खेमराज सापकोटा
रानी, जेठ ३१ गते । मोरङको विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्यापकटर (कुटी काट्ने मेसिन) वितरण गरेको छ । पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको महानगरका कृषि तथा पशुपक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिनुभयो ।
संयोजक यादवका अनुसार महानगरपालिकामा दर्ता भएका पशुपालक कृषक समूहलाई २२ थान च्यापकटर हस्तान्तरण गरिएको हो । विराटनगर ३, ४, ६, १२, १८, १९ लगायतका वडाका पशुपालक कृषक समूहले च्यापकटर प्राप्त गरेका छन् ।
कार्यक्रममा कार्यबाहक मेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपक्षी शाखा संयोजक हीरालाल यादव लगायतले कृषक समूहलाई च्यापकटर हस्तान्तरण गर्नुभयो ।