• २२ वैशाख २०८१, शनिबार

जलवायुबारे डिजिटल नक्सा तयार गरिने

blog

काठमाडौँ, मङ्सिर २८ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले देशैभर जलवायुको अवस्थाबारे अध्ययन गरी मानचित्र (डिजिटल नक्सा) तयार गर्ने भएको छ । त्यसका लागि सार्क राष्ट्रका कृषि वैज्ञानिकहरू नेपालमा छलफलमा जुटेका छन् । 

वैज्ञानिकले तयार गर्ने सो नक्सामार्फत एक क्लिकमा आफूले चाहेको ठाउँको जलवायुको अवस्था थाहा पाउन सकिन्छ । यो एक क्लिकले नेपालको मात्र होइन, सार्क राष्ट्रकै जलवायुको अवस्थाबारे जानकारी लिन सकिन्छ । जलवायुले धान, गहुँ, मकै, मसुरो, दलहन, तेलहन, तरकारी, माछा तथा फलफूललगायतका बालीमा पारेको प्रभावबारे अध्ययन गरी नक्सा तयार गर्ने छ । 

कृषि क्षेत्रमा बढ्दै गएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न यो डिजिटल मानचित्रले भूमिका खेल्ने नार्क अन्तर्गतका राष्ट्रिय कृषि वतावरण अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक अमरबहादुर पुनले बताउनुभयो । यो परियोजना नेपालमा मात्र होइन, सार्कस्तरीय सबै देशमा लागु हुने उहाँले बताउनुभयो । 

अमेरिकाको बिल गेट्स फाउन्डेसनको आर्थिक सहयोगमा भारतको बिसा सिमिटले यो आयोजना सञ्चालन गरेको हो । सार्कस्तरीय एउटा छुट्टै वेबसाइट हुन्छ, जसमा सार्क देशका एउटा डिजिटल नक्सा राखिएका हुन्छ । त्यसबाट पनि आआफ्नो देशको जलवायुको अवस्थाबारे जानकारी लिन सकिन्छ । त्यसबाहेक देश अनुसार फरक फरक वेबसाइट हुन्छ, त्यसमा आआफ्नो देशको जलवायुको नक्साङ्कन गरी राखिने उहाँले जानकारी दिनुभयो । 

त्यो नक्सामा जलवायुको जानकारी मात्र होइन, त्यसको समाधान पनि राखिने उहाँले बताउनुभयो । कुनै जिल्लाको एक गाउँको जलवायुको अवस्था कस्तो छ भनी थाहा पाउनलाई नक्सामा क्लिक गरेपछि हुन्छ । त्यहाँ जलवायुको अवस्थाबारे जानकारी दिनुका साथै त्यसको समाधान र उपायबारे पनि लेखिएको हुन्छ । धान काट्ने बेला, तरकारी लगाउने बेला, गहुँ छर्ने बेला, पानी पर्ने बेलालगायतका हावापानीको नक्साङ्कन गरिएका हुन्छन् । जसले गर्दा किसानलाई बाली लगाउन सजिलो हुने विश्वास लिएको केन्द्र प्रमुख पुनले जानकारी दिनुभयो । 

जलवायु परिवर्तनका कारण कृषिमा निकै क्षति हुने गरेको छ । मौसमबारे समयमा जानकारी नहुनु, हावापानीबारे किसान तथा अन्य सरोकारवालालाई समयमा जानकारी नहुँदा धनजनको क्षति हुने गरेको छ । त्यसलाई न्यूनीकरणका लागि सार्कस्तरीय आयोजना सुरु भएको छ । यो आयोजना तीन वर्षका लागि सुरु गरिएको छ । तीन वर्षमा सबै अध्ययन गरी वेबसाइटमा नक्सा राखेर सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

त्यसको तयारीका लागि दुई दिनदेखि दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का कृषि वैज्ञानिकको सम्मेलन नेपालमा भइरहेको छ । सो सम्मेलनमा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालका कृषि वैज्ञानिक सहभागी छन् । 

सम्मेलनले जलवायु परिवर्तनले कृषि तथा पशुपन्छी क्षेत्रमा पारेको असर न्यूनीकरण र अनुकूलनताका उपायबारे छलफल गरिरहेको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले जानकारी दिनुभयो । जलवायु परिवर्तनका कारण सार्क राष्ट्रमै कृषिमा चुनौतीमा थपिएको निष्कर्ष निकाल्दै यसका लागि संयुक्त रूपमा लड्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।