• १६ वैशाख २०८१, आइतबार

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन

इन्धन युगलाई समाप्त गर्ने प्रण

blog

दुबई, मङ्सिर २९ गते । संयुक्त अरब इमिरेट्सको दुबईमा सञ्चालन भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २८) ले इन्धन युग समाप्त गर्ने प्रण गरेको छ ।

विश्व सम्मेलनले पहिलो पटक कार्वन उत्सर्जन गर्नमा सबै खालका जैविक ऊर्जाको योगदान रहेको कुरा स्वीकार पनि गरेको छ । यस अघि कोइलालाई मात्र कार्बन उत्सर्जन गर्ने इन्धनको स्रोतको रुपमा स्वीकार गरिएको थियो । यो सम्मेलनले सबै खालका जैविक ऊर्जालाई कार्बन उत्सर्जन गर्ने स्रोतको रुपमा स्वीकार गर्दै ती सबै खालका गतिविधिमा नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ ।

सम्मेलनद्वारा पारित निर्णयमा भनिएको छ, यो इन्धन युग पल्टाउने कामको सुरुवात हो । अब दिनबाट इन्धन युगलाई समाप्त गर्नका लागि विश्व समुदायले काम गर्नेछ । यसैमा हामीले प्रण गरेका छौँ ।

संयुक्त राष्ट्र जलवायु परिवर्तनको कार्यकारी सचिव साइमन स्टिलले सबै मानव जगतलाई आग्रह गर्नुहुँदै भन्नुभयो, ‘‘अब सबै मुलुक, सरकार र निजी क्षेत्रले ढिलाई नगरी यहाँ गरिएका वाचाहरुलाई वास्तविकतामा ढाल्नुपर्छ ।’’

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०१९ को तुलनामा आगामी सन् २०३० सम्ममा ४३ प्रतिशतले घटाउने प्रतिबद्धता पनि यो सम्मेलनले गरेको छ । यसैगरी सन् २०३५ सम्म यो दरलाई ६० प्रतिशतसम्म पुर्‍याउने निर्णय पनि सम्मेलनले गरेको छ ।

सम्मेलनले नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगलाई हालको अवस्थाबाट तीन गुणा वृद्धि गरी सन् २०३० सम्ममा ऊर्जा दक्षतामा विशेष ध्यान दिन पनि सबै मुलुकलाई आग्रह गरेको छ । कतिपय मुलुकहरुले पेट्रोलियम पदार्थमा अनुदान दिने गरेको कुरालाई रोक्ने र अर्कातिर नवीकरणीय ऊर्जामा थप लगानी गर्दा विश्वलाई जीवाश्म इन्धनबाट टाढा राख्न सकिने कुरामा सहमति भएको छ । यसैगरी मिथेनलगायतका गैर कार्बन ग्यासलाई पनि घटाउने कुरामा सहमति भएको छ ।

जलवायुजन्य हानि नोक्सानी र क्षतिका लागि सम्मेलनले एउटा छुट्टै कोषको स्थापना गर्ने निर्णय गरेको छ । सो कोषबाट विशेष गरी जलवायु परिवर्तनको जोखिम भोगिरहेको मुलुकलाई आर्थिक तथा प्राविधिक सहयोग हुने अपेक्षा गरिएको छ ।

ग्लोबल गोल अन अडेप्टेसन र यसको ढाँचा निर्माण गर्न सबै मुलुक सहमत भएका छन् भने यस्तो ढाँचाले अनुकूलनका लक्ष्यहरु र ती लक्ष्यलाई प्राप्त गर्न लाग्ने वित्त, प्रविधि तथा क्षमता निर्माणका लागि पनि विश्वव्यापाी सहमति भएको छ ।

जलवायु कोषमा वृद्धि
यस पटकका सम्मेलनले जलवायु वित्तलाई वृद्धि गर्ने निर्णय पनि सर्वसम्मतले गरेको छ । हरित जलवायु कोष (ग्रिन क्लाइमेन्ट फण्ड को रकम बढाउन ३१ मुलुकले प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो सम्मेलन अवधिमा अति कम विकसित देशको विकास कोष र विशेष जलवायु परिवर्तन कोषमा १७४ मिलियन डलरभन्दा बढी रकमको प्रतिबद्धता भएको छ ।

कम विकसित मुलुकको समूहका अध्यक्ष माडेलिन डिउफ सरले भन्नुभयो, ‘‘कम विकसित मुलुकलाई दिइने सहयोगका लागि हामी त्यति खुसी छैनौँ । हामीले थप आशा गरेको थियौँ तर त्यसो हुन सकेन । यसलाई भविष्यमा सुधार गर्दै लैजानुपर्छ ।’’

त्यसैगरी जलवायु अनुकूलन कोषमा १८८ मिलियन अमेरिकी डलरका नयाँ प्रतिबद्धता आएका छन् । यद्यपि यो सम्मेलनमा आएका प्रतिबद्धताको रकमले स्वच्छ ऊर्जाको विकास र राष्ट्रिय जलवायु योजनाहरु सञ्चालन गर्न र अनुकूलनका कार्यक्रम कार्यान्वयन गर्न निकै कम पर्ने देखिएका छन् ।

ऐतिहासिक सम्मेलन
जलवायु सम्मेलनलाई समावेशी, सहभागितामूलक र सर्वपक्षीय बनाउने प्रयास यो पटक सफल भएको छ । महिला, दलित, आदिवासी, जनजाति, सबै वर्ग र सरोकारवाला सबै पेशा, व्यवसाय गरी विश्वभरिबाट एक लाख भन्दा बढीको सहभागिता रह्यो ।

कोपको इतिहासमा यो सहभागिता सबैभन्दा बढी मानिएको छ । यो सम्मेलनले पहिलो पटक कृषि प्रणाली र खाद्य सुरक्षाको विषयलाई पनि सम्पत्तिको रुपमा स्वीकार गरेको छ । खाद्य सुरक्षा र जनस्वास्थ्य प्रणालीको लचिलोपन बढाउन, कृषि र मिथेनसँग सम्बन्धित उत्सर्जन कम गर्न प्रयास गर्ने कुरालाई पनि सम्मेलनले पारित गरेको छ ।