कोरिओकार्सिनोमा जेस्टेसनल (गर्भसँग सम्बन्धित) ट्रोफोब्लास्टिक डिजिज (रोग) कै एक प्रकार हो । कोरिओकार्सिनोमा बिरलै हुने क्यान्सरमा गनिन्छ, जुन असामान्य गर्भका रूपमा विकसित हुन्छ ।
यस्तो असामान्य वृद्धि गर्भावस्थाको आरम्भिककालमा पाठेघरभित्रबाट सुरु हुन्छ । कोरिओकार्सिनोमालाई कोरियोब्लास्टोमा, कोरियोइपिथेलिओमा, जेस्टेसनल ट्रोफोब्लास्टिक, निओप्लासिया वा ट्रोफोब्लास्टिक ट्युमर पनि भनिन्छ ।
कोरिओकार्सिनोमा र मोलार गर्भबीच के भिन्नता छ भने कोरिओकार्सिनोमा गर्भ प्रक्रियाको क्रममा वा गर्भ प्रक्रिया सकेपछि पनि ट्रोफोब्लास्ट नामक कोषको अत्यधिक वृद्धि भई ट्रोफोब्लास्टिक ट्युमर हुन सक्छ । यही क्यान्सर पुरुषमा अण्डकोषको क्यान्सरका रूपमा विकसित हुन्छ ।
सालकै माध्यमबाट गर्भेशिशुले गर्भावस्थाका बेला आमाबाट पोषण एवं अन्य आवश्यक पदार्थ प्राप्त गर्दछ । कोरिओकार्सिनोमा पाठेघरमा हुने भए पनि पछि गएर साल बन्ने तन्तुमा हुने क्यान्सर बन्छ । गर्भेशिशु ढाक्ने झिल्लीमध्ये कोरियन नामको एक प्रकारको झिल्लीबाट सुरु हुने गम्भीर खालको ट्रोफोब्लास्टिक ट्युमर हो । विडम्बना के छ भने सामान्य गर्भको केही समयपछि पनि यस्ता खाले क्यान्सर विकसित हुन सक्छ तर धेरैजसोमा अङ्गुरको दाना जस्तो हुने मोलार खालको गर्भ (अङ्गुरको दानाजस्तो हुने गर्भ) पछि विकसित हुन्छ । अर्थात् मोलार प्रकारको गर्भ पनि क्यान्सरमा परिणत हुन सक्छ । मोलार खालको असामान्य गर्भ भएकामध्ये तीनदेखि पाँच प्रतिशतमा कोरिओकार्सिनोमा हुन सक्छ । यस क्यान्सरसँगै शिशु विकसित हुन पनि सक्छ, नहुन पनि सक्छ ।
पाँच हजार गर्भवतीमध्ये एक जनामा गर्भकै कारणले हुने ट्रोफोब्लास्टिक ट्युमर वा कोरिओकार्सिनोमा हुन सक्छ । कोरिओकार्सिनोमाकै कुरा गर्दा प्रभावितमध्ये ५० प्रतिशत मामिलामा मोलार खालको गर्भपछि, २० प्रतिशतमा गर्भ तुहिएपछि, दुई प्रतिशतमा डिम्ब वाहिनी नलीमा गर्भ रहेपछि, २० देखि ३० प्रतिशत महिलामा सामान्य गर्भपछि कोरिओकार्सिनोमा हुने देखिएको छ ।
यो क्यान्सर कोरिओगोनाडोट्रोफिन हर्मोनसँग सम्बन्धित हुने भएकाले गर्भावस्थामा अधिक वाकवाकी, उल्टी भएकामा पनि देखिन सक्छ ।
लक्षण
कोरिओकार्सिनोमाबाट प्रभावित महिलामा अनियमित रक्तस्राव (योनिबाट) हुने वा महिनावारी रोकिने हुन सक्छ । कोरिओकार्सिनोमामा बिटा ह्युमन कोरिओनिक गोनाडोट्रोफिन नामक हर्मोन मुख्यतः जिम्मेवार हुने भएकाले सग्लो गर्भ नरहे पनि पिसाब जाँचको क्रममा ‘प्रेग्नेन्सी टेस्ट पोजिटिभ’ देखिनुका साथै रगतमा उक्त हर्मोनको मात्रा उच्च र गर्भवती बेलामा जस्तै वाकवाकी आउने र उल्टी आउने समस्या बढी हुन्छ । तल्लो पेट एवं स्त्री जननेन्द्रियको जाँचको क्रममा पाठेघर एवं डिम्बाशयको आकार बढेको हुन सक्छ ।
बिरामीसँगको भलाकुसारी एवं शारीरिक परीक्षणबाट क्यान्सरको प्रारम्भिक आशङ्का एवं क्यान्सर शरीरको अन्यत्र फैलिसकेको छ छैन थाहा हुन्छ ।
त्यसो त कोरिओकार्सिनोमाको समस्या प्रायः पाठेघरमै सीमित हुन्छ । यस्तो ट्युमर पाठेघरभित्रै रहने वा अन्यत्र पैmलिने तथा कम वा उच्च जोखिमको प्रकृतिको हुन्छ ।
कोरिओकार्सिनोमाका थप लक्षण क्यान्सर फैलिएको अङ्ग विशेष अनुसारको हुन्छ । ट्रोफोब्लास्टिक क्यान्सर पाठेघरबाट फोक्सोमा छिटो फैलिन्छ । फोक्सोमा क्यान्सर फैलिएको खण्डमा खोकी लाग्ने, स्याँ स्याँ आउने, छातीमा पीडा हुने, खकारमा रगत देखा पर्ने हुन्छ । त्यसै गरी योनिमार्गमा फैलिए अनियमित वा हल्का रक्तस्राव हुने, मस्तिष्कमा फैलिए टाउको दुख्ने, कम्पन छुट्ने, पक्षाघात हुने वा बेहोस हुने तथा कलेजोमा फैलिए माथिल्लो पेट दुख्ने एवं जन्डिस हुने हुन्छ ।
निदान
यस खालको क्यान्सरको निदानका लागि ट्युमर मार्करका रूपमा ह्युमेन कोरिओनिक गोनाडोट्रोफिन (एचसिजी) हर्मोनको मात्रा हेरिन्छ । रगत जाँचको क्रममा रगतमा ह्युमेन कोरिओनिक गोनाडोट्रोफिनको मात्रा बढ्छ । कोरिओकार्सिनोमामा ह्युमेन कोरिओनिक गोनाडोट्रोफिन हर्मोनको मात्रा तीन वा सोभन्दा बढी हप्तासम्म पनि घटेको हुँदैन वा एक पटक घटेर फेरि बढ्न सक्छ ।
यसका साथै रगतको पूर्ण जाँच, मिर्गौला एवं कलेजोको काम गराई पनि जाँच्नु राम्रो हुन्छ । रगतमा थाइरोइडको मात्रा बढेको देखिन्छ । इमेजिङको हकमा सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड (भिडियो एक्सरे) छातीको तथा लामा हड्डीको एक्सरेबाट कोरिओकार्सिनोमा पाठेघरमा मात्र निहित छ कि अन्यत्र पनि फैलिसकेको छ, निक्र्योल गरिन्छ । छातीको एक्सरेमा ठाउँ ठाउँमा गोलो दाग देखिन्छ । प्याथोलोजीबाट अथवा पाठेघरबाट निकालिएको पदार्थको बायोप्सी जाँचबाट रोगको निदान निश्चित गरिन्छ ।
उपचार
कोरिओकार्सिनोमा केमोथेरापीबाट निकै राम्रो हुने क्यान्सर हो । त्यसैले मेथोट्रेक्सेटलगायतका केमो औषधिहरू निकै प्रभावकारी साबित हुन्छन् । जोखिममा भएकीलाई आवश्यक केमो औषधि दिई फलोअपमा राखिनु पर्दछ । आवश्यकता भए पाठेघर निकाल्ने शल्यक्रिया नेपालको हकमा एउटा सुरक्षित विकल्प हुन सक्छ तर रेडियोथेरापी निकै बिरलै मात्र आवश्यक हुन्छ ।
मस्तिष्कमा फैलिएको भए रेडियोथेरापी दिइन्छ । मोलार खालको गर्भबाट प्राप्त हुने तन्तु पाठेघरबाट खुर्केर हटाएपछि पनि क्यान्सरका रूपमा निरन्तर वृद्धि भइरहन सक्ने हुनाले बिरामीलाई निश्चित समयसम्म कडा निगरानीमा राख्नु पर्छ ।
के हो मोलार गर्भ ?
मानिसमा गर्भ रहने बेला महिलाको डिम्ब वाहिनी नलीमा आइपुगेको डिम्बलाई शुक्रकीटले गलत तवरले निषेचन हुन गयो भने मोलार गर्भका रूपमा विकसित हुन्छ । मोलार गर्भ एउटा यस्तो खाले समूह हो जसलाई ‘जेस्टेसनल ट्रोफोब्लास्टिक डिजिज’ को नामले पनि चिनिन्छ ।
कतिपयले मोलार गर्भलाई ‘हाइडेटिडिफर्म मोल’ पनि भन्छन् । ग्रिक भाषामा ‘हाइडेटिडिफर्म’ को अर्थ पानीको थोपा (अथवा ड्रपलेट) भन्ने बुझिन्छ । सामान्य गर्भमा हुनुपर्ने सग्लो भ्रूण अर्थात् सानो बच्चाको सट्टा मोलार खालको असामान्य गर्भमा पानीको थोपायुक्त ससाना पोका अर्थात् अङ्गुरका ससाना दाना जस्तै तìवहरू पाठेघरभित्र हुन्छ । पूर्ण र अपूर्ण गरी दुई खालको मोलार गर्भमध्ये पूर्ण खालको मोलार गर्भमा पाठेघरभित्र गर्भेशिशुको वृद्धि नै रोक्दछ ।
मोलार खाले गर्भका बिरामीले गर्भावस्थाको चौथो, पाँचौँ महिनातिर योनिबाट पीडारहित रक्तस्रावको गुनासो लिएर आउँछन् । पाठेघरको आकार पनि महिना रोकिएभन्दा ठूलो खालको हुन्छ । कतिपयमा डिम्बको आकार पनि बढेको भेटिन्छ । मोलार खालको गर्भ भएकी महिलाको शरीरमा बिटा ‘ह्युमेन कोरिओनिक गोनाडोट्रोफिन हर्मोन’ को मात्रा निकै बढी हुने भएकाले उल्टी आउने, वाकवाकी बढ्ता आउने, रक्तचाप बढ्ने हुन सक्छ ।
मोलार खालको गर्भको निदानका लागि भिडियो एक्सरे एवं रगत जाँच गराउनुपर्ने हुन्छ । उपचारको हकमा अस्पतालमा भर्ना राखेर पाठेघर सफा गराउनु पर्दछ । राम्रोसँग निख्रियो, निख्रिएन भनेर थाहा पाउनका लागि निश्चित अन्तरालमा रगतमा ‘बिटा ह्युमेन कोरिओनिक गोनाडोट्रोफिन हर्मोन’ को मात्रा र आवश्यकता अनुसार भिडियो एक्सरेका माध्यमबाट निश्चित समयसम्म ‘फलोअप’ मा राख्नु पर्छ । किनकि ‘फलोअप’ को क्रममा हप्तैपिच्छे रगतमा ‘बिटा ह्युमेन कोरिओनिक गोनाडोट्रोफिन हर्मोन’ को मात्रा घट्दै जानु पर्छ ।
कथंकदाचित ‘फलोअप’ का बेला ‘बिटा ह्युमेन कोरिओनिक गोनाडोट्रोफिन हर्मोन’ स्थिर रहिरह्यो वा झन् बढ्न थाल्यो भने कतै कोरिओकार्सिनोमा विकसित हुन थाल्यो कि भनेर शङ्का गर्नुपर्ने हुन्छ । मोलार गर्भपछि विकसित हुने कोरिओकार्सिनोमामा प्रायः यसैगरी ‘बिटा ह्युमेन कोरिओनिक गोनाडोट्रोफिन हर्मोन’ को मात्रा स्थिर वा बढ्न थाल्ने हुन्छ ।