हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), पुस ६ गते । मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको यकिन तथ्याङ्क नभएको अवस्थामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)ले उपल्लो मुस्ताङको लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका विभिन्न स्थानमा ७५ वटा र तल्लो मुस्ताङको थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा २० वटा क्यामेरा जडान गरी सङ्ख्या र अवस्थाका बारेमा सर्वेक्षण सुरू गरिएको हो ।
हिमालको रानीको नामले चिनिने हिउँ चितुवा मुख्य बासस्थान अर्थात ‘कोर एरिया’ आसपासका क्षेत्र तथा कठ्याङ्ग्रिँदो चिसोसँगै बासस्थानबाट तल बस्ती आसपाससम्म झर्ने सम्भावनालाई दृष्टिगत गरी क्यामेरा जडान सुरू गरिएको एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो ।
एक्याप प्रमुख पौडेल भन्नुहुन्छ, ‘‘विगतमा हिउँ चितुवा भेटिएका स्थानहरूसँगै विछ्याइएका ग्रीडहरू क्यामेरा राखिएको छ । तल्लो मुस्ताङको तुलनामा उपल्लो मुस्ताङमा हिउँ चितुवाको सङ्ख्या धेरै भएकाले करिब पाँच महिना राखिने क्यामेराबाट हिउँ चितुवाको अवस्थाको अध्ययन गर्न सजिलो हुने एक्यापले जनाएको छ । एक्याप इलाका कार्यालय जोमसोमले यसअगाडी बारागुङ मुक्तिक्षेत्र गाउँपालिको उच्च हिमाली क्षेत्रमा हिउँ चितुवाको ट्राभल हिस्ट्रीको आधारमा १५ वटा क्यामेरा जडान गरेको थियो ।
हिउँ चितुवा वासस्थान क्षेत्रमा आहाराको अभावमा भौंतारिँदै बस्ती क्षेत्रमा रहेका पशुचौपायालाई क्षति पुर्याउँदा वर्षेनी पशुधनीलाई एक्यापमार्फत क्षतिपूर्ति दिने गरिन्छ । जाडोयाममा जडान गरिएको क्यामेराबाट गर्मी र जाडो मौसममा हिउँ चितुवाको अवस्थाको बुझ्न सजिलो हुने हिउँ चितुवाका जानकारहरू बताउँछन् । हिउँ चितुवालाई लक्षित गरी राखिएका क्यामेरामा आहारा तथा सिकारी प्रजातिका अन्य बन्जुजन्तुको समेत अध्ययन गर्न सकिन्छ ।
अत्यधिक हिउँका कारण आहाराको खोजीमा बस्ती, गोठमा आउने दिशा, स्थान, बासस्थान र गतिविधि अवलोकन गर्न क्यामेराले सघाउने एक्याप जोमसोमका प्रमुख राजेश गुप्तले बताउनुभयो । हिउँ चितुवाले नाउर,फ्याउ मुसा, हिमाली खरायो, पंक्षीमा डाँफेको सिकार गर्छ । पछिल्लो एक वर्षमा सर्वसाधारणले समेत बस्ती आसपासका क्षेत्रमा र क्यामेरामा देखिएको हिउँ चितुवा पोथीबाट अलग भएर भालेको आक्रमणबाट जोगिन वयस्क धेरै भएकाले उपल्लो मुस्ताङमा सङ्ख्या आसलाग्दो हुनसक्ने अनुमान छ । भाले चितुवाको बच्चा पनि आक्रामक नै हुन्छ ।
पोथी हिमचितुवा धेरै हिँडडुल नगर्ने, भाले भने लामो दूरीसम्म पुग्न सक्ने भएकाले पनि हिउँ चितुवा र पशुबिचको द्वन्द्व बढ्दै जान थालेको छ आहारा प्रजातिको संरक्षणसँगै हिउँ चितुवा–मानव द्वन्द्व न्यूनीकरणमा क्यामेराले सघाउँछ । लजालु स्वाभाव हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाइमा मुख्य वासस्थान मानिन्छ । जाडोयाममा हिउँ चितुवा समुद्री सतहको दुई हजार मिटरसम्म झर्ने गरेको छ ।