बेनी समाचारदाता
म्याग्दी (बेनी), कात्तिक १० गते । अपाङ्गता भएका व्यक्तिहरू अन्नपूर्ण आधार शिविरमा सफलतापूर्वक पुगेका छन् । समावेशी पर्यटन प्रवर्धन र अपाङ्गतामैत्री पदमार्ग निर्माणको सन्देशसहित उनीहरूले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङबाट मौरिस हर्जोग पदमार्ग हुँदै चार हजार १९० मिटरको उचाइमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरसम्मको यात्रा पूरा गरेका हुन् ।
‘अन्नपूर्ण आधार शिविर जान हामी पनि सक्छौँ’ भन्ने सन्देशसहित उनीहरूले समावेशी पर्यटनको उदाहरण प्रस्तुत गरेका हुन् । पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा अपाङ्गता भएका पर्यटक पनि पुगेपछि अन्नपूर्णको थप चर्चा हुन थालेको छ ।
पदयात्रामा विभिन्न छ प्रकारका अपाङ्गता भएका व्यक्ति सहभागी भएका थिए । हुमखोलादेखि सुरु हुने २१ किलोमिटर लामो दुरीको मौरिस हर्जोग पदमार्ग उनीहरूले करिब १८ घण्टा पदयात्रा गरेर पूरा गरेका छन् । अपाङ्गता भएका व्यक्तिको साहसिक यात्रा प्रेरणदायी भएको भुरुङ तातोपानीस्थित होटेल नेचुरल स्प्रिङका सञ्चालक तथा पर्यटन व्यवसायी राजु हमालले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका अपाङ्गता सञ्जालका सचिव विशाल विकले दिएको जानकारी अनुसार पदयात्रामा विभिन्न जिल्लाका गरेर आठ जना सहभागी भएका थिए । पदयात्रामा शारीरिक
अपाङ्गता भएका चोमु शेर्पा खुसी, ईश्वर बाँस्तोला, राजेश भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, अल्बिनो अपाङ्गता विशाल विक, दृष्टिसम्बन्धी दृष्टिविहीनता अपाङ्गता भीम गुरुङ, सुनुवाइसम्बन्धी बहिरा वासु थकाली र सहयोगीका रूपमा वन्दना राई सहभागी
हुनुभएको थियो । अपाङ्गतामैत्री नीति र भौतिक संरचना पर्यटन क्षेत्रमा समावेशीता आवश्यक रहेको सन्देश प्रवाह गर्न पदयात्रा गरिएको सञ्जालका सचिव विकले बताउनुभयो । पदयात्राको उद्देश्य अनुसार सफलता हासिल भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “आधार शिविरको यात्रा निकै रोमाञ्चक भयो । साथीहरू सहजै तरिकाले आधार शिविरको यात्रा पूरा गर्नुभयो । आधार शिविरस्थित पञ्चकुण्ड तालमा पुग्दा संसार जितेको अनूभुति भयो । कतिपय स्थानको पदमार्ग र बस्ने होटेलहरू अपाङ्गमैत्री नभएको पाइयो ।’’ उहाँले अपाङ्गता भएका व्यक्ति पनि आधार शिविर पुग्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न यो यात्रा सफल भएको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्ति पनि सहजै तरिकाले आधार शिविर पुगेपछि मौरिस हर्जोग पदमार्ग र आधार शिविरको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास गरिएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा पर्यटनकर्मी तेज गुरुङले बताउनुभयो । उहाँले अपाङ्गता भएका पर्यटकको साहसीपूर्ण पदयात्राले पर्यटन प्रवर्धनमा नयाँ आयाम थपेको बताउनुभयो ।
पर्यटकको सहजता र पहुँच सुनिश्चित गर्न अपाङ्गता मैत्री अन्नपूर्ण पदयात्रा सफल भएको अपाङ्गता सञ्जालका सचिव विकले बताउनुभयो । पदयात्राले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र मौरिस हर्जोग पदमार्गमा समावेशी पर्यटन प्रवर्धन र अपाङ्गतामैत्री पदमार्ग निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण भएको उहाँको भनाइ छ ।
नारच्याङको बेँसीगाउँदेखि दुई घण्टा सवारीसाधनको यात्रापछि पुगिने हुमखोलाबाट मौरिस हर्जोग पदमार्ग सुरु हुन्छ । हुमखोलाबाट दुई दिनमा आधार शिविर पुग्न सकिन्छ । पदमार्गमा झरना, मनमोहक हिमशृङ्खला र भूगोल, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाले होटेल तथा रेस्टुरेन्ट, आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण र पदमार्ग मर्मतसम्भार गरेर पदयात्रीका लागि सहज बनाएको छ ।
पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताका कारण यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।