• २७ कात्तिक २०८२, बिहिबार

इन्डुरो रेसमा आठ देशका ४५ खेलाडी

blog

इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा सहभागी खेलाडीहरु । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी 

लेखनाथ, कात्तिक २७ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–विजय डाँडामा तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । 

तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगितामा आठ देशका ४५ खेलाडी सहभागी छन् । पोखरा महानगरका प्रमुख धनराज आचार्यले प्रतियोगिता सुरुवात गर्नुभयो ।

उहाँले पोखरा अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र इभेन्टका कारण साहसिक खेलको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताउनुभयो । प्रतियोगितामा जर्मनी, सिंगापुर, अस्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपालका खेलाडी सहभागी छन् ।

ड्रागन बोट रेस, क्रस कन्ट्रीलगायत धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुँद खेलकुदको विकाससँगै पर्यटन प्रवर्धनमा सघाउ पुगेको उहाँको भनाइ छ ।

“विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्रयाकमा प्रतिस्पर्धा गर्न बढी नै रुचाउने गरेको देखियो,” उहाँले भन्नुभयो । 

प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माले जेनजी आन्दोलनका कारण सोचेभन्दा कम सहभागी भएको बताउनुभयो । पोखरा वडा १३ का वडाध्यक्ष किरण बरालले पोखरा इन्डुरो रेस यहाँकै ब्रान्डका रूपमा स्थापित भइसकेको तर्क गर्नुभयो । 

प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरी छ विधामा छ वटै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ । आर्वा–विजय डाँडामा आयोजक डन टिल डस्कले सन् २०२० देखि नै आवश्यक संरचना बनाइरहेको छ ।