नवीनराज कुइँकेल
लमजुङ, वैशाख १५ गते । नगरपालिकाले विद्यालयमा भर्ना अभियान र पठनपाठन सुचारु गर्न परिपत्र गरेपछि लमजुङको मध्यनेपाल नगरपालिकामा विद्यालयहरू खुल्न थालेका छन् ।
नगरपालिकाले नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँमा जारी शिक्षक आन्दोलनका कारण बन्द विद्यालयहरू सोमबारदेखि सुचारु गर्न विद्यालयलाई परिपत्र गरेको थियो । नगरपालिकाको पत्र पाएपछि सोमबार तीन वटा ठुला माध्यामिक विद्यालयहरू सुचारु भएका छन् । मध्यनेपालको दुई पिल्लेस्थित भैरवकाली मावि, भोर्लेटारको ईशानेश्वर मावि र करापुटारको कुशुमाकर मावि सोमबारदेखि सञ्चालनमा आएका हुन् ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव रुद्रनारायण सापकोटाले पालिकाभित्र विद्यालयहरू सुचारु हुन थालेको बताउनुभयो । विद्यालयहरूसँगको सहमतिमा वैशाख १७ गतेबाट कक्षा आठको पुरक परीक्षा सञ्चालन गर्न परीक्षा तालिका समेत सार्वजनिक गरिएको सापकोटाले बताउनुभयो । “शिक्षकहरू आन्दोलनमै हुनुहुन्छ । विद्यालय लामो समय बन्द हुँदा अभिभावक र विद्यार्थीहरू आत्तिन थाले”, सापकोटाले भन्नुभयो, “उहाँहरूको आन्दोलनलाई पनि असर नहोस्, अभिभावक र विद्यार्थीलाई पनि मर्का नपरोस भनेर समन्वय गरिरहेका छौं ।”
कुशुमाकर माविका प्रधानाध्यापक ध्रुवराज घिमिरेले अभिभावक र विद्यार्थीको गुनासो र नगरपालिकाको परिपत्रपछि विद्यालय सुचारु गर्न बाध्य भएको बताउनुभयो । उहाँले सोमबारदेखि भर्ना कार्यक्रम गर्ने र विद्यार्थीलाई सान्त्वना दिने काम गरिएको बताउनुभयो । “आन्दोलन र विद्यालयलाई सँगसँगै लैजाने गरी व्यवस्था मिलाएका छौं”, घिमिरेले भन्नुभयो, “केही साथीहरू आन्दोलनमा हुनुहुन्छ, केहीले विद्यालय चलाउने सोचेका छौं ।”
नगरपालिकाले आइतबार वडा कार्यालय र सबै सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै सोमबारदेखि अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न आग्रह गरेको थियो । नगर प्रमुख रमेशकुमार पाण्डेले जारी गरेको परिपत्रमा नयाँ शैक्षिक सत्र २०८२ सुरु भएको दुई हप्ता भइसक्दा पनि विद्यार्थी भर्ना अभियान र पठनपाठन रोकिँदा अभिभावक, विद्यार्थी र सरोकारवालाहरूको गुनासो बढ्दै गएकोले नगरपालिकाको ध्यानाकर्षण भएको उल्लेख छ ।
स्थानीय सरकार शिक्षाका सवालमा जिम्मेवार रहेको जनाउँदै नगरपालिकाले पठनपाठनलाई नियमित गर्नुपर्नेमा जोड दिएको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको जायज मागहरू यथाशीघ्र पूरा गरी उनीहरूलाई कार्यस्थलमा फर्काउन आवश्यक कार्यहरू गर्नु हुनसमेत नेपाल सरकारलगायत सम्बद्ध सबै सरोकारवालाहरू समक्ष नगरपालिकाले अनुरोध गरेको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ ले शिक्षालाई सर्वव्यापी, जीवन उपयोगी, प्रतिस्पर्धी एवम् गुणस्तरयुक्त बनाउने लक्ष्य दिएकोमा सिङ्गो शैक्षिक प्रणालीमा पार्नसक्ने नकरात्मक असरलाई मध्यनजर गरी सोमबारदेखि विद्यालय सञ्चालन गर्न सरोकारवाला सबै पक्षलाई नगरपालिकाले आग्रह गरेको नगर प्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो ।
मध्यनेपाल नगरपालिकामा प्रारम्भिक बाल शिक्षा, आधारभूत तह र माध्यामिक तह गरी ४३ वटा विद्यालय रहेका छन् ।