सर्लाही समाचारदाता
सर्लाही, कात्तिक १० गते । सर्लाहीको बसबरिया गाउँपालिकाका अधिकांश ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति प्रमुख चाड छठमा पनि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् । सामाजिक सुरक्षा भत्ता निकालेर पर्व मनाउने तयारी गरेका लाभग्राही निराश बनेका छन् । बसबरिया गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन सकेको छैन ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले तिहारअघि सामाजिक सुरक्षा भत्ताको रकम निकासा गरेको थियो तर तिहारको लामो बिदाका कारण बैङ्क तथा वित्तीय संस्था नखुल्दा लाभग्राहीले सामाजिक सुरक्षा भत्ता निकाल्न पाएनन् । छ दिनपछि आइतबार बैङ्क तथा वित्तीय संस्था खुलेका थिए ।
नेपाली कांग्रेस बसबरियाका नेता गजेन्द्र साहले तिहार र छठको बिदाले गर्दा आइतबार एक दिन मात्र बैङ्क खुल्दा ज्येष्ठ नागरिकले दुःख पाएको बताउनुभयो । जनप्रतिनिधिको लापर्बाहीले सामाजिक सुरक्षा भत्ताको रकमसमेत बेलैमा निकासा गराउन नसक्दा ज्येष्ठ नागरिक, एकल महिलालगायत सबै लाभग्राहीको छठपर्व खल्लो भएको उहाँले बताउनुभयो । साहका अनुसार आज अधिकांश ज्येष्ठ नागरिकलगायत सबै लाभग्राही बैङ्कमा गएर दिनभर लाइनमा बसे पनि बैङ्कले सबैलाई भत्ता दिन नसकेपछि निराश हुँदै घर फर्किएका छन् । सर्लाहीका प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईंले गाउँपालिका कार्यालयबाट सामाजिक सुरक्षा भत्ता निकासाका लागि ढिलो गरी पत्र प्राप्त भएको जानकारी दिनुभयो ।
उहाँले गाउँपालिकाको बजेट गाउँ सभाबाट अनिवार्य पारित हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि सामाजिक सुरक्षा भत्ताको विषय गाउँ सभामा छलफल हुनु नपर्ने र बजेट बाँडफाँट जस्तो बाँड्नु नपर्ने भएकाले पालिकाले सिफारिस गर्नेबित्तिकै निकासा हुने बताउनुभयो । बसबरिया गाउँपालिका जनप्रतिनिधिबिचको किचलोमा फसेको छ ।
जनप्रतिनिधिबिच बाँडफाँटमा कुरा नमिल्दा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अझै पारित हुन सकेको छैन । गाउँपालिका अध्यक्ष रामसिंहासन रायले बजेट पारित गराउन पटक पटक गाउँ सभा राख्ने, अनौपचारिक छलफल तथा पहल गर्ने गरिरहे पनि कुनै उपाय नलागेको गुनासो गर्नुभयो ।