गाेरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक २७ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति–सुरक्षा अवस्था सामान्य अवस्थामा फर्किएको र आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारले सम्पूर्ण तयारी अगाडि बढाएको बताउनुभएकाे छ ।
राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा गृह मन्त्रालयका तर्फबाट प्रस्तुत प्रतिवेदनमा उहाँले भदाै २३ र २४ गते जेन्जी पुस्ताबाट भएको प्रदर्शनपश्चात् देश विषम परिस्थितिमा पुगेको स्मरण गर्दै छोटो अवधिमा स्थिति नियन्त्रणमा ल्याउन गृह मन्त्रालय र सुरक्षा निकायले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयाे ।
“विषम अवस्थाबाट सामान्यतर्फ देश फर्कियो”
गृहमन्त्री अर्यालका अनुसार प्रदर्शनपछि देशमा असुरक्षा र अनिश्चितताको वातावरण थियो। निर्वाचित प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकारलाई शान्ति–सुरक्षा पुनःस्थापना गर्दै निर्वाचन तयारीको दोहोरो दायित्व बहन गर्नुपरेको छ।
उहाँले भन्नुभयाे, “सरकार सम्हाल्दा देश अन्योलमा थियो। फेरि पनि त्यस्तै रक्तपातपूर्ण अवस्था नआओस् भन्ने दिशामा हामी केन्द्रित भयौं। अहिले देश शान्त र सामान्य अवस्थामा फर्किएको छ।”
क्षतिग्रस्त संरचना पुनः सञ्चालन
गृह मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा क्षतिग्रस्त नेपाल प्रहरीका ४६५ युनिटमध्ये ४४८ युनिट सञ्चालनमा फर्किसकेका छन्।
त्यस्तै, १० जिल्ला प्रशासन कार्यालय र ४ इलाका प्रशासन कार्यालयको सेवा पनि पुनः सञ्चालन गरिएको छ।
सुरक्षा निकायका पूर्वाधार पुनःनिर्माणसँगै सुरक्षाकर्मीको मनोबल उच्च भएको मन्त्रालयको दाबी छ।
घाइते र मृतक परिवारका लागि राहत
प्रदर्शनका क्रममा मृत्यु भएका ३ जना प्रहरी र ४२ जना जेनजी सुशासन योद्धा गरी कुल ४५ जनालाई शहीद घोषणा गरिएको छ। मृतकका परिवारलाई सरकारले १५ लाख रुपियाँ राहत उपलब्ध गराएको छ।
घाइतेहरूको पहिचान र उपचारका लागि गृह मन्त्रालयमा समन्वय समिति गठन गरी नि:शुल्क उपचार, तत्काल भैपरी खर्च, पुनः जाँचका लागि नि:शुल्क एम्बुलेन्स उपलब्ध गराइएको छ।
घाइतेहरूको वर्गीकरणको काम अन्तिम चरणमा पुगेको र उपचार समन्वयका लागि सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको छ।
७१८ थान हतियार फिर्ता
भदाै २३ र २४ को घटनामा लुटिएका वा हराएका सुरक्षाकर्मीका ७१८ थान हतियार फिर्ता ल्याइसकिएको छ भने बाँकी हतियार फिर्ता ल्याउन संयुक्त अपरेसन सञ्चालन भइरहेको छ।
त्यस्तै, आपराधिक कार्यमा संलग्न ४२९ जनालाई पक्राउ गरी १६८ मुद्दा दर्ता गरिएको छ।
भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिनका लागि न्यायिक छानबिन आयोग गठन गरी प्रतिवेदन तयार पार्ने कार्य अगाडि बढाइएको छ।
फरार कैदी खोजी तीव्र
घटनाका क्रममा देशका विभिन्न कारागारबाट १४ हजार ५५४ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये ९ हजार ५४१ जना फिर्ता ल्याइसकिएका छन् भने बाँकी ५ हजार १३ जना खोजी कार्यमा छन्।
फरार कैदीहरूको सूची सार्वजनिक गरिएको र उनीहरूले सरकारी सेवा वा सुविधा लिन नपाउने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ।
फरार खोजीका लागि सबै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोजतलासलाई तीव्र बनाइएको छ। साथै, सुरक्षा निकायमार्फत विशेष अपरेसन पनि सञ्चालनमा छ।
निष्पक्ष निर्वाचनका लागि तयारी तीव्र
गृहमन्त्री अर्यालले सरकार आगामी फागुन २१ गते हुने निर्वाचनलाई आफ्नो प्राथमिक जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै आवश्यक कानुनी, प्राविधिक र सुरक्षात्मक तयारी तीव्र रूपमा अगाडि बढाइएको बताउनुभयाे ।
उहाँका अनुसार, मतदाता नामावली ऐन २०७३ संशोधनपछि दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्। विदेशमा रहेका नेपालीलाई पनि मतदान अधिकार दिने सम्बन्धमा कानुनी गृहकार्य र सम्भाव्यता अध्ययन नीति अनुसन्धान प्रतिष्ठानमार्फत अगाडि बढाइएको छ।
निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सुरक्षा कार्यदल गठन भइसकेको र सो समितिले प्रतिवेदन पेस गरिसकेको उहाँले जानकारी दिनुभयाे। उक्त प्रतिवेदन केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने छ।
त्यस्तै, सबै सुरक्षा निकायको संयुक्त समन्वयमा संयुक्त गस्ती सञ्चालन, राजनीतिक दल तथा कूटनीतिक नियोगका प्रतिनिधिसँग परामर्श र छलफल गरिएको उहाँले जानकारी दिनुभयाे ।
जिल्ला सुरक्षा समितिहरूमार्फत मतदान केन्द्रहरूको जोखिम मूल्याङ्कन गरी क्षतिग्रस्त केन्द्रहरूको पुनर्निर्माण कार्य भइरहेको पनि जानकारी दिइयो।
असफल हुने छुट छैन
गृहमन्त्री अर्यालले छोटो अवधिमा सरकारलाई प्राप्त जिम्मेवारी चुनौतीपूर्ण भए पनि जनताको अपेक्षा पूरा गर्न सरकारले प्रतिबद्धता साथ काम गरिरहेको छ भन्नुभयाे ।
उहाँले भन्नुभयाे “हामीलाई असफल हुने छुट छैन। कानुनको परिधिभित्र रही जनताको आकांक्षा पूरा गर्न अधिकतम प्रयास गर्ने छौं। स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न हामी पूर्ण रूपमा तयार छौं।”
उहाँले सरकारको सफलताका लागि जनताको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सबै सरोकारवाला निकाय र नागरिकसँग सहकार्यको आह्वान गर्नुभयाे ।