• २० वैशाख २०८१, बिहिबार

जाडोमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मौसमी फलफूल खानु उत्तम: डा. सुवेदी

blog

काठमाडौँ, मङ्सिर २८ गते । जाडो महिनामा बालबालिकालाई विभिन्न स्वास्थ्य समस्या निम्तिने गर्दछन् । बालबालिकालाई धेरै देखिने स्वास्थ्य समस्या भनेको घाँटी दुख्ने, रुघा/खोकी लाग्ने, टाउको दुख्ने, आँसु बगिरहने,पखाला लाग्ने,पेट दुख्ने, वान्ता हुने, खानेकुरा नपच्ने जस्ता समस्या देखिने गर्छ ।  

फाउन्डेसन फर नेशनल केयर अफ चिल्ड्रेन नेपालका अध्यक्ष डा. सुरक्षा सुवेदीका अनुसार जाडोमा चिसोले शरीरका नसा खुम्चिएर रगत एक अङ्गबाट अर्को अङ्गमा राम्रोसँग सञ्चालन हुन नपाउँदा यस्ता समस्या देखिन्छन् ।

रगत राम्रोसँग सञ्चालन हुन नपाउँदा हामीले खाएको खानेकुरा, अक्सिजन र कीटाणु मार्ने कोषहरू विभिन्न अङ्गमा जान नपाएर अङ्गहरू कमजोर हुँदै जाने र यस्ता समस्या देखिने डा. सुवेदी बताउनुहुन्छ ।  

उहाँ भन्नुहुन्छ,“जाडोमा श्वासप्रश्वासको माध्यमबाट विभिन्न प्रकारका कीटाणु छिर्ने गर्दछन् ।चिसोमा रगत सञ्चालन हुन नपाउँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आई फोक्सो कमजोर हुने रुघाखोकी लाग्ने घाँटी दुख्ने, आँखा रातो हुने जस्ता स्वास्थ्य समस्या देखिन्छन् ।” 

बाल रोग विशेषज्ञ डा. मीरा लामिछानेले जाडोबाट बचाउन बच्चाको शरीरलाई न्यानो बनाई राख्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार जाडोमा शरीर तताउँदा खुम्चिरहेको नसाहरू खुलेर रगत सबै अङ्गहरूमा पुग्ने गर्छ । 

उहाँ भन्नुहुन्छ,“बच्चालाई घाममा राखेर तातो तेलले मालिस गरिदियो भने खुम्चिएका नसाहरू खुल्ने गर्दछन् । शरीर तातेपछि रगतको माध्यमबाट हामीले खाएको खानेकुरा सबै अङ्गमा पुग्छ र कीटाणु मार्ने कोषिकाहरु पनि सबै अङ्गमा पुगेर रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ ।” 

बिहानको घाम राम्रो हुने हुँदा सकेसम्म बिहानको घाममा राखेर तेलले मालिस गर्न उहाँको सुझाव छ । धेरै घाममा बस्दा शरीरमा भएको पानी सोच्ने हुँदा मौसमी फलफूल सुन्तला बदाम,पानी बेलाबेलामा खुवाउन डा.लामिछानेको सुझाव छ । 

जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन मौसम अनुसारका फलफूल सागसब्जी खुवाउन चिकित्सकको सुझाव छ । त्यसका अलावा खुम्चिएका नसा खुलाउन बच्चालाई राति सुत्नुभन्दा अगाडि मनतातो पानी र दूध खुवाउन डा. सुवेदीको सुझाव छ । 

उहाँ भन्नुहुन्छ, “मनतातो दूध खुवाएर सुतायो भने बच्चालाई राति चिसो लाग्न पाउँदैन । बिहान उठेपछि मनतातो पानी÷दूध खुवाउँदा खुम्चिएका नसाहरू खुल्न मद्दत गर्छ ।” पानीको मात्रा कम भएर बच्चालाई कब्जियत हुने टाउको दुख्ने समस्या देखिने हुँदा मौसम अनुसारका फलफूल पानी प्रशस्त मात्र खुवाउन उहाँले आग्रह गर्नुभयो । 

जाडोमा धेरै लुगा लगाइदिने चलन छ । बच्चाहरूलाई पसिना आएर आफ्नै पसिनाले चिसो लागेर निमोनिया हुने सम्भावना बढी हुने हुँदा बढी लुगा नलगाइदिन डा.सुवेदीको सुझाव छ ।  

सानो बच्चालाई सकेसम्म आमाको छातीमा टाँसेर राख्नुपर्छ । छातीमा टाँसेर राख्दा आमाको तातो बच्चामा जाने गर्छ । दूध खुवाउने बच्चालाई छिटो छिटो दूध खुवाउने । चिकित्सकका अनुसार जाडोमा छिटो खाना पच्ने हुँदा बालबालिकालाई बेलाबेलामा खानेकुरा खुवाउनुपर्छ । जाडोबाट बचाउन बच्चा सुत्ने ओछ्यान बेलाबेलामा घाममा सुकाइदिने । बच्चाले राति लुगा फाल्ने हुँदा सुत्ने बेलामा न्यानो बनाउन पन्जा, मोजा लगाइदिन उहाँले अनुरोध गर्नुभयो । 

जाडोमा बच्चामा देखिने अर्को समस्यामा छाला सुख्खा हुने,खस्रो हुने हुन्छ । हेलचेक्राइँ गर्दा  बच्चाहरू छाला फुटेर घाउ हुने र घाउ फैलिएर सङ्क्रमण हुने हुन्छ । त्यसैले छालालाई मुलायम राख्न बच्चाहरूलाई बेलाबेलामा चिल्लो क्रिम, तेल लगाउन उहाँको सुझाव छ ।  रुघाखोकी लागिहालेमा घरेलु उपचार निको बनाउन सकिने चिकित्सक बत्ताउँछन् । उहाँ भन्नुहुन्छ, “जाडोमा औषधि भनेको मनतातो पानी, कालो तुलसीको पात, अदुवा, बेसार, मह पानी पकाएर खाना दिँदा बच्चालाई रुघाखोकी लाग्न पाउँदैन ।”धेरै गाह्रो भयो भने चिकित्सकको परामर्श लिन उहाँकाे सुझाव छ । 

जाडो मौसममा बालबालिकालाई कसरी बचाउने भन्ने विषयमा गोरखापत्र अनलाइनका लागि बाल रोग विशेषज्ञ डा. मीरा लामिछानेसँग गरिएको भिडियो संवाद :


भिडियो : मनोजरत्न शाही /केशव गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।