• १५ वैशाख २०८२, सोमबार

जुम्लामा औद्योगिक महोत्सव सञ्चालन

blog

जुम्लामा सुरु भएको औद्योगिक महोत्सव । तस्बिर : नौरते नेपाली

नौरते नेपाली

सिँजा (जुम्ला), वैशाख १५ गते । निजी क्षेत्रको अगुवाईमा जुम्लामा १० दिने औद्योगिक महोत्सव सुरु भएको छ । सदरमुकाम खलङ्गामा प्रादेशिक कृषि पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको हो । 

उद्योग वाणिज्य सङ्घ जुम्लाको आयोजनामा १० दिने महोत्सव सुरु भएको छ । महोत्सवमा स्थानीय सामग्रीको मात्र प्रदर्शन, प्रवर्धन र बजारीकरण हुने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले गर्नुभयो । महोत्सवले कर्णालीको कृषि पर्यटनलाई टेवा पुग्नुका साथै सांस्कृतिक तथा औद्योगिक हिसाबले पनि राम्रो सन्देश फैलाउने उहाँको भनाइ छ । स्थानीय उत्पादनको प्रचार–प्रसार, पर्यटन प्रवर्धन र सांस्कृतिक संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निभाउने शाहीले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा धेरैभन्दा धेरै अवलोकनकर्ताहरू सहभागी गराउने तयारी भइरहेको छ ।

महोत्सवमा कर्णालीका कलाकारको मात्र सहभागिता हुने छ । जसले स्थानीय संस्कृतिको समेत उजागार हुने उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुरिचन्द्र देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा देउडा गायक नवराज भण्डारी, विपना सिंह, सम्झना अधिकारीको प्रस्तुति रहने छ । यो सँगै जुम्ला घर भई काठमाडौँ कर्मथलो बनाएका कलाकारहरूको समेत उपस्थिति रहने बताइएको छ । 

जिल्लाभित्र रहेका प्रतिभाहरूको समेत प्रतिनिधित्व हुने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष देवकोटाले बताउनुभयोण् । ’यो महोत्सवमा स्थानीय स्वाद चखाउने जमर्को गरिएको छ’ उहाँले भन्नुभयो,  ‘जसले गर्दा रैथाने संस्कृति र संस्कारको परिचय दिने छ । महोत्सवमा २२ वटा स्टल राखिएको छ । पहिलो दिन पाँच वटा स्टलमात्र सञ्चालनमा आएका छन् । आयोजकका अनुसार २२ वटै स्टल बुकिङ भइसकेका छन् । अध्यक्ष देवकोटाका अनुसार सबै रैथाने बालीहरूको परिकार राखिने बताउनुभयो । स्थानीय उद्योग, रैथानेबाली, सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको छ । 

पहिले सीमाचौर र नेपाली सेनाको टुँडिखेल मैदानमा महोत्सव आयोजना गरिए पनि यो पटक कभर्ड हलको मैदानमा महोत्सव गरिएको हो । सिमाचौरमा रङ्गशाला बन्दै गरेको र सेनाले मैदान नदिएकाले बाध्य भएर कभर्डहलको मैदानमा महोत्सव सुरु भएको अध्यक्ष देवकोटाले बताउनुभयो । जुम्ला जिल्लालगायत समग्र कर्णाली प्रदेशको आर्थिक उन्नतिका लागि यस क्षेत्रमा रहेका लगानीका सम्भावना तथा अवसरको पहिचान गरी स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको देवकोटाको भनाइ छ ।