• १ असार २०८२, आइतबार

सङ्कटमा पर्दैछ सतिघाटु नाँच

blog

बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा सतिघाटु नाँच नाच्दै घाटु कन्याहरू । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, जेठ ३१ गते । पश्चिम बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानी सतिघाटु नाँचले परिचित छ । त्यहाँ करिब तीन सय वर्षदेखि सतिघाटु नाँच नाच्दैआएको विश्वास गरिन्छ । 

सतिघाटु पौराणिक धर्मग्रन्थहरूमा आधारित रहेर गाइने गीत र त्यसैमा प्रस्तुत गर्ने नृत्य र हाउभाउ हो । अर्को शब्दमा भन्दा एक शताब्दीअघि नेपालमा चल्दैआएको सति प्रथाको अभिनयसहितको सतिघाटु नाँच लोप हुने चरणमा पुगेको छ ।

यो नाँचको सुरुवात चैत्राष्टमीदेखि हुन्छ र दसरा तिथीमा समाप्त हुन्छ । यो तिथी असार महिनामा पर्ने र गाउँघरमा काम भ्याइनभ्याई हुँदा आजभोलि जेठ २० गते घाटु नाँचको विधिवत समापन गरिने गरेको स्थानीय अगुवाहरूको भनाइ छ । 

घाटु नाँचको सुरु र समापन गर्दा विधिवत रूपमा पूजा गर्नुपर्छ । चैत्राष्टमीमा सुरु भएको घाटु नाँच विशेषगरी वैशाख पूर्णिमामा धेरै नाँचिन्छ । चैतदेखि जेठसम्म घाटुनाँच नाँच्ने चलन रहेको गुरु कुलबहादुर भुजेलले बताउनुभयो ।  

‘‘चैते दशैंमा सुरु गरी जेठको २० गतेसम्म पर्ने चाडपर्व र तिथीहरूमा घाटु नाचिन्छ’’ भुजेलले भन्नुभयो । घाटु नाँचको संरक्षणमा स्थानीयले चासो देखाए पनि स्थानीय तहबाट सोचेअनुसार सहयोग नभएको भुजेलको गुनासो छ । 

निकै कष्टका साथ बँचाएर राखेको सतिघाटु संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेपछि घाटु गुरुहरू चिन्तित हुनुहुन्छ । अहिले पुस्ताले चासो नदेखाउँदा घाटु नाँच सङ्कटमा परेको ८३ वर्षिय घाटुगुरु पतिराम भुजेलले दुखेसो सुनाउनुभयो । उहाँले २५ वर्षदेखि घाटु नाँच देखाउँदै आउनुभएको छ । 

“गुरुहरु बाँचुञ्जेल त होला नि घाटु नाँच देखाउने, गाउने’’ घाटु गाउन हिंड्दा हिंड्दै गुरुआमा बन्नुभएकी ६९ वर्षिय पवित्रा थापाले भन्नुभयो, ‘‘अहिले विदेश र सहरबजार केन्द्रित हुने प्रचलन बढेको छ, नयाँ पुस्ताको घाटुप्रति ध्यान छैन, गुरुहरूको सेखपछि कस्ले घाटु नचाउला ?” 

कुलबहादुर र पतिरामले आफूपछिका पुस्तालाई सतिघाटु नाँच सिकाइ रहेपछि नयाँ पुस्ताले खासै चासो नदिँदा दुःख लागेको थापाले बताउनुभयो । मोबाइलमा भुलेको नयाँ पुस्तालाई घाटु नाँचको महत्त्व बुझाउन नसकिएको उहाँको भनाइ छ । 

अहिले घाटु नाँच देखाउने सबैभन्दा कान्छा गुरु हुनुहुन्छ ५० वर्षिय हेमलाल भुजेल । उहाँले घाटु नाँच नचाउन सिक्दै हुनुहुन्छ । भजन गायनमा रुची राख्ने हेमलाल दुई वर्षदेखि घाटु गुरुको परिचय बनाउन तल्लिन हुनुहुन्छ ।  

गुरु कुलबहादुरका अनुसार, सिसाखानीमा नाँच्दै आएको घाटु जलजलाको झुलेडाँडाबाट आएको हो । घाटु गीतका मुख्य पात्र राजा पर्शराम हुनुहुन्छ । उहाँले दैनिक जीवनमा गरेका र उहाँका रानीहरूको क्रियाकलापलाई पनि गीतमा उतारिन्छ । पर्शुरामको शिकार खेल्ने बानीको प्रस्तुति दिनभरी हुन्छ । जसलाई ऐरा खेल्ने पनि भनिन्छ । 

रानीहरूले बिहान उठेर पँधेरामा नुहाउन गएकोदेखि राजाको मृत्युपश्चात रानीहरू सति गएको कुरालाई पनि गीतबाट प्रस्तुत गरिने भएकाले यसलाई सतिघाटु भनिएको कथन छ । रानीहरू सति गएको गीत गाउँदा घाटु मुर्छित पर्छिन र पछि गीतबाटै उनलाई ब्यूँताइन्छ ।

सतिघाटुको संरक्षण गर्न गीत लेखन, पुस्तान्तरण तथा विधिबारे लिखित दस्तावेज निर्माण गर्न स्थानीय तहले तयारी थालेको छ । घाटुको संरक्षण, प्रवर्धन तथा प्रचारमा निरन्तर काम भइरहेको सिसाखानीका वडाध्यक्ष खड्कबहादुर पुन बताउनुहुन्छ । गुरुहरू वृद्ध हुँदै जाँदा घाटु नै लोप हुने खतरा बढेपछि लिखित दस्तावेजको तयारी थालिएको उहाँको भनाइ छ ।