• १२ साउन २०८१, शनिबार

विश्व माटो दिवस मनाइँदै

blog

काठमाडौँ, मङ्सिर १६ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी शनिबारदखि ‘विश्व माटो दिवस २०२३’ मनाउने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले यस पटक मङ्सिर १६ गतेदेखि १९ गतेसम्म विभिन्न कार्यक्रम मनाउने बताउनुभयो । माटोको गुणस्तरका बारेमा प्रचारप्रसार, मोटोको परीक्षणका बारेमा जानकारी गराउनेलगायतका विषयमा कार्यक्रम गरी मनाउने उहाँले बताउनुभयो ।

दिवसको अवधिमा माटोको निःशुल्क जाँच शिविर तथा स्वच्छ माटोको आवश्यकतालगायतका विषयमा जानकारी गराउँदै यो दिवस मनाउने तयारी रहेको उहाँले बताउनुभयो । माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टका अनुसार दिवसको मुख्य कार्यक्रम मङ्सिर १९ गते रहेको छ । 

भक्तपुरको खोपासीमा किसानको माटोलाई निःशुल्क परीक्षण गर्ने भएको छ । त्यसमा विद्यार्थीलाई पनि सहभागी गराउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । भूक्षय तथा अत्यधिक पानी परेका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेका छन् । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । केन्द्रका प्रमुख विष्टका अनुसार १.४ एमएम माटोको माथिल्लो सतह बगेर जाने गरेका छन् ।  उहाँले भन्नुभयो, “समग्रमा माटोको अवस्था राम्रै छ तर योभन्दा खराब हुनुहुँदैन । नेपालको ६६ प्रतिशत माटो अमलीय, पाँच प्रतिशत क्षारीय, २९ प्रतिशत माटो तटस्थ रहेको छ ।” 

त्यस्तै नेपालमा ३४ प्रतिशत जमिनमा भूक्षय भएको छ । नेपालको माटोमा सबभन्दा समस्या देखिएको अमलीयपना हो र त्यो रासायनिक मल बढी प्रयोग भएका कारणले भएको बताउँदै उहाँले अहिले प्राङ्गारिक मलको प्रयोग निकै कम भइरहेको बताउनुभयो । यो माटो दिवस नार्क, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको खाद्य तथा कृषि सङ्गठन (एफएओ), अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्रले संयुक्त रूपमा मनाउन लागिएको हो । 

एफएओको सिफारिसमा संयुक्त राष्ट्र सङ्घको ६८ औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।