• ६ पुस २०८२, आइतबार

सुस्ताको अस्तित्व जोगाउन मन्त्री घिसिङसँग सुस्तावासीको माग

blog

ज्ञापनपत्र बुझाउँदै सुस्तावासीको प्रतिनिधिमण्डल टोली । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, पुस ६ गते ।
पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी गराइएको छ । सुस्तावासीको प्रतिनिधिमण्डलले मन्त्री घिसिङलाई भेटेर सुस्ताको अस्तित्व रक्षा र विकासका लागि तत्काल कदम चाल्न ध्यानाकर्षण गराएका हुन् ।

सुस्ताको अस्तित्व रक्षा र नदी नियन्त्रणको माग
ज्ञापनपत्र बुझाउने क्रममा सुस्तावासीले नारायणी नदीको कटानका कारण सुस्ता गाउँ नै नदीमा विलीन हुन सक्ने गम्भीर खतरा रहेको औँल्याएका छन् । ज्ञापनपत्र बुझाउँदै  स्थानीय  रवीन्द्र जयसवालले  “सुस्ता गाउँ नै नारायणी नदीमा विलीन हुने अवस्था आएको छ,’’  मन्त्रीलाई अवगत गराउनुभयो । यस समस्याको दीर्घकालीन समाधानका लागि प्रभावकारी नदी नियन्त्रण आयोजना सुरु गर्न मन्त्रीसमक्ष जोडदार माग गरिएको छ ।

विद्युतीकरण र झोलुङ्गे पुलको उपयोग
नेपालकै सबैभन्दा लामो १५७१ मिटरको झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै सुस्ता मुख्य भूमिसँग जोडिएको छ । सुस्तावासीले सोही पुलमार्फत राष्ट्रिय प्रसारण लाइन विस्तार  गरिए पनि सुस्तामा भरपर्दो विद्युत् सेवा पुर्‍याउन मन्त्री घिसिङसँग आग्रह गरेका छन् । हाल सुस्तामा १०० किलोवाटको सोलार मिनी ग्रिड, प्रशासकीय भवन र आश्रय भवन जस्ता पूर्वाधारहरू निर्माण भए पनि राष्ट्रिय प्रसारण लाइनको निरन्तरता खड्किएको उनीहरूको भनाइ छ ।