• १४ असार २०८१, शुक्रबार

नेपाल र युएसएआइडीबिच नयाँ सहकार्य

blog

काठमाडौं, मङ्सिर १८ गते । नेपाल सरकार र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)ले संयुक्त रुपमा नयाँ कार्यक्रमको सुरुवात नेपालमा गरेको छ । ‘फिड द फ्युचर नेपाल युएसएआइडी एग्रिकल्चरल इनपुट्स’ नामक कार्यक्रममार्फत सवा तीन अर्ब रुपियाँको साझेदारी यस कार्यक्रममार्फत हुनेछ ।

यस कार्यक्रमले नेपालका किसान र कृषि कार्यमा आवश्यक सामग्रीको पहुँचलाई व्यवस्थित तुल्याउन र नेपालको समग्र कृषि विकासमा योगदान पुर्‍याउन काम गर्ने नियोगले जनाएको छ । जस अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका १६ जिल्लामा पञ्चवर्षीय योजनाको रुपमा सो कार्यक्रम सञ्चालन हुनेछ । त्यसका लागि सम्झौता अनुसार मल, बीउ, सिँचाइ र कृषि यान्त्रीकरणमा किसानहरुसँग सहकार्य गरिनेछ ।

नियोगको एसिया ब्युरोका सहायक प्रशासक माइकल शिफरले नयाँ कार्यक्रम र नेपालसँग विगतदेखि हालसम्म भएका विकास साझेदारीको प्रगतिको चर्चा गर्नुभयो ।

आर्थिक वृद्धि र समृद्धिको पथमा नेपालसँग नियोगले लामो समयदेखि साझेदारी गर्दै आएको औँल्याउँदै विश्व खाद्य सुरक्षा रणनीतिअन्तर्गत फिड त फ्युचर परियोजनाको प्राथमिकताा नेपाल रहेकाले पनि यो साझेदारी सम्भव भएको हो ।

यस कार्यक्रमको लक्ष्य कृषि उत्पादकत्व वृद्धि गर्नुमात्र नभएर साना किसानलाई सबल बनाउन, गरिबी घटाउन र ग्रामीण आय बढाउनु रहेको उहाँले प्रष्ट पार्नुभयो । समावेशी विकासको मोडेल अनुसार नेपाली जनतलाई कार्यक्रममार्फत लाभ दिँदै रोजगारी सिर्जना गर्न, आर्थिक विकासलाई उत्प्रेरित गर्न र स्थानीय समुदायको जीवनमा सार्थक परिवर्तन ल्याउन सघाउने उहाँले दाबी गर्नुभयो ।

नेपालका दुई लाख बढी किसान लाभान्वित हुने अपेक्षा रहेको कार्यक्रमले उनीहरुलाई आधुनिक कृषि सामग्री र प्रविधिको पहुँचमा वृद्धि गराउने लक्ष्य राखेको छ ।

नेपाल भ्रमणका क्रममा आफूले नेपाल सरकारका उच्चाधिकारी, व्यावसायिक नेतृत्व तथा नागरिक समाजका व्यक्तिहरुसँग केही दिन यता साथसाथै रहेर सहकार्य गर्ने विषयमा गहन छलफल भएको शिफरले बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा भएको छलफल नेपालको सुन्दर भविष्यका लागि फलदायी हुने अपेक्षा राखिएको पनि उहाँले प्रष्ट पार्नुभयो ।

नेपाल र अमेरिका ७५ वर्षदेखिको लामो सम्बन्धमा यात्रारत रहेको र नेपाल सरकार र नियोग राम्रो साझेदार बनेको प्रष्ट पार्दै उहाँले नियोगमार्फत नेपालमा लोकतन्त्र, सुशासन, सङ्घीयता र यहाँको जनताको जीवनस्तर सुधार गर्ने कार्यमा सघाइरहेको उहाँले दाबी गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नियोगले भविष्यमा थप सहकार्य गर्न सक्ने जानकारी दिनुभयो । नेपालको हिमाल र ती क्षेत्रका बासिन्दाले जलवायु परिवर्तनको असर भोगिरहेकाले त्यसमा अमेरिकाको पनि चासो रहेको औँल्याउनुभयो । नेपालले आफू सबल बन्न हाइड्रो पावरमा गरिरहेको लगानी र सफा उर्जाको उत्पादनमा गरिरहेको प्रगति दक्षिण एसियामै राम्रो रहेको बताउनुभयो । 

नियोगका तर्फबाट नेपालका लागि मिसन निर्देशक सेपिदेहा किभान्सादले नेपाल र नियोगबिचको थप साझेदारीका लागि सरकारले योजना बनाएर ल्याउन सुझाएको बताउनुभयो । उहाँले हालसम्मको साझेदारी सन्तोषजनक रुपमा फलदायी रहेको तर केही कुरा सुधार गरेर अघि बढ्नुपर्ने  आशय व्यक्त गर्नुभयो ।