• ७ जेठ २०८१, सोमबार

फूल नबिकेपछि किसान चिन्तामा

blog

टीकापुरका किसान सीताराम चौधरीको नबिकेको फूलको थुप्रो । तस्विर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, कात्तिक २९ गते । यसवर्ष टीकापुरका फूल व्यवसायीहरु घाटामा गएका छन् । तिहारको अन्तिम दिन भाइटीकामा पनि फूल नबिकेपछि व्यवसाय घाटामा गएको भन्दै किसानहरु चिन्तामा परेका हुन् । 

फूल प्रतिकिलो ५०० का दरले बिक्थ्यो, टिपेको पाँच क्विन्टल फूल खेर गएको छ यत्तिकै मात्राको फूल टिप्न बाँकी छ, एक बिघा पाँच कठ्ठा जमिनमा फूलखेती गर्नुभएका टीकापुर नगरपालिका १ बनगाउँका किसान सीताराम चौधरीले गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘डेढ लाखको फूल मात्र बिक्यो होला, बाँकी सबै खेर गयो, कसलाई दोष दिऊँ ? आफ्नै भाग्यलाई दोष दिनुपर्छ अब विवाहको लगन नआउँदासम्म फूल बिक्दैन । अरुबेला १२० पर्ने माला ८० रुपियाँ लगाउँदा पनि बिकेन ।’

छ वर्षअघि सुरु भएको सीतारामको फूलखेतीले साना उद्योगको रुप लिइसकेको थियो । बाह्रै महिना फूल उत्पादन हुने भएकाले १५ जना जतिले आंशिक रोजगार पनि पाएका थिए । तर यस पटक उत्पादन गरेर पनि बजारीकरण गर्न नसकेकाले व्यवसाय डुबेको चौधरीको दुखेसो छ ।

यस्तै, जानकी गाउँपालिका १ का किसान छत्र मल्लले पनि फूल बिक्री नभएको भन्दै फूल नै सडकमा विसर्जन गर्नुभएको छ । ‘पचास किलो जति मात्रै बिकेको छ सात कठठामा रहेको साढे दुई क्विन्टल फूल टिपेकै छैन ।’ मल्लले भन्नुभयो,  ‘भारतबाट आउने फूल र प्लाष्टिकका माला रोकिदिन पालिकालाई अनुरोध गर्दा सुनुवाइ भएन, स्थानीय उत्पादनले बजार पाएन ।’ 

यस्तै प्राकृतिक स्रोत व्यवस्थापन कलेज छैठौं सेमेष्टारका विद्यार्थीले लगाएको फूलले पनि बजार पाएन । विद्यार्थी कुबेर जैसी विद्यार्थीले पाँच कठ्ठामा लगाएको  फूल नबिकेको र ३०० जति तयारी माला बिक्री नभएको बताउनुभयो । 

यसवर्ष तिहार ढिलो भएकाले व्यक्तिका बारीमा पनि फूल फूलेका छन् । बाहिरबाट फूल र प्लाष्टिकका माला पनि यहाँ भित्रिएका छन् । यसले उत्पादक मात्रै होइन विक्रेता पनि घाटामा गएका छन्  । 

के भयो समस्या ?

विक्रेता सुन्तली चौधरी यस वर्ष तिहार ढिलो भएकाले सबैका बारीमा फूल फूलेकाले आफूले राखेका माला नबिकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत वर्ष फूल माला सकिएर प्लाष्टिकको माला पनि बेच्थ्यौं, यस वर्ष पोहोरभन्दा आधा मूल्यमा पनि फूल माला बिकेका छैनन् ।’ 

टीकापुरको फूल नबिक्नुमा बजारीकरणको पनि समस्या देखिएको छ । ‘टीकापुरका उत्पादकले हामीलाई फूल नै दिदैनन् त्यसैले काठमाडौंबाट माला ल्याएर बेच्छु,’ वर्षौदेखि टीकापुरमा फूल र मालाको व्यवसाय गर्दै आउनुभएका विक्रेता सलिमले भन्नुभयो, ‘यसवर्ष काठमाडौंबाट थोकमा प्रतिगोटा ३० रुपियाँका दरले किनेर ल्याएको सुपारी फूलको माला टीकापुरमा २५ रुपियाँ गोटा पनि बिक्न सकेको छैन् ।’

सलिमका अनुसार टीकापुरका फूल उत्पादकले विक्रेतालाई फूल दिने ग्यारेन्टी गरेको भए बाहिरबाट फूल र प्लाष्टिकका माला नल्याउने स्थानीय फूलले बजार पाउने बताउनुभयो । फूल नबिक्नुका पछाडि विभिन्न कारण भएको स्थानीयको भनाइ छ ।

 ‘अर्थ व्यवस्था खराब भएका कारण नेपालीमा क्रयशक्ति कम छ, सजावटमा फूलको प्रयोग घटेको छ’ सुदूरपश्चिम विश्वविद्यालय अर्थशास्त्रका सहप्राध्यापक केशरबहादुर कुँवरले भन्नुभयो । स्थानीय सरकारले पनि ग्रीन टीकापुर क्लीन टीकापुरलाई मूर्तरुप दिन प्लाष्टिक प्रदूषणलाई निरुत्साहित गर्नुपर्ने उहाँको सुझाव छ ।