• १ असार २०८२, आइतबार

१७ जना वेभ डेभ्लपर दीक्षित

blog

आइटी एकेडेमीबाट दीक्षित भएका विद्यार्थी प्रमाणपत्र ग्रहणपछि अतिथिसँग सामूहिक । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, जेठ ३१ गते । ताप्लेजुङमा पहिलो पटक १७ जना वेभ डेभ्लपर दीक्षित भएका छन् । आइटी एकेडेमीले शुक्रबार दीक्षान्त समारोहको आयोजना गरी डेभ्लोपरलाई प्रमाणपत्र वितरण गरेको हो ।

दीक्षान्त समारोहमा तालिम अवधिमा विद्यार्थीले निर्माण गरेको चारवटा वेबसाइट सार्वजनिक गरिएको छ । जिल्लामा रहेको व्यवसायी तथा सङ्घ संस्थाको कम्पनीको प्रोजेक्ट लिएर सफलतापूर्वक निर्माण गरी वेबसाइट सार्वजनिक गरिएको आइटी एकेडेमीका हेड अफ एकेडेमी बसन्त लिम्बुले बनाउनुभयो । उहाँका अनुसार सन् २०२५ को जनवरीबाट सुरु गरिएको ६ महिने कोर्षबाट १७ जना विद्यार्थीलाई फुल स्ट्याक डेभ्लोपर बनाइएको छ । 

एकेडेमीले गैर सरकारी संस्था ह्युमन प्राक्टिस फाउन्डेसनको आर्थिक सहयोगमा शतप्रतिशत छुटमा तालिम प्रदान गरिएको हेड अफ एकेडेमीका लिम्बूको भनाइ छ ।

विद्यार्थीले ६ महिने कोर्षमार्फत ८५ वटा प्रोजेक्ट समेत सम्पन्न गरेका छन् । आइटी एकेडेमीमा हाल ग्राफिक्स डिजाइनका छ महिनाको कोर्ष र वेभ डेभ्लोप्मेन्टको दोस्रो ब्याचको पढाए पनि जारी रहेको छ।

एकेडेमीले हालसम्म १३५ जना ग्राफिक्स डिजाइननर, १९ जना डिजिटल मार्केटिङ र १७ जना वेभ डेभ्लोपर उत्पादन गरेको छ । उनीहरूले अहिले अनलाइनको माध्यमबाट विश्वको बिभिन्न क्षेत्रमा रहेका कम्पनीमा रोजगार प्राप्त गरेका छन् । अधिकांश युवाले जिल्लामै बिभिन्न किसिमका ग्राफिक्स डिजाइनसँग सम्बन्धित स्थानीय काम समेत गरिरहेका छन् । हेड अफ एकेडेमी लिम्बूका अनुसार हालसम्म उत्पादन भएका विद्यार्थीले करिब ६१ लाखभन्दा बढी आम्दानी गरेका छन्।

एकेडेमीले भावी दिनमा थप नयाँ कोर्षहरूको समेत पढाइ सुरु गर्ने योजना तयार पारेको छ । बद्लिँदो समयसँग सुहाउँदो कोर्षहरूलाई प्राथमिकतामा राखेर जिल्लाका नागरिकलाई सक्षम बनाउने गरी पहल जारी राखिएको बताइएको छ ।