• ७ जेठ २०८१, सोमबार

कम विकसित देशलाई सहयोगको प्रतिबद्धता

blog

दुबई, मङ्सिर २४ गते । संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भइरहेको जलवायु विश्व सम्मेलन (कोप २८) मा कम विकसित मुलुक कोषका लागि करिब १८ अर्ब ६९ करोड ३७ लाख रुपियाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको छ । 

ठुला अर्थतन्त्र भएका तथा विकसित मुलुकहरूले जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्न सो कोषमा रकम जम्मा गर्ने प्रतिबद्धता जनाएका हुन् । सो रकम नेपाल जस्ता जलवायुजन्य जोखिममा परेका मुलुकले खर्च गर्न पाउने छन् । 

त्यसै गरी जलवायु परिवर्तन विशेष कोष (स्पेसल क्लाइमेट चेन्ज फन्ड) मा विकसित मुलुकहरूले करिब चार अर्ब ३३ करोड ९६ लाख रुपियाँ जम्मा गर्ने पनि निर्णय गरेका छन् । सो कोषबाट जलवायु परिवर्तन  तथा विश्व तापक्रमका कारणले हानिनोक्सान तथा क्षति बेहोरेका मुलुकले रकम पाउने भएका छन् । यहाँ जारी विश्व सम्मेलनको पहिलो उच्चस्तरीय राजनीतिक मञ्च (हाई लेभल पोलिटिकल फोरम) मा राष्ट्र प्रमुखहरू सहभागी भएर आआफ्नो मुलुक फर्केपछि मन्त्रीस्तरीय नेतृत्वमा भइरहेका विभिन्न प्राविधिक सत्र सञ्चालन हुने छन् । शनिबारसम्म सञ्चालन भएका प्राविधिक सत्रका कार्यक्रम तथा सम्झौतामा जलवायु अनुकूलन कोषमा थप करिब २२ अर्ब १३ करोड ८७ लाख रुपियाँ जम्मा गर्ने प्रतिबद्धता व्यक्त भएको छ । 

त्यसै गरी जलवायु नोक्सान तथा क्षति कोषमा करिब ९३ अर्ब ४६ करोड ८६ लाख रुपियाँ जम्मा गर्ने प्रतिबद्धता व्यक्त भएको छ । यो कोष यही सम्मेलनबाट अनुमोदन भएको हो । यो कोषबाट नेपाललगायतका कम विकसित मुलुक जसले जलवायुजन्य विपत्का घटना बढी बेहोरिरहेका छन् ती मुलुक लाभान्वित हुने अपेक्षा राखिएको छ । मेलम्चीमा भएको प्राकृतिक प्रकोप जस्ता घटनाबाट भएको क्षतिको प्राविधिक मूल्याङ्कन गरी नेपालले सो कोषबाट रकम प्राप्त गर्ने सक्ने छ ।