गोकुल भुजेल
भोजपुर, वैशाख १५ गते । विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा एपिएफले सलहेश युवा क्लब सिरहालाई १–० गोलले हरायो । एपिएफको जितमा प्रदिप लामाले गोल गर्नुभयो । उहाँले दोस्रो हाफमा फ्रिकिकमार्फत गोल गर्नुभएको थियो । एपिएफका विकास टिटुङ म्यान अफ दी म्याच हुनुभयो ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपियाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाईसमेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।