• २० वैशाख २०८१, बिहिबार

माओवादी केन्द्र-नेसपा एकता प्रक्रिया : ‘नेकपा’ सहमति प्याकेजमा टुङ्ग्याइने

blog

काठमाडौं, मङ्सिर ६ गते । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच पार्टी एकताबारे विभिन्न चरणमा संवाद हुँदै आए पनि पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिह्नलगायतका विषयमा सहमति जुट्न सकेको छैन ।

नेसपाका संवाद समितिका संयोजक गङ्गानारायण श्रेष्ठले पछिल्लो समय मङ्सिर ३ गते आइतबार माओवादी केन्द्र र नेसपाबिचको पार्टी एकता वार्ता समितिको बैठक बसेपछि राम्रो वातावरण निर्माण भएको बताउनुभयो । यद्यपि, छोटो समयमा अथवा तत्काल दुई पार्टीबिच एकताको सम्भावना भने छैन ।

नेसपाको आज (बुधबार) बस्ने केन्द्रीय समितिको बैठकबाट यस विषयमा ठोस निर्णय लिने उहाँको भनाइ छ । श्रेष्ठले भन्नुभयो, “मङ्सिर ६ गते बुधबार बस्ने केन्द्रीय समितिको बैठकबाट अलि ठोस, मूर्त निर्णय गरेर पार्टी एकता गर्छौँ ।”

माओवादी केन्द्रसँग एकता गर्न नेसपाका अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा संयोजन समिति गठन भएको छ । मङ्गलबार नेसपा केन्द्रीय कार्यालय शान्तिनगरमा बसेको सचिवालय बैठकले माओवादीसँग एकता गर्न बाबुरामको नेतृत्वमा एकता संयोजन समिति गठन गरेको हो । 

गत आइतबार माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपा सहअध्यक्ष श्रेष्ठको नेतृत्वमा बसेको दुई पार्टी एकता गर्न संयोजन समिति बनाउने समझदारी गरेका थिए ।

त्यसोत, पार्टी एकताका लागि नेसपाले २०७९ चैत ३ गते नौ बुँदे प्रस्ताव माओवादी केन्द्रलाई पठाएको थियो । त्यो सम्बन्धमा माओवादी केन्द्रले थप छलफल गरेर जवाफ पठाउने भनाइ संयोजक श्रेष्ठको छ ।

उहाँले भन्नुभयो, “हामीले पहिले पनि नौबुँदे सहमतिका लागि प्रस्ताव दिएका छौँ । त्यो नौबुँदे प्रस्तावमाथि उहाँहरूले छलफल गर्नुहुन्छ । त्यसपछि हामीलाई जवाफ दिनुहुन्छ ।”

माओवादी केन्द्रका महासचिव एवम् वार्ता समितिका सदस्य देव गुरुङले सहमति भए मात्र पार्टी एकता अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहमति भयो भने अगाडि बढ्ने र सहमति भएन भने अगाडि बढ्दैन । नेकपा बनाएर अगाडि बढाउने सवालमा ‘नेकपा’ को नाममा प्रस्ताव गरेको छ ।”

पूर्व माओवादी नेता तथा हाल नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले मार्क्सवाद, लेनिनवाद, माओवाद त्यागेकाले आफूहरू भने यसैमा अघि बढ्ने भएकाले तत्काल पार्टी एकताको सम्भावना नरहेको उहाँले बताउनुभयो ।

तर यता नेसपा नेता श्रेष्ठले भने नेकपासहित सबै कुरा प्याकेजमा टुङ्गो लाग्ने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “नेकपाको कुरा एउटा प्याकेजमा छलफल भएर टुङ्गिन्छ । यो विषयमा उता माओवादी केन्द्रको पनि बैठक बस्ला । त्यसपछि टुङ्गोमा पुग्ने हो ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।