• १ असार २०८२, आइतबार

ब्राउन सुगरसहित दुई जना पक्राउ

blog

लागु औषधसहित पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर : जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु, जेठ ३१ गते ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–१, बर्रोहियाबाट १८८.९५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । लागु औषध कारोबार भइरहेको गुप्त सूचनाको आधारमा संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन मणि अधिकारीका अनुसार पक्राउ परेकामा मायादेवी गाउँपालिका–३, खैराटी निवासी अन्दाजी २८ वर्षीय विनोदकुमार पाण्डे र मायादेवी–८, नन्दनगर निवासी ३५ वर्षीय श्यामसुन्दर यादव रहेका छन् ।

लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा तथा इलाका प्रहरी कार्यालय पकडीको संयुक्त टोलीले लु. ९५ प. ६०८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर कपिलवस्तु जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।