• ३० चैत २०८२, सोमबार

जन्मकैद सजाय पाएका हत्या दोषी अझै फरार

blog

अजय शाह 
गौशाला (महोत्तरी), चैत ३० गते ।
जेनजी आन्दोलनका क्रममा जलेश्वर कारागारबाट भागेका हत्या मुद्दाका एक दोषी हालसम्म पक्राउ पर्न सकेका छैनन्। दोषी खुलेआम फरार रहँदा पीडित परिवारमा त्रास र अन्यायको अनुभूति बढेको छ।

महोत्तरी गाउँपालिका–४ रतवारा निवासी २२ वर्षीया अनु रायको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैद तथा ५० हजार रुपियाँ क्षतिपूर्तिको सजाय पाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ खोरियाका मन्दीपकुमार यादव हालसम्म फरार रहेको प्रहरीले जनाएको छ।

जिल्ला अदालत महोत्तरीबाट सजाय तोकिएका यादव पहिले नै प्रहरी हिरासतमा रहेका थिए। मृतक अनु रायसँग प्रेम सम्बन्धमा रहेको बताइने यादवले वि.सं. २०८१ असोज २२ गते राति बर्दिबास नगरपालिका–५ टुटेश्वरस्थित जङ्गल क्षेत्रमा उहाँको हत्या गरी फरार भएको आरोप छ। यादवलाई प्रहरीले २०८१ मङ्सिर ३० गते पक्राउ गरेको थियो भने २०८१ पुस २८ गते जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

तर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेश्वर कारागारबाट अन्य कैदीबन्दीसँगै उनी पनि फरार भएका थिए। त्यसयता उनको खोजी जारी रहे पनि हालसम्म पक्राउ पर्न नसकेको जनाइएको छ। फरार अवस्थामै रहेको मुद्दामा जिल्ला अदालत महोत्तरीले २०८२ माघ २१ गते उनलाई जन्मकैद तथा ५० हजार रुपियाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो भने उक्त फैसला २०८२ चैत १५ गते प्रमाणीकरण भएको हो।

पीडित परिवारले दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्। मृतकका पिता रामविनेश रायले छोरीको हत्या भएको लामो समय बितिसक्दा पनि दोषी कारागारबाट फरार रहनुले न्याय नपाएको अनुभूति भइरहेको बताउनुभयो। उहाँले हत्यारालाई तत्काल पक्राउ गरी पुनः कारागारमा राख्न सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।

उहाँका अनुसार दोषी खुलेआम फरार रहिरहँदा परिवारमा त्रास र अन्यायको भावना अझै बढेको छ। “हत्यारालाई कानुनले सजाय नदिएसम्म छोरीले न्याय पाउँदिन,” उहाँले भन्नुभयो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीहरूको खोजी तीव्र पारिएको जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विश्वम्भरनाथ साहका अनुसार फरार अभियुक्तहरूलाई पक्राउ गर्ने कार्य निरन्तर जारी छ।

उहाँले विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरूलाई प्राथमिकताका आधारमा खोजी भइरहेको र दैनिक रूपमा केही फरार अभियुक्त पक्राउ पर्दै आएको जानकारी दिनुभयो। साथै, मन्दीपकुमार यादवलाई पनि चाँडै पक्राउ गरिने विश्वास व्यक्त गर्नुभयो।

यस घटनाले कारागार सुरक्षा, आन्दोलनका बेला कैदी व्यवस्थापन तथा न्यायिक प्रक्रियाको प्रभावकारितामाथि प्रश्न उठाएको छ। सरोकारवालाहरूले फरार अभियुक्तको शीघ्र पक्राउसँगै यस्ता घटना दोहोरिन नदिन कडा सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन्।