• २३ मंसिर २०८०, शनिबार

विमानस्थल सञ्चालनमा दबाब दिन हवाईजहाज स्वरूपमा स्वागतद्वार

blog

मेलामा निर्माण गरिएको विमानको आकृतिसहितको प्रवेशद्वार । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, मंसिर ५ गते । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन नारासहित भैरहवामा हुने छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव २०८० को तयारी पूरा भएको छ । 

उद्योग व्यापार सङ्गठन रुपन्देहीको आयोजनामा भैरहवाको अञ्चलपुरमा मङ्सिर ६ देखि १८ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको हो । मंगलबार पत्रकार सम्मेलन गरी सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवको ९५ प्रतिशत काम पूरा भएको बताउनुभयो । 

महोत्सवको आकर्षणको रूपमा मुख्यद्वारलाई हवाईजहाजको स्वरूपमा निर्माण गरिएको छ । उहाँले लुम्बिनीको आर्थिक विकासको आधार पर्यटन मान्दै सरकारबाट निर्माण भएको अरबौँ रुपियाँ लगानीमा विमानस्थल तयार भएर चल्न नसकेको, होटल व्यवसायहरू धराशायी भएका बेला सरकारलाई दबाब दिनेगरी विमानको आकृति र स्थलका रूपमा महोत्सवस्थल बनाएर विरोध देखाउन खोजिएको बताउनुभयो । 

श्रेष्ठले भारतबाट कालिगढ ल्याएर करिब पाँच लाख रुपियाँ खर्च गरेर विमानस्थलको स्वरूप निर्माण गरिएको बताउनुभयो । उहाँले पशुपतिनाथको मन्दिरका साथै बाल उद्यान निर्माणलगायत मनोरञ्जन दिने पर्याप्त स्थल दर्शकले पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि, उद्योगका नयाँ–नयाँ प्रविधिको प्रचार र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको छ ।” 

स्थानीय उत्पादनको प्रवर्धन गर्ने, सिमाक्षेत्रमा मेलाबाट स्वदेशी उत्पादनलाई प्रचारप्रसार गर्ने उद्देश्य समेत मेलाले लिएको छ । मेला उद्घाटनअघि बुधबार बिहान जनचेतनामूलक र्‍याली निकालिने छ । यसैगरी अनुगमन समिति गठन गरेर मेलामा राखिने स्टलको गुणस्तरप्रति सचेत गराइने छ । कार्यक्रममा सङ्गठनका सल्लाहकार तथा सांस्कृतिक संयोजक नारायण भण्डारीले मेला महोत्सवलाई ठेक्का दिने प्रवृत्ति रोक्न जरुरी रहेको बताउनुभयो ।

सरकारबाट नै महोत्सव व्यवस्थापनमा लाग्नुपर्ने भन्दै उहाँले देशभरका धेरै स्थलमा गरिने महोत्सवलाई व्यवस्थित गर्न लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेशकै पहिचान हुनेगरी महोत्सव गर्न लागेको भए पनि प्रदेश सरकारबाट कुनै सहयोग छैन ।” 

भण्डारीले उद्योग, कृषि र पर्यटन विकास गर्न स्थानीय स्तरबाट गरिएको सबैखाले कामलाई सरकारबाट कुनै सहयोग नहुनेगरेको बताउनुभयो । उहाँले विदेशमा राखिने यस्ता महोत्सवमा सहभागीलाई सरकारबाट नै भत्ताको व्यवस्था गरिने भए पनि नेपालमा भने कुनै सहयोग नआउने गरेको दुखेसो गर्नुभयो । 

महोत्सवमा ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था भएको र त्यसपछि भने टिकट लाग्ने व्यवस्था छ । महोत्सवमा राष्ट्रिय, स्थानीय साथै भारतीय चर्चित भोजपुरी कलाकार पुनम पाण्डे, नेपालका उमेश पटेललगायत कलाकारको प्रस्तुति रहनेछ ।

कार्यक्रममा सङ्गठनका महासचिव लक्ष्मी अधिकारीले तीन लाख दर्शकहरूले अवलोकन गर्ने महोत्सवमा २५ करोड रुपियाँको कारोबार हुने आयोजकको लक्ष्य छ । करिब एक करोड २० लाख खर्च हुने अनुमान रहेको महोत्सवमा ३५० स्टलहरू रहनेछन् । कार्यक्रमको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट हुनेछ ।