• १२ साउन २०८१, शनिबार

युरोपको विकासक्रम

विगत बिर्साउने मानव अधिकारको दियो

blog

समृद्धिको उचाइतर्फ लम्किरहेको युरोप यति शान्त र स्थिर थिएन । युद्धले थङथिलो भएको रक्तरञ्जित इतिहासको आधारशिलामा उभिएको छ युरोप । त्यो अनुभूति युरोपको भूमिमा उभिएर महसुस गर्ने अवसर यो पङ्क्तिकारलाई गत महिना प्राप्त भयो । करिब नौ दिनको यात्राले विश्वशक्ति पथको प्रत्यक्ष दर्शन गरायो । हाउस अफ युरोपियन हिस्ट्रीको भव्य ऐतिहासिक सङ्ग्रहालय होस् वा इतिहाससँगै युरोपको नवप्रवर्तन बोलिरहेको पार्लियामेन्ट्रियम दुवैले युरोपको रक्तरञ्जित इतिहासलाई कतै नलुकाई अभिव्यक्त गरेको छ । 

प्राचीन युरोपको खाका पुरानो बाइसे चौबिसे कालखण्डको नेपाल जस्तै राजा रजौटाको युद्ध अनि पारिवारिक राजनीतिक खिचातानीमै अल्झिएका दस्ताबेजहरूले बोल्थे । जहाँ राजाभन्दा रानीहरू अत्यधिक शक्तिशाली रहेको दस्ताबेजका हरफले बताउँथे । दुई महायुद्धअघि युरोप साँच्चैको युरोप बन्ने लयमा थियो भन्ने प्रमाण सङ्ग्रहालयमा देखिए । कोइला र बाफबाट चल्ने इन्जिनको उदय होस् वा घडी, विद्युतीय बत्ती, टेलिफोन, ग्रामोफोन, टाइपराइटर, फोटो खिच्ने क्यामरा, पुस्तक छपाइ मेसिन, आधुनिक हातहतियारलगायत अन्य मेसिनरी औजारको उदय नै किन नहोस् । लुमिरे दाजुभाइको त्यो ऐतिहासिक फोटो खिच्ने क्यामेरा र फोटो प्रोसेस गर्ने मेसिन पनि दर्शन गर्न पाइयो । बेलायतको साम्राज्य सपनाको अभियानलाई छाड्ने हो भने युरोप वास्तवमै स्वर्ण युगतर्फ लम्किँदै गरेको अनुमान गर्न गाह्रो पर्दैन । पुस्तकमा पढिएका धेरै अन्वेषणहरू प्रत्यक्ष देख्दा युरोपको त्यो समयको निकै लोभ लागेर आयो । ओ हो नेपाल त त्यो बेला खै कता र के गर्दै थियो होला भनेर बेला बेला र समय अनुमान पनि गरियो । राणा काल रहेछ नेपालमा । गोर्खा सैनिकलाई तत्कालीन ब्रिटिस साम्राज्यले युद्ध जित्नका लागि भर्ती सुरु गरिसकेको रहेछ । 

पाइला सङ्ग्रहालयको एक कुनाबाट अर्को कुनामा मोडिँदै जाँदा जब आधुनिक विश्वको बीजारोपणसँगै शासकीय शक्तिले मात्तिएका केही शासकको नाङ्गो युद्धको नाच देखियो । जसले युरोपको सुनालौ युगलाई कैयौँ दशक पछाडि घर्कायो । हिटलर, मुसोलिनी जस्ता शासकको उन्माद बढ्दै गयो । जसले पहिलो र दोस्रोे विश्वयुद्धसँगै रक्तरञ्जित युरोपको गाथा को¥यो । 

हाउस अफ युरोपियन हिस्ट्रीको ऐतिहासिक दस्ताबेजमा अटाएका युद्धकालका तस्बिरहरूले युरोपमा मानव संहारको दर्दनाक विगत बोल्छ । पार्लियामेन्ट्रियमकै एक कुनामा जर्मन शासक हिटलरले कैयौँ मानिसलाई एउटै चिहानमा गाड्दै गरेको तस्बिरले हेर्नेहरूको सातो जान्छ । त्यस्तो पनि मानिस वा शासक हुन्छन् र ? जसले मानिसलाई मानिस नै देख्दैन । देख्छ त केवल जातिवाद देख्छ, दासताको मानसिकतामा लिप्त मात्र देख्छ । कतै मानिस जिउँदै गाडिँदै छन् । कतै युद्धको बीभत्सताले हतासपूर्ण मानिसहरू यताउता दुगुर्दै देखिन्छन् । कतै ठुला ठुला हतियार बोकेका युद्धका ट्याङ्करले कुल्चँदै गरेका कुरूप तस्बिर, बम र बारुदको मुस्लोले कालो आकाशको युरोप देखियो । युद्धका कैयौँ तस्बिरमा कसले कसलाई मारिरहेको हो पत्तो दिँदैन । मान्छे भएर महसुस गर्दा मात्र थाहा हुन्छ । मान्छेले मान्छे नै मारिहेका छन् । काटिरहेका छन् । 

हिटलरको नाजीवादले दोस्रो विश्वयुद्धकालमा ६० लाखभन्दा बढी यहुदी र अन्य समुदायका मानिसको विनाश गरे । त्यसले विशाल जर्मनलाई विभक्त बनाएसँगै युरोपको समृद्धि पथलाई कैयौँ टुक्रामा टुक्राइदियो । दोस्रो विश्वको अन्त्यसँगै हिटलर युगको पतन भयो । हिटलरले आत्महत्याको बाटो रोजे । युरोपले भने शान्ति पथको यात्रा समात्यो । त्यसको प्रमाण युरोपकै तिनै सङ्ग्रहालयमा युद्धपछि एकबाट दुई भएको जर्मनीको बर्लिन पर्खाल भत्किँदै गरेको तस्बिर थियो । युद्धबाट शान्तितिर होमिँदै गर्दा कैयौँ मानिस नो वार, पिस (शान्ति), हुम्यानिटी फस्र्ट लेखिएको प्ले कार्ड र ब्यानर बोकेर आफन्त कुर्दै गरेका दृश्यहरूले जोकोहीको हृदयलाई भावुक बनाउँछ नै । युद्धको दृश्य हेरेको भन्दा पनि आफैँ युद्धको चपेटामा परेर फुत्किएको भान पटक पटक ती दृश्यले गराउँछ । ती दृश्य र आइप्याडमा एकनासले गुन्जिरहेको इतिहासका कथनसँगै घरी घरी युद्धको त्रासले ढक्क फुलेको मन श्वास फेर्न विर्सिए झैँ रोकिन्थ्यो । अर्को कुनोमा ठोक्किएपछि झसङ्ग हुँदै विगत हेर्दैछु भन्ने थाहा हुन्थ्यो र श्वास फेरि चल्थ्यो । सङ्ग्रहालयमा युरोपको इतिहासको सुनौला र काला युद्धका पहलरूलाई कलात्मक रूप दिइएको आल्मुनियमको पाताले समग्र इतिहासलाई तलदेखि पाँचौँ तलासम्म लमतन्न पारिएको छ ।

एकनासले गुन्जिरहेको इतिहासका कथनसँगै घरी घरी युद्धको त्रासले ढक्क फुलेको मन श्वास फेर्न बिर्सिए झैँ रोकिन्थ्यो । अर्को कुनामा ठोक्किएपछि झसङ्ग हुँदै विगत हेर्दै छु भन्ने थाहा हुन्थ्यो र श्वास फेरि चल्थ्यो । सङ्ग्रहालयमा युरोपको इतिहासको सुनौला र काला युद्धका पलहरूलाई कलात्मक रूप दिइएको आल्मुनियमको पातोले समग्र इतिहासलाई तलदेखि पाँचौँ तलासम्म लमतन्न पारिएको छ ।

पार्लियामेन्ट्रियमको सङ्ग्रहालयले डिजिटल युरोपको बढी प्रतिनिधित्व गर्छ । युद्धकालीन तस्बिर, भाषण, परिवर्तनकारी युगलाई नयाँ युग सुहाउँदो डिजिटाइजेसन भएको छ । तस्बिर, भिडियो अनि अडियोको जिउँदो जाग्दो घर जहाँ भिडियो र अडियो मात्र हैन तस्बिर पनि बोल्छन् । दोस्रो विश्वयुद्धकालीन राजनीतिक उतारचढावका दृश्य र भाष्य यही सुन्न र हेर्न पाउँदा आफूलाई भाग्यमानी सम्झिइयो । हिटलरले आफ्ना सैनिकको मनोबल बढाउन गरेको भाषण सुनेर त्यो बेलाका आलाकाँचा सैनिक नजानेप नि बन्दुक बोकेर दौडिएका देखिन्थे । युद्धलाई शान्तिमा बदल्न गरिएका प्रयत्नका चहलपहल दृश्यमै हेरियो ।

अत्याधुनिक प्रविधिको प्रयोगमा युरोप अब्बल देखियो । पाइलापिच्छे डिजिटाइजेसनको करामात हेर्न र अनुभूत गर्न पाउँदा नयाँ युरोपको झल्को देखिन्छ । सानो गोलो घेराभित्र पाइला राख्दा जहाँ टेकिएको हो त्यो भूमि, देश वा सहरको विगत र आगतको प्रत्यक्ष चित्र देख्ने अलौकिक अवसर मिल्छ । भित्ता होस् वा भित्ताका खोपाहरू, हरेकमा युरोपलाई नवीकरण गरेर प्रस्तुत गरिएको छ । 

युरोपेली सङ्घको मार्गचित्र

सङ्ग्रहालयले बोलेको तथ्य अनुसार सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा खसेको अणविक बमले गराएको विनाशसँगै ८ मे १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्य भयो । रक्तपातपूर्ण द्वन्द्वको अन्त्य गर्ने उद्देश्यका साथ युरोपेली राजनीतिज्ञहरूले युरोपेली सङ्घको सानो गोरेटो कोर्ने प्रक्रिया सुरु गरे । सन् १९५१ मा स्थापना भएको युरोपेली कोइला र स्टिल समुदाय युरोपेली सङ्घको पहिलो मार्गचित्र थियो । त्यो नै युरोपको दिगो शान्तिका लागि पहिलो कदम थियो । सन् १९५७ मा रोमको सन्धिले युरोपेली आर्थिक समुदाय (इइसी) को उदय भयो । जसले युरोपमा नयाँ युग स्थापना गर्न थप मार्ग बनायो । तथापि यस अवधिमा उत्पन्न शीत युद्धको उदयले युरोपेली महाद्वीपलाई थप ४० वर्ष पछाडि धकेल्यो । दोस्रो विश्वयुद्धले जर्जर युरोप महादेशमा लाखौँ मानिस मारिएका, घाइते भएका वा विस्थापित भएका थिए । 

मानव अधिकार संरक्षणको पहिलो कदम

हिंसा र युद्धले तहसनहस बनेको जर्मन, फ्रान्स, इटलीको पुनर्निर्माणसँगै मानवताको रक्षालाई युरोपले आफ्नो लक्ष्य बनायो । युद्धबाट सिकेको मानवमैत्री पाठ विश्वमा फैलाउन सन् १९४९ मे ५ तारिखमा युरोप काउन्सिलको स्थापना भयो । जसलाई दस वटा युरोपेली मुलुकले लोकतन्त्रको प्रवर्धन गर्न, मानव अधिकार र कानुनको शासनको रक्षा गर्ने निकायका रूपमा गठन गरियो । पुनर्जागरणको युगको रूपमा युरोपको इतिहासले यस दिनलाई सम्झने गरेको छ । 

मानव अधिकारसम्बन्धी युरोपेली महासन्धि ३ सेप्टेम्बर १९५३ देखि लागु ग¥यो । त्यसअघि सन् १९५० मे ९ तारिखमा युरोपमा नयाँ राजनीतिक सहयोगको यात्रा सुरु भइसकेको थियो । युद्धको पीडा मेटाउँदै सहयात्रीका रूपमा युरोपलाई अगाडि बढाउन फ्रान्सेली विदेशमन्त्री रोबर्ट सुमनले आपसी सहयोगका लागि योजना प्रस्तुत गरेका थिए । उनले पश्चिमी युरोपका कोइला र स्टिल उद्योगहरूलाई एकीकृत गर्ने प्रस्ताव राखे । यही एकताको दिन मे ९ लाई युरोपेली सङ्घले ‘युरोप डे’ को रूपमा मनाउने गरेको छ ।

रबर्ट सुमनको योजनाको आधारमा, ६ वटा मुलुकहरू जर्मनी, फ्रान्स, इटाली, नेदरल्यान्ड्स, बेल्जियम र लक्जमबर्गको साझा व्यवस्थापनमा आफ्नो कोइला र इस्पात उद्योगहरू सञ्चालन गर्न १८ अप्रिल १९५१ मा युरोपेली सन्धिमा हस्ताक्षर गरे । जसमा विगतमा जस्तै कुनै पनि देशले युद्धका हतियारलाई अरूका विरुद्ध प्रयोग गर्न नसक्ने सहमति गरे ।  त्यस्तै २५ मार्च सन् १९५७ मा रोम सन्धि भयो । कोइला र स्टिल सन्धिको सफलतामा टेक्दै ६ वटा संस्थापक देशहरूले अन्य आर्थिक क्षेत्रहरूमा आफ्नो सहयोग विस्तार गरे । तिनीहरूले युरोपेली आर्थिक समुदाय र युरोपेली आणविक ऊर्जा समुदाय सिर्जना गरी सन् १९५८ मा दुई सन्धिमा हस्ताक्षर गरेर यसलाई औपचारिकता दिए । 

युरोपेली संसद्को जन्म

फरक देश भए पनि युरोप एउटै हो र एउटै नियम कानुन मान्दछ भन्ने सन्देश दिन मास्ट्रिच सन्धिको आधारशिलाका रूपमा सन् १९५८ मार्च १९ मा युरोपेली संसद्को स्थापना भयो । युरोपेली संसदीय सभाको पहिलो बैठक फ्रान्सको स्ट्रासबर्गमा बस्यो । जसबाट रबर्ट सुमन सङ्घको अध्यक्ष निर्वाचित भएका थिए । युरोपेली सङ्घको राजधानी मानिने बेल्जियमको ब्रसेल्सको संसद् असाध्य नै भव्य छ । भवनले दिन रातको अन्तर मेटाउँछ । ज्वाजल्यमान आकाशमा अनगन्ति ताराको झुन्ड एकै ठाउँमा थुप्रिएको जस्तो उज्यालो भव्य संसद् । जहाँ सांसदहरू युरोपको वर्तमान र भविष्यको कानुनको रूपरेखा कोर्न अभ्यस्त देखिन्थे । 


आधुनिक युरोपेली सङ्घ

आधुनिक युरोपेली सङ्घमा २७ सदस्य मुलुक छन् । बेल्जियम सङ्घको राजधानी हो । ब्रसेल्समा अधिकांश मुख्य कार्यालय छन् । जसमध्ये सङ्घका सात वटा मुख्य निर्णयकारी निकाय छन् । समग्र कानुन निर्माणका लागि युरोपेली संसद्, काउन्सिल अफ युरोपियन युनियन र युरोपियन कमिसनले आपसी समन्वयमा काम गर्छ । समग्र नीति निर्माणको भूमिकामा द युरोपियन काउन्सिलले काम गर्छ । यो सङ्घको कार्यकारी निकाय हो । युरोपमा उत्पन्न विवादहरू समाधान गर्नका लागि द कोर्ट अफ जस्टिस अफ युरोपियन युनियन नियमनकारी निकायका रूपमा मानिन्छ । 

युरोपियन पार्लियामेन्ट प्रत्यक्ष निर्वाचित प्रणालीमा चल्छ । हरेक पाँच वर्षमा ७०५ सिटका लागि सदस्य मुलुकबिच निर्वाचन हुन्छ । अध्यक्षसहित १४ जना उपाध्यक्ष साढे दुई वर्षका लागि निर्वाचित हुन्छन् । संसद्मा प्रस्तावित विधेयकमाथि बहस हुन्छ र बहुमतमा त्यो पारित हुने वा नहुने गर्छ । संसद्ले पारित गरेको कानुन काउन्सिल अफ युरोपियन युनियनले पारित गरेपछि मात्र कानुनको मान्यता प्राप्त गर्छ । काउन्सिलले कानुनी, आर्थिक, राजनीतिक, अन्तर्राष्ट्रिय सम्झौतामा समझदारी गर्ने भूमिकासँगै सङ्घको वार्षिक बजेट संसदीय अनुमोदनसँगै स्वीकृत गर्ने काम गर्छ । युरोपियन कमिसनको कार्यकारीको भूमिका हुन्छ । कानुन कार्यान्वयनसँगै सङ्घको नीतिगत विषयको व्यवस्थापन गर्छ । जोसँग २७ सदस्य मुलुकको २७ जना आयुक्त रहन्छन् । कमिसनको अध्यक्ष र आयुक्तलाई युरोपेली संसद्ले अनुमोदन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । 

युरोपियन काउन्सिल

युरोपियन काउन्सिल अर्को एक छुट्टै निकाय हो । जहाँ सङ्घको सदस्य मुलुकका सरकार प्रमुखहरूले नेतृत्व गर्छ । वर्तमानमा काउन्सिलको अध्यक्ष चाल्र्स मिचेल हुनुहुन्छ । युरोपियन कमिसनको अध्यक्ष उर्सुला भन डेर लियन हुन् । काउन्सिलको बैठक प्रत्येक ६ महिनामा कम्तीमा दुई पटक बस्नै पर्छ । युरोपका लागि रणनीति र नीतिहरूका बारेमा निर्णय गर्छ । उच्च नेतृत्वको भ्रमणको तौरतरिकादेखि प्रत्यक्ष प्रसारण गर्ने आफ्नै नियम छ । भव्य काउन्सिलमा विश्वका उच्च नेतृत्वको भ्रमण हुँदा गरिने सत्कार र सम्मानलाई सदैव जागृत राखिन्छ । भ्रमण नभएका बेला पनि नेतृत्व हिँड्ने रातो कार्पेटमा टेकिँदैन । स्वागत गर्ने स्थलदेखि सार्वजनिक उपस्थितिमा तस्बिर खिचाउने स्थलसम्म रातो कार्पेट हरदम चम्किरहेको हुन्छ । भव्य काउन्सिल परिसरमा जान जोकोहीले पाउँदैनन् । मानव अधिकार पत्रकारिताको अवार्ड जितेको साखकै कारण एउटा नेपाली नागरिक र गोरखापत्र दैनिकको प्रतिनिधि भएर पुग्नु गर्वको विषय बन्यो । त्यही काउन्सिलमा सङ्घले मानव अधिकार संरक्षणमा योगदान पु¥याएबापत जितेको नोबल शान्ति पुरस्कारको मेडललाई नजिकबाट नियाल्ने अवसर मिल्यो । जसको दर्शन केवल शक्तिराष्ट्रका उच्च नेतृत्वले मात्र गर्न पाउँछन् । 

मानव अधिकारको जग

युरोपेली सङ्घ र यसका विविध निकायका जति पनि उच्चस्तरीय प्रतिनिधिसँग भेटवार्ता भए सबैले विश्वमा मानव अधिकारको संरक्षण र प्रवर्धनमा जोड दिए । द्विपक्षीय वा बहुपक्षीय सम्बन्धको मियो नै मानव अधिकार भएको बताए । नेपालको मानव अधिकारको अवस्था र यहाँको सङ्क्रमणकालीन न्यायको अवस्थाप्रति सबैले चासो देखाए । नेपालको दसवर्षे सशस्त्र द्वन्द्वको परिणामले सिर्जना भएर टुङ्गिन नसकेको सङ्क्रमणकालीन न्याय नामको डोरीको अन्तिम फेरो कहिले छिन्छ भन्ने उच्च चासो सङ्घको रहेको छ । विकास साझेदारी, आपसी सहयोग र सम्बन्धको दिगोपनको आधारका रूपमा मानव अधिकार रहेका अनेकौँ फेहरिस्त पढ्ने, सुन्ने र हेर्ने अवसर उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटवार्ताका क्रममा पाइयो । 

नेपाल फर्किएपछि किन युरोपले मानव अधिकारलाई मुख्य आधार मानेको ? भन्ने जिज्ञासा नेपालका लागि सङ्घका राजदूत भेरोनिक लरेन्जोलाई राख्यौँ । युरोपको विगत रक्तरञ्जित भए पनि भविष्य मानव अधिकारमैत्री होस् भन्ने युरोपको प्रस्ट दृष्टिकोण उहाँ औँल्याउनुभयो । मानव पुँजी विश्वकै अलौकिक पुँजी हो र यसको संरक्षणले मात्र युरोपको भविष्य समृद्ध हुन्छ भन्ने बुझाइ छ । विश्वमा युद्धभन्दा शान्ति होस् । कसैले थातथलो छाडेर बस्न नपरोस् भन्नेमा युरोप सचेत देखिन्छ । युरोपकै अर्को हिस्सा युद्धमा होमिरहेको जटिल अवस्थालाई मानव अधिकारको बर्खिलापका रूपमा लिँदै विरुद्धमा उभिएको छ । ती सबै विषयको लेखाजोखा युरोपको विदेश मन्त्रालय अर्थात् युरोपियन एक्सटर्नल एक्सन सर्भिसले हरेक दिन गर्छ । विश्वमा के भइरहेको छ । त्यसको सङ्घको पक्षधरता र भूमिकाको बारेमा विश्वभरबाट पत्रकारले दैनिक पत्रकार सम्मेलनमा जवाफ खोज्छन् । भ्रमणको समयमा इजरायलमा हमासले गरेको आक्रमणको जल्दोबल्दो विषयमा पत्रकार सम्मेलनमा भएका बहस प्रत्यक्ष हेरियो । हमासलाई हातहतियार खरिदमा सहयोग गरेको हो ? भन्ने कडा प्रश्नमा सङ्घका धेरै उच्चाधिकारीले प्रतिबाद गरे । 

नेपालको चुच्चे नक्सा देख्दा

आलिसान विदेश मन्त्रालयको गोलाकार भवनमा लगातार चार दिन पुग्दा युरोपको विदेश सम्बन्धको बलियो सम्पर्क सञ्जालको अवलोकन गर्ने अवसर जु¥यो । त्यही भवनमा नेपालको चुच्चे नक्सा देख्दा हर्षले मन विभोर भयो । दुई छिमेकीको खिचातानीमा परेको नेपालको चुच्चे नक्सालाई युरोपले अनुमोदन गरेको प्रस्ट देखियो । 

कतिपय उच्च प्रतिनिधिले नेपालमा युरोपप्रतिको धारणा जान्ने प्रयत्न गरे । कतिपयका विचारमा नेपालमा मानव अधिकारको अवस्था दयनीय रहेको भाव पाइयो । संवादका क्रममा पत्रकार नै भए पनि नेपालको शान्त र सुन्दर छविमा सङ्क्रमणकालीन न्याय मात्र सानो पाटो भएको प्रस्ट पार्ने अवसर मिल्यो । ज्वलन्त वैश्विक मुद्दाका रूपमा जलवायु परिवर्तन, नेपालको हिमाल र यहाँको मौसमी चक्रमा परेको विश्व विकासको कालो छायाँको बारेमा पनि छलफल भए । जलवायु वित्तमा युरोपको मात्र ९ प्रतिशतको हिस्सा रहे पनि त्यसमा पहुँचका लागि नेपाललाई सघाउने बाचा उच्च प्रतिनिधले प्रस्ट गरे । 

संसद्का एक जना पुराना विज्ञले मुख खोलेरै भने, म यहाँ काम गरेको २४ वर्ष भयो, अहिलेसम्म नेपालका धेरै नेतृत्व यहाँ भ्रमणमा आउनुभयो । तर उही शीर्ष नेताहरू मात्र किन दोहोरो भनेर केहीको नामै लिएपछि त्यस प्रश्नले मन चसक्क भयो । जवाफ दिने औकात एक पत्रकारमा हुने कुरा भएन । युरोप शक्ति र समृद्धिका लागि सङ्घर्षरत छ । तर अरू शक्ति राष्ट्र जस्तो शक्ति सङ्कलनमा मात्र केन्द्रित छैन । विगतको रक्तरञ्जित धर्ती बिर्सिंदै मानव अधिकारको दियो विश्वभर बाल्ने उत्कट आकाङ्क्षा बोकेर यात्रारत छ ।