो । लामो समयसम्म विभिन्न देशले उपनिवेश बनाएको यो मुलुक सक्षम राजनीतिक नेतृत्वको अभावले गर्दा पछि पर्‍यो । विकासका लागि राष्ट्रिय सहमति बन्न सकेन । अस्थिर राजनीति र अपरिपक्व राजनीतिक दलहरूकै कारण अर्थतन्त्रले गति लिएन । विदेशीले उपनिवेश बनाई आफ्नो स्वार्थ पूरा गरे अनि गरिब बनाएर छाडे । यो मुलुक सन् १४९८ देखि १६९९ सम्म पोर्चुगलको अधीनमा रह्यो । सन् १६९९ देखि १८८४ सम्म ओमानी अरबको नियन्त्रणमा गयो । त्यसपछि जर्मनीले नियन्त्रण कायम गर्‍यो । सन् १९१६ मा बेलायत, बेल्जियम र दक्षिणी अफ्रिकी सेनाले आव्रmमण गरेको तीन वर्षपछि बेलायतको अधीनका गयो । सन् १९६१ मा तान्जानियाको एउटा भूभाग तान्जानिका स्वतन्त्र भयो । त्यसको दुई वर्षपछि सन् १९६३ मा अर्को भूभाग जन्जिबारलाई स्वतन्त्र बनाइयो । तान्जानिका र जन्जिबारलाई मिलाएर सन् १९६४ मा तान्जानिया एउटा सग्लो राष्ट्रका रूपमा उदय भयो । 

तान्जानियालाई स्वतन्त्र बनाउने आन्दोलनको नेतृत्व गर्नुभएका नेता जुलियस निरेरे मुलुकको पहिलो राष्ट्रपति बन्नुभयो । उहाँले विभिन्न पार्टी मिलाएर पार्टी अफ रेभुलुसन नामको एउटा पार्टी बनाउनुभयो । सन् १९६७ मा एक आदेश जारी गरी सोही पार्टीका नाममा एक दलीय शासनसहित समाजवादी आर्थिक नीतिको अभ्यास सुरु गर्नुभयो । यो राजनीतिक अभ्यासले अपेक्षित सफलता पाएन । मुलुकको आर्थिक अवस्थामा सुधार भएन । गरिबी र बेरोजगारी घटेन । 

सन् १९७८ मा युगान्डासित सीमा विवाद भयो । युगान्डाले तान्जानियाको केही भूभाग कब्जा गर्‍यो । त्यसको एक वर्षपछि सन् १९७९ मा तान्जानियाको सेनाले युगान्डामाथि आक्रमण गर्‍यो । राजधानी कम्पाला कब्जा गरी त्यहाँका कुख्यात राष्ट्रपति इदी अमिनलाई सत्ताच्युत गर्‍यो । तान्जानियाले गरेको राम्रो काम थियो यो । जसले युगान्डाली जनतालाई कुख्यात इदी अमिनबाट मुक्ति दिलायो । 

एकदलीय व्यवस्था सफल नभएपछि सन् १९९२ मा तान्जानियामा संविधान संशोधन गरी बहुदलीय व्यवस्था स्थापना गरियो । दलबिच बहुदलीय राजनीतिक प्रतिस्पर्धा सुरु भयो । मुलुकले केही आर्थिक गति लिन थालेकै बेला सन् १९९८ मा दारेसलामस्थित अमेरिकी दूतावासमा अलकायदाले बम आक्रमण गरी जनधनको ठुलो क्षति पुर्‍यायो । त्यसपछि त्यहाँको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्यो । अर्थतन्त्र पुनः कमजोर भयो । 

सन् २०१५ मा एमसिसी पार्टीका नेता मगुफुली भ्रष्टाचारीलाई कारबाही गरी सुशासन र विकास गर्ने नारा दिएर सत्तामा आउनुभयो । आफ्नो पहिलो कार्यकालमा केही सुधारका प्रयास गर्नुभयो । जनताले उहाँलाई दोस्रो कार्यकालका लागि पनि अनुमोदन गरे । उहाँको आकस्मिक निधन भयो । उहाँको निधनपछि राष्ट्रपति बन्नुभएकी उपराष्ट्रपति हसनका चार वर्ष खास उपलब्धिमूलक बनेन । यस पटक विवादका बिच राष्ट्रपति चुनाव त जित्नुभयो तर असन्तुष्ट विपक्षी र जनताको मन जित्न निकै मेहनत गर्नुपर्ने भएको छ ।  

  

Author
रामप्रसाद आचार्य

उहाँ गोरखापत्र दैनिकको प्रबन्धसम्पादक हुनुहुन्छ ।