कन्हैयालाल केशरी
पर्सा, जेठ ३१ गते। वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको तीन सय नौ बिघा दस कट्ठा जग्गा जोगाउन वीरगन्ज महानगरपालिका लाई हम्मे परेको छ। लामो समयदेखि कानुनी प्रक्रिया पूरागरी विभिन्न व्यक्ति र सङ्घ संस्थाहरूको स्वामित्व तथा भोगचलनमा रहेको ऐलानी तीन सय नौ बिघा दस कट्ठा जग्गा (छ हजार एक सय नब्बे कट्ठा) वीरगन्ज महानगरपालिकाले आफ्नो स्वामित्वमा ल्याउन भने सफल भएको छ।
जग्गाको संरक्षण गर्न खाली तथा पर्ति जग्गामा पर्खाल वा तारबार नलगाउँदा सो जग्गा पुनः अतिक्रमणमा पर्ने चिन्ता महानगर पदाधिकारीलाई छ । हालका लागि पर्खाल लगाउन नसकिए तारबार लगाउन पनि महानगरपालिकाको बजेटले भ्याउने अवस्था नरहेकाले अतिक्रमित जग्गा जोगाउन गाह्रो भएको नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
नगर प्रमुख राजेशमान सिंहले अतिक्रमित मुक्त जग्गा जोगाइ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बजेट माँग गर्दा सुनुवाइ नभएपछि जग्गा जोगाउन तथा संरक्षण गर्ने काम कठिन हुँदैगएको गुनासो गर्नुभयो ।
अतिक्रमित तीन सय नौ बिघा जग्गामध्ये लगभग एक सय बिघा जग्गा सहरी क्षेत्रभित्र पर्छ । जसको चलनचल्तीको मूल्य एक धूरको दस लाख रुपियाँ सम्ममा बिक्री हुनेगरेको छ। वीरगन्ज महानगरपालिकाले अतिक्रमित मुक्त गराएको जग्गाको मूल्य सरदर कट्ठाको चार लाख रुपियाँले पनि तीन सय नौ बिघा जग्गाको मूल्य दुई अर्ब ४७ करोड ६० लाख पर्न आउँछ।
वीरगन्ज महानगरपालिकाले वीरगन्जलाई सौन्दर्यीकरण गर्ने क्रममा अतिक्रमित जग्गामा बालबालिकाको मनोरञ्जनका लागि पार्क व्यवस्थित तरकारी बजार तथा सर्वसाधारणका लागि विभिन्न प्रकारको सांस्कृतिक तथा धार्मिक र मनोरञ्जनात्मक स्थलको विकास निर्माणको कामलाई निरन्तरता दिएको छ ।