अविनाश चौधरी
धनगढी, वैशाख १५ गते । तराई–मधेश हुलाकी राजमार्ग जागरण अभियानका लागि नेकपा (माओवादी केन्द्र) का नेता कैलाली आउने क्रम सुरु भएको छ ।
माओवादीले मङ्गलबार कैलालीमा यो अभियान गर्दै छ । यसका लागि पूर्व उपराष्ट्रपति तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दकिशोर पुन (पासाङ) कैलाली आइपुग्नु भएको छ । सो पार्टीका नेता कार्यकर्ताले उहाँलाई धनगढी विमानस्थलमा स्वागत गरेका छन् ।
यसैगरी, पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अपराह्न तिर कैलाली आइपुग्नु हुने माओवादी नेता रमेशप्रसाद भट्टराईले जानकारी दिनुभयो । जागरण अभियानलाई सम्बोधन गर्नका लागि पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार साँझ बर्दिया भएर कैलाली पुग्ने जनाइएको छ । उहाँलाई सत्ती पुलमा माओवादी प्रदेश कमिटी र पार्टीका उपमहासचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
जागरण अभियानका लागि उपाध्यक्ष पम्फा भुषाल, महासचिव देव गुरुङ पनि कैलाली आउने जनाइएको छ । माओवादीको जागरण अभियानको क्रममा भोलि अध्यक्ष प्रचण्डले टीकापुर, कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा शहीद परिवारलाई भेटघाट र जागरण सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।