• ३१ जेठ २०८२, शनिबार

बागलुङमा जिप दुर्घटना : दुईको मृत्यु, १३ घाइते

blog

ढोरपाटन नगरपालिका वडा –५ बतासेडाँडामा दुर्घटनाग्रस्त जिप । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, जेठ ३० गते । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा –५ बतासे डाँडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिपमा सवार १३ जना घाइते भएका छन् । 

बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१ – १७७५ नम्बरको जिप शुक्रबार दिउँसो बतासेडाँडामा दुर्घटना भएको थियो ।  

दुर्घटनामा ज्यान गुमाउनेहरुमा ढोरपाटन नगरपालिका वडा नं. २ बस्ने ७० वर्षिय नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षिय भीमकुमारी बुढा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो । कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गर्नुभएको हो । 

दुर्घटनामा परी १४ जना घाइते भएका छन् । गम्भीर घाइते हुनेहरुमा जिप चालक ढोरपाटन नगरपालिका वडा नं. २ का २७ वर्षिय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षिय लुम्बिनी महत र २३ वर्षिय इन्द्र कुँवर रहनुभएको छ । चालक थापाको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ भने महत र कुँवरको शरीरका विभिन्न भागमा चोट लागेको छ । 

यस्तै दुर्घटनाका अन्य घाइतेहरुमा ढोरपाटन २ कै वर्ष २९ की निरमाया खत्री, ३८ वर्षिय देवी परियार, ५३ वर्षिय दुर्गी दर्जी, १२ वर्षिय अन्जु परियार, ८ वर्षिय वियानो बुढा, ५ वर्षिय विनय बुढा, ७५ वर्षिय मनकुमारी थापा, २१ वर्षिय टीकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका वडा नं. ५ की ३५ वर्षिय डल्ली विक, ढोरपाटन १ का ११ वर्षिय शिशिर कार्की र ढोरपाटन ५ की ३० वर्षिय टनमाया कुँवर रहनुभएको छ । 

अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखराको मणिपाल र पाँच जनालाई मिसन अस्पताल पाल्पा रिफर गरिएको प्रनाउ पाण्डले जानकारी दिनुभयो । घाइते एक जनाको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ ।  

जिप सडकदेखि अन्दाजी ६० मिटर तल खेतमा खसेको थियो । जिप दुर्घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको नेतृत्वमा १५ जनाको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा घटनास्थलमा घाइतेहरुको उद्वार गरेको थियो ।